चैतअघि यसरी तङ्घ्रिँदै थियो अर्थतन्त्र « Arthapath.com
३ जेष्ठ २०७८, सोमबार

चैतअघि यसरी तङ्घ्रिँदै थियो अर्थतन्त्र



काठमाडौं । कोरोना भाइरस महामारीको दोस्रो लहरले नेपाललाई प्रभावित पार्नुअघि मुलुकको अर्थतन्त्रमा शीघ्र सुधारका संकेत देखिएका थिए । नेपाल राष्ट्र बैंकको पछिल्लो प्रतिवेदनले चैतअघि औद्योगिक गतिविधीमा पनि भारी बृद्धि भएको देखाएको छ ।

बाह्य ब्यापारको तथ्यांकले औद्योगिक एवम् व्यापारिक गतिविधी पोहोरभन्दा तीव्र दरमा बढेको देखाएको हो । गत वर्ष चैत ११ बाट बन्दाबन्दी सुरु भए पनि चैतभरी नै आयात ब्यापार भने रोकिएको थिएन । यस आधारमा पोहोरभन्दा यस वर्ष आर्थिक गतिविधी तीव्र भएको मान्न सकिने राष्ट्र बैंकका अधिकारी बताउँछन् ।

यो आर्थिक वर्षको ९ महिने अवधिमा भटमासको कच्चा तेलको आयात ह्वात्तै बढेको छ । पाम तेल नेपालसँग नकिन्ने भारतीय निर्णयपछि नेपाली तेल उद्योगहरुले भटमासको कच्चा तेल ल्याएर त्यसको प्रशोधन बढाएका छन् । यसले नेपाली निर्यातको सूचीमा पनि भटमासको तेल शीर्ष स्थानमा उक्लिएको छ ।

यद्यपि, धेरैजसो भटमासको तेल देशभित्रै खपत भएको तथ्यांकमा देखिन्छ । त्यसपछि चामलको आयात पनि धेरै बढेको छ । पोहोर साल वर्षभरीमा ३३ अर्ब ३५ करोड रुपैयाँको चामल आयात भएको थियो । यो वर्ष भने ९ महिनामै त्योभन्दा बढी ३८ अर्ब ९५ करोडको चामल आयात भएको छ ।

गत वर्ष अन्तशुल्क विबादका कारण नेपाली मदीरा उद्योगले उत्पादन बढाउन सकेका थिएनन् । यस वर्ष भने नेपालमा वियर उत्पादन बढेसँगै यसको कच्चा पदार्थ चामलको आयात चुलिएको हो । नेपालमा वर्षेनी वियरको माग दोहोरो अंकमा बढिरहेको व्यवसायीले बताएका छन् ।

थान कपडाको आयत पनि यो वर्ष निकै बढेको छ । थान कपडासँगै धागोको आयातमा पनि उल्लेख्य बृद्धि भएको छ । यो तथ्यांकले गार्मेण्ट उद्योग एवम् टेलरिङ व्यवसाय फस्टाएको सन्देश मिलेको छ । दूरसञ्चार उपकरण पनि झण्डै ५० प्रतिशतको बृद्धि भएको छ । इण्टरनेट सेवा प्रदायकमात्र होइन, टेलिकम कम्पनीहरुले पनि पुर्वाधारमा लगानी बढाएका छन् । देशभर इन्टरनेट सञ्जालको विस्तार हुन थालेका दूरसञ्चार क्षेत्र पनि निकै उकासिन थालेको देखिन्छ ।

फलामका तार, डण्डी, पत्ता र एमएस बिलेटको आयात पनि चुलिएको छ । यसले फलामे डण्डी र फलामका निर्माण सामाग्री उत्पादन गर्ने उद्योगको ब्यापार बढेको देखिन्छ । सँगसँगै यस्ता सामाग्रीको आयात चुलिनुको अर्थ निर्माण उद्योग पनि फस्टाएको संकेत हो । यसले औद्योगिक र निर्माण क्षेत्रमा बढी रोजगारी सृजना गरेको देखाउँछ ।

त्यसो त, पछिल्लो समय काठमाडौं लगायतका शहरी क्षेत्रमा कंक्रिटको साटो फलामे पिलर र फलामे पाताकै भूईँ बनाएर तयार पारिने ट्रस घरको निर्माण बढ्न थालेको छ । यसले सिमेण्ट, बालुवा, गिट्टी ब्यापार भने घटाउँछ । निर्माण मजदुरको रोजगारी पनि कम हुन्छ । यस्ता घरको निर्माण बढ्न थालेकाले पनि फलामको आयात बढेको हुनसक्छ ।

कच्चापदार्थमात्र होइन, उद्योग चलाउने इन्धनका रुपमा प्रयोग हुने कोइलाको आयात पनि उच्च दरमा बढेको छ । कोरोना महामारीका कारण भएको बन्दाबन्दी गत असोजपछि खुल्नेवित्तीकै ठूला उद्योगहरुले उत्पादन अघि बढाएको राष्ट्र बैंककै अर्को एक अध्ययनले देखाएको थियो । पछिल्लो तथ्यांकले औद्योगिक गतिविधी महामारीको पहिलो लहर सकिएसँगै तीव्र दरमा बढेको पुस्टि गर्न सघाउँछ ।

उत्पादन क्षेत्रमा मात्र होइन, ढुवानीमा प्रयोग हुने सवारी साधनको आयातमा पनि उच्च बृद्धि भएको तथ्यांक राष्ट्र बैंकले प्रकाशित गरेको छ । यो तथ्यांकमा भने व्यक्तिगत सवारीका लागि प्रयोग हुने गाडीसमेत समावेश गरेकाले औद्योगिक र व्यवसायिक गतिविधि बढाउनमै सहयोग गरेको ठोकुवा गर्न त मिल्दैन । तर औद्योगिक र व्यवसायिक ढुवानी साधनको तथ्यांकसमते एकै ठाउँमा राखिएकाले यस्ता व्यवसायिक सवारीसाधनको आयात बढेको देखिन्छ ।

अर्कातर्फ नेपालभित्र सवारी साधन बेच्ने व्यापारीहरुले पनि अर्थतन्त्र चलायमान बनाउन ठूलो सहयोग गरेका छन् । यो तथ्यांकले अटोमोबाइल्स व्यवसायलाई भने उल्लेख्य लाभ दिएको देखाएको छ ।

Tags :

प्रतिक्रिया दिनुहोस्