सरकारले जनतासँग २ अर्ब ऋण लिँदै, ९ प्रतिशत ब्याज दिने « Arthapath.com
१० जेष्ठ २०७८, सोमबार

सरकारले जनतासँग २ अर्ब ऋण लिँदै, ९ प्रतिशत ब्याज दिने



काठमाडौं । सरकारले नेपाली नागरिकसँग २ अर्ब रुपैयाँ ऋण लिन लागेको छ । नेपाल राष्ट्र बैंकले ५ वर्षपछि सावाँ फिर्ता गर्नेगरी ऋण लिन लागेको हो । यसका लागि केन्द्रिय बैंकले नागरिक बचतपत्र जारी गर्दै छ । सरकारले जनतासँग प्रत्यक्ष ऋण लिनु पर्दा नागरिक बचतपत्रमार्फत् लिने गर्छ ।

राष्ट्र बैंकले ११ जेठ (भोलि)देखि १ असारसम्म सर्वसाधारण नागरिकलाई बचतपत्र निष्काशन गर्ने भएको छ । यसका लागि जो कोही नेपाली नागरिकले कम्तिमा १० हजार रुपैयाँ लगानी गर्न सक्ने छन् । त्योभन्दा बढी लगानी गर्नेले पनि १० हजारले भाग जाने अंक (जस्तै, २० हजार, ३० हजार, ४० हजार, ५० हजार)मा लगानी गर्नुपर्ने छ । एक जनाले बढीमा २ अर्ब रुपैयाँसम्म ऋण दिने निवेदन राष्ट्र बैंकलाई बुझाउन सक्छ ।

आगामी असार ६ गते निष्काशन हुने यस्तो ऋणको सावाँ सरकारले २०८३ असार ६ गते फिर्ता गर्ने छ । यस अवधिमा लगानीकर्ताले वार्षिक ९ प्रतिशतको दरले ब्याज पाउने छन् । तर त्यस्तो ब्याज आम्दानीमा कर भने तिर्नुपर्छ । जुन, अरु बैंक तथा वित्तीय संस्थामा पैसा राखेर ब्याज आम्दानी गर्दा पनि तिर्नु परिरहेको हुन्छ । यस्तो ब्याज हरेक ६-६ महिनामा पाइने छ ।

बचतपत्रमा लगानी गर्दा पछि आफूलाई आवस्यक परेमा कुनै पनि बैंकमा बचतपत्रको प्रमाण धितो राखेर ऋण लिन पनि पाइन्छ ।

त्यस्तै, विकास ऋणपत्रमार्फत् पनि सरकारले थप १५ अर्ब रुपैयाँ ऋण उठाउने भएको छ । सरकारले विकास निर्माणमा खर्च गर्ने पैसा जुटाउन यस्तो ऋणपत्र जारी गरेर जनतासँग ऋण लिन्छ । यो ऋणपत्रमा भने नेपाली नागरिकबाहेक यहाँका बैंक तथा वित्तीय संस्था, कर्मचारी सञ्चय कोषलगायत बैंक बाहेकका वित्तीय संस्थाहरु, बीमा कम्पनीहरु, निजी क्षेत्रका लगानी कम्पनीहरु सबैले सरकारलाई ऋण दिन सक्ने छन् ।

यस्तो ऋणपत्रमा भने ब्याजदर बोलकबोलबाट तय हुन्छ । यसका लागि कम्तिमा ५० हजार रुपैयाँ वा ५० हजारले निःशेष भाग जाने अंकमा ऋण दिने प्रस्ताव गर्नुपर्ने छ । यस्तो ऋणपत्रमा लगानी गर्नेले चाहीँ भोलि दिउँसो ३ बजेभित्र अनलाइन निवेदन दिइसक्नु पर्ने छ । १३ जेठमा नै यसको विक्री हुने र २०८३ जेठ १३ मा सावाँ फिर्ता पाइने छ ।

Tags :

प्रतिक्रिया दिनुहोस्