कोभीडको दोस्रो लहरले अर्थतन्त्र अन्योलमा: गभर्नर अधिकारी « Arthapath.com
११ जेष्ठ २०७८, मंगलवार

कोभीडको दोस्रो लहरले अर्थतन्त्र अन्योलमा: गभर्नर अधिकारी



काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोभिड-१९ को दोस्रो लहरको अनिश्चितता बढेका कारण अर्थतन्त्र थप चुनौतीपूर्ण हुँदै गएको बताएका छन् । १० जेठमा आयोजित ‘एसियन क्लियरिङ युनियन’को ४९ औं वैठकलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन् ।

‘कोभिडको अघिल्लो लहरबाट प्रभावित व्यापार, पर्यटन, यातायात, उत्पादन र निर्माण क्षेत्र विस्तारै पुनरुत्थानतर्फ उन्मुख हुँदै थियो । महामारीको दोस्रो लहरका कारण मुलुकको समष्टिगत अर्थव्यवस्था फेरि अनिश्चितातर्फ धकेलिएको छ’, गभर्नर अधिकारीले भने । तथापि कोभिड प्रभावित अर्थतन्त्रको पुनरुत्थानको निम्ति थप प्रभावकारी नीतिगत व्यवस्था अवलम्बन गर्ने उनले बताए ।

कोभिड संक्रमण यताको अवधिमा तरलताको सहजीकरण, व्याजदर कटौती, अतिरिक्त चालु पुँजी कर्जाको सुविधा, कर्जाको पुनर्संरचना/पुनर्तालिकीकरण, कर्जाको सावाँ/ब्याज भुक्तानीको समयसीमा बढाउने जस्ता नीतिगत सहुलियत उपलब्ध गराइएको उनले दोहोर्याए । यसबीचमा पुनरकर्जा कोषको पाँच गुणासम्म बढाएको, पर्यटनसँगै घरेलु, साना र मझौला व्यवसायमा जनशक्तिको तलब/ज्याला भुक्तानीको निम्ति नेपाल सरकारको सहयोगमा छुट्टै ५० अर्ब रुपैयाँको कोष बनाइएको जानकारी पनि गराए ।

रिजर्व बैंक अफ इण्डिया (आरबीआई)ले उक्त भर्चुअल बैठक आयोजना गरेको हो । बैठकमा एसिया तथा प्यासिफिक क्षेत्रका लागि राष्ट्रसंघीय आर्थिक तथा सामाजिक आयोगका उप-महासचिव आर्मिदा सल्सिया अलिस्जबानाले कोभिड महामारीबाट प्रभावित अर्थतन्त्रलाई गतिशील तुल्याउनका निम्ति युनियनमा आबद्ध केन्द्रीय बैंकहरूबीच नीतिगत सहकार्य र समन्वय हुनुपर्ने सुझाव दिए ।

४९ औं सञ्चालक समितिको बैठकसँगै आजैदेखि एसियन क्लियरिब युनियनको अध्यक्षता रिजर्व बैंक अफ इण्डिया (आरबीआई) ले ग्रहण गरेको छ । अर्को बैठक आयोजना नभएसम्मका निम्ति आरबीआईले युनियनको अध्यक्षता गर्नेछ । युनियनको ५० औं सञ्चालक समितिको बैठक सन् २०२२ जनवरीमा गर्ने निणर्य भएको छ ।

एसियन क्लियरिङ युनियनमा बङ्गलादेश, भुटान, भारत, इरान, माल्दिभ्स, म्यानमार, नेपाल, पाकिस्तान र श्रीलङ्का गरी नौ मुलुकका केन्द्रीय बैंकहरू आबद्ध छन् । अन्तरदेशीय भुक्तानी कारोबारलाई व्यवस्थित र सहजीकरण गर्ने उद्देश्यका साथ सन् १९७४ डिसेम्बरमा युनियनको स्थापना भएको थियो । युनियनको सचिवालय इरानको तेहरानमा छ ।

Tags :

प्रतिक्रिया दिनुहोस्