हामीले ठूला कुरा गरेर हुँदैन, भर्चुअलमार्फत अनलाइन कक्षा सञ्चालन सम्भव नै छैन: अध्यक्ष पाण्डे « Arthapath.com
२७ जेष्ठ २०७८, बिहीबार

हामीले ठूला कुरा गरेर हुँदैन, भर्चुअलमार्फत अनलाइन कक्षा सञ्चालन सम्भव नै छैन: अध्यक्ष पाण्डे



प्रदेशबाट आएका योजना सञ्चालनमा उपसभामुख राधिका तामाङसँग सल्लाह गर्ने गरेको छु ।

नारायणप्रसाद पाण्डे, अध्यक्ष, तादी गाउँपालिका

तादी गाउँपालिका नुवाकोटतादी गाउँपालिका नुवाकोट जिल्लाको पूर्वी क्षेत्रमा रहेको छ । साबिकको खरानीटार, रालुका, नर्जा, उर्लेनी र सुन्दरादेवी गाविस मिलाएर २०७३ मा तादी गाउँपालिका बनेको हो । गत ०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा यस गाउँपालिकाको अध्यक्ष पदमा नेपाली काङ्ग्रेसका तर्फबाट नारायणप्रसाद पाण्डे निर्वाचित भएका छन् । कानुन विषयमा स्नातक अध्ययन गरेका पाण्डेले अमेरिकामा समेत केही वर्ष अध्ययन गरेका थिए । चार वर्षअघि सम्पन्न निर्वाचनमा विजयी पाण्डेले तीन हजार ९० मत प्राप्त गरी विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेकपा एमालेको केपी लामिछानेले दुई हजार सात सय ३७ र नेकपा (माओवादी केन्द्र) का मानसिंह तामाङले दुई हजार तीन सय ६५ मत प्राप्त गरेका थिए । नेपाली काङ्ग्रेसको तादी गाउँपालिकाका संयोजकसमेत रहेका पाण्डे नेपाल गाउँपालिका राष्ट्रिय महासङ्घका केन्द्रीय सदस्य रहेका छन् । गाउँपालिकाको विकास निर्माणका कामसँगै कोभिड– १९ को रोकथाम कार्यलाई प्राथमिकतामा राखेको बताउने अध्यक्ष पाण्डेसँग विकास निर्माणलगायत अन्य विविध विषयमा आधारित रहेर गरीएको कुराकानीको सारांश :

कोरोना रोकथाम र नियन्त्रणका लागि के–कस्ता प्रयास भइरहेका छन् ?

कोरोना महामारी रोकथाम र नियन्त्रणका लागि तादी गाउँपालिकाले स्वास्थ्य शाखा र वडा कार्यालयलाई परिचालन गरेको छ । आइसोलेसनमा बसेका सबैलाई परामर्श दिनका लागि स्वास्थ्य शाखाबाट स्वास्थ्यकर्मी र जनप्रतिनिधिसहितको टोली घरदैलो भेटघाट, परामर्श र आवश्यक परेमा सुविधासम्पन्न अस्पतालमा रिफर पनि गर्ने गरेको छ । अक्सिजनसहितको आइसोलेसन केन्द्र सञ्चालन गरेर चिकित्सक खटाइएको छ । कोभिड नियन्त्रणका लागि पालिकालाई सबैतिरबाट सहयोग प्राप्त भइरहेको छ ।

तादी गाउँपालिकामा कोरोना भाइरस सङ्क्रमणको अवस्था कस्तो छ ?

कोरोनाको सङ्क्रमण अहिले नियन्त्रणकै अवस्थामा छ । तर, सोचेकोजस्तो पिसिआर टेस्ट र एन्टिजेन टेस्ट गर्न सकिएको छैन । हामीसँग सीमित स्रोत–साधन छ । हामी स्वास्थ्य सामग्रीसहित पूरै समुदायसम्म जान सकेको छैन । सीमित साधन–स्रोतका बाबजुत पनि स्वास्थ्य शाखाका कर्मचारीले एन्टिजेन किट प्रयोग गरेर वडाको टोलटोलमा सङ्क्रमित खोजिरहेका छन् । तर, बाहिर हल्ला भएकोजस्तो भयावह अवस्था छैन । नुवाकोटमा कोरोना सङ्क्रमित काठमाडौंमा निषेधाज्ञा जारीपछि अत्यधिक बढ्यो । सङ्क्रमितलाई पालिकाको आइसोलेसन, खरानीटार अस्पतालमा र होम आइसोलेसनमा राखेर उपचार गराइरहेको छ । सङ्क्रमितको खोजीलाई तीव्र पार्दै लगेपछि सङ्क्रमणदर नियन्त्रणमा राख्न सफल हुँदै गइरहेका छौँ । अहिले सङ्क्रमणदर घट्दो अवस्थामा छ । कोरोनाको भ्याक्सिन पनि केहीले लगाइसकेका छन् ।

समुदायमा रहेका कोरोना सङ्क्रमितलाई कसरी सहयोग गरिएको छ ?

समुदायमा रहेका सङ्क्रमितलाई अक्सिमिटर, थर्मोमिटर, झुल बाँडेका छौँ । स्वास्थ्य शाखाले दैनिक सङ्क्रमितको स्वास्थ्य विवरण लिएको छ । आवश्यक औषधि स्वास्थ्यकर्मीले वितरण गरिरहेका छन् । यो कोरोना गाउँको टोलसम्म पुगेको छ । विवाह, छेवर, व्रतबन्धमा सयौँको सङ्ख्यामा उपस्थिति जनाउने गाउँदेखि काठमाडौंसम्म जन्ती, भोजमा सहभागी हुँदा सङ्क्रमण फैलिएको हो । गाउँघरमा पनि छेवरको नाममा एकचोटि धेरै मान्छे सहभागी हुँदा सङ्क्रमण बढेर समुदायसम्म फैलियो । हामीले वडा कार्यालय र खरानीटार इलाका प्रहरी कार्यालयसँग समन्वय गरेर नियन्त्रण गर्न जारी निषेधाज्ञालाई कडा रूपमै कार्यान्वयन गरिरहेका छौँ । मलाई अहिले पनि कतिले टेलिफोनमा घेवा गर्नुप¥यो भनिरहेका छन् ।

उनीहरूलाई अहिले पाइँदैन, कुनै हालतमा पनि घेवा गरेमा कारबाही हुन्छ भन्ने गरेको छु । कोरोना सङ्क्रमण नियन्त्रणका लागि स्थानीय सरकार, जिल्ला प्रशासन कार्यालयले पहिलेको भन्दा धेरै नै तयारी गरेकाले बाहिर हल्ला भएकोजस्तो कोरोना सङ्क्रमित छैनन् । बिस्तारै कोरोना सङ्क्रमितको सङ्ख्या घट्दै गएको छ । मृत्यु हुनेको सङ्ख्यामा पनि कमी आएको छ

निषेधाज्ञाको अवधिमा दैनिक खानाको समस्यामा परेकालाई तत्काल राहत वितरण योजना छ कि ?

हाम्रो पालिका कृषिमा धेरै उत्पादनशील भएको गाउँपालिका हो । यहाँका प्रायः अधिकांश कृषक भएकाले खाद्यान्नको अभाव देखिएको छैन । खानाकै समस्या भएका व्यक्ति छन् भने वडालाई बुझेर सिफारिस गर्न निर्देशन गरेका छौँ । वडाको सिफारिसको आधारमा राहत वितरणको तयारी पनि गरेका छौँ । बजारमा पनि खाद्यान्न मौज्दात छ र अन्य तरकारी जुन हाम्रोमा उत्पादन नै हुन्छ । अझ यहाँबाट निर्यात नै भइरहेको छ । रोग र भोगबाट पालिकावासीलाई बचाउन अन्य विकास योजनाको बजेट कटौती गर्न पनि हामी तयार छौँ ।

निषेधाज्ञाले सबै शैक्षिक संस्था बन्द छन् । यसको वैकल्पिक व्यवस्था गर्नेतर्फ केही योजना बनाउनुभएको छ ?

सहरी क्षेत्रमा जस्तो अनलाइन कक्षा सञ्चालन गर्न सक्ने पूर्वाधार र अभिभावक तथा विद्यार्थीको आर्थिक अवस्थाले गर्दा हाम्रो पालिकामा सम्भव छैन । हामीले इन्टरनेटबाट गर्ने भनेको भर्चुअलमार्फत अनलाइन कक्षा सञ्चालन यहाँ सम्भव नै छैन । यहाँ न विद्युत्को राम्रो सुविधा छ न यहाँ इन्टरनेट नै सहज छ । हामीले ठूला कुरा गरेर हुँदैन । यो कुनै सम्भावना छैन । यो अवस्थामा आगामी शैक्षिक सत्र कसरी अगाडि बढाउने भन्ने विषयमा नेपाल सरकारको निर्देशन पर्खेका छौँ । विद्यालयसम्म इन्टरनेट पु¥याउने विषयमा स्थानीय तहसँग समन्वय गरेर नेपाल सरकार, विद्युत् प्राधिकरणसँग मिलेर जानुपर्छ । यसलाई समय लाग्छ । असारदेखि शैक्षिक संस्था खोल्न सरोकारवाला निकायसँग छलफल गरिरहेका छौँ ।
.
पालिकाभित्रको व्यवसायी क्षेत्रको अवस्था र आर्थिक गतिविधि कस्तो छ ?

विगत एक वर्षदेखि पालिकाभित्र कृषि कर्म र खाद्यान्न व्यवसायबाहेक अन्य व्यवसाय ठप्प छ । यस्तो महामारीमा आर्थिक गतिविधि त शून्य नै हुने भो नि । हामीले जिल्लासँग समन्वय गरेर गाउँमा विकास निर्माणका काम स्वास्थ्य मापदण्ड पालना गरी अघि बढाइरहेका छौँ । सानो–सानो रूपमा भुक्तानी पनि दिइरहेको अवस्था छ । धेरै भिडभाड नगरीकन विकास निर्माणको कार्य भइरहेको अवस्था छ । यसले देशकै आर्थिक क्षेत्रमा दशौँ वर्षपछि धकेलिने अवस्था मैले देखेको छु । यो अवस्थामा विकास निर्माणका काम अनुगमन गर्न सकेका छैनौँ, अनुगमन गरेर मात्र भुक्तानी दिनुपर्ने हुन्छ । यो अवस्थामा कहीँ–कतै जान सक्ने अवस्था छैन । स्थानीय तहले सजग भएर साना कामलाई बिस्तारै मापदण्ड र स्टिमेटअनुसार भए–नभएको निरीक्षण गरेर भुक्तानी दिनुपर्छ । स्थानीय उपभोक्ता समितिले गरेका कामको अनुगमन गरी हाल भुक्तानीको प्रक्रिया अगाडि बढाउन सकिरहेको छैन । यो अवस्थामा प्राविधिकबाट चेकजाँच गराएर सञ्चालित विकास निर्माणको भुक्तानी प्रक्रिया अगाडि बढाउन अनुगमन र मूल्याङ्कन गर्ने काम अगाडि बढाएका छौँ । पालिकाभित्र ठेक्का सम्झौता भइसकेको विकास र सडक निर्माणलाई स्थानीय मजदुरलाई मात्र लगाएर अगाडि बढाउन मैले सहजीकरण गरिरहेको छ ।

अहिले पालिकामा स्वास्थ्य संस्था र स्वास्थ्यकर्मी पर्याप्त छन् ?

तादी गाउँपालिकाको खरानीटारमा अस्पतालसमेत रहेको छ । अस्पतालका लागि आवश्यक स्वास्थ्य जनशक्ति नपुग रहेको छ भने अन्य स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी पर्याप्त छैनन् । आवश्यकताअनुसार पालिकाले प्रदेश र सङ्घीय सरकारसँग माग गरेर अहिले जेनतेन दरबन्दी पुगेको छ । अहिले २० वटा आइसोलेसन वार्ड, २० थान सिलिन्डर तयारी अवस्थामा राखिएको छ । रूडेक नेपालद्वारा ६ थान आधुनिक बेड र डा. प्रकाशशरण महतमार्फत ६ वटा बेड प्राप्त भएको छ । त्यसलाई पनि आइसोलेसन वार्ड विस्तारमा प्रयोग गरेका छौँ । गाउँपालिकाको स्रोतबाट आवश्यक भएमा आइसोलेसन वार्ड थप्न बेड, स्वास्थ्यकर्मी तयारी गरेका छौँ । स्वास्थ्य संस्थाको क्षमताले योभन्दा बढी सङ्क्रमित थपिँदा पालिकामा उपचार गर्न सक्ने अवस्था छ । कोरोनाले हामीलाई स्वास्थ्य जनशक्ति पूर्वाधार निर्माण थप गर्न औषधि स्टक राख्न सचेत गराएको छ । अहिलेको तयारी र अनुभवले भविष्यमा आउन सक्ने स्वास्थ्य महामारीलगायत अन्य विपत्तिलाई डटेर सामना गर्न सक्छौँ । हामीले पूर्वतयारी भनेर त्यसका लागि बजेट छुट्याएका छौँ । सकेसम्म यो दोस्रो भेरियन्टबाटै यो रोग नियन्त्रणमा आओस् भन्ने म भगवान्सँग प्रार्थना गर्छु । तेस्रो भेरियन्ट आएको खण्डमा आफ्नो सम्पूर्ण स्रोत–साधन परिचालन गरी सङ्घीय सरकारका निर्णयलाई पूर्ण कार्यान्वयन गर्नेछौँ । महामारी फैलिएमा स्वास्थ्यका पूर्वाधार र जनशक्ति थप गर्ने गरी बजेट विनियोजनसमेत गरेका छौँ ।

चार वर्षमा तादी पालिकावासीले अनुभूति गर्ने खालको के काम गर्नुभयो ?

स्थानीय निकायका जनप्रतिनिधिका लागि यो लगभग अन्तिम वर्ष हो । म यहाँलाई गर्वका साथ भन्न चाहन्छु– तादी गाउँपालिका सबैभन्दा ठूलो काम प्रशासकीय भवन निर्माण गरी सर्ने तयारीमा छ भने ६ वटा वडा कार्यालय भवन निर्माण भइसकेको छ । म निर्वाचित हुँदा पालिकाको दुईवटा मात्र भवन थियो, अहिले थप चारवटा वडा भवन र प्रशासकीय भवन निर्माण भइसकेको छ । स्वास्थ्यचौकीको पनि पुनर्निर्माण भएको छ । वडा कार्यालय भवन र स्वास्थ्यचौकी भवनलाई आवश्यक पर्ने फर्निसिङदेखि र अन्य सामग्री पूरा गरेका छौँ । मैले गरेको पूर्वाधार विकास निर्माण र अन्य कार्यबाट पालिकावासी सन्तुष्ट रहेको मैले पाएको छ । बजेट छर्नेभन्दा पनि स्थानीय आवश्यकता र मागमा आधारित योजनालाई छनोट गरेकाले सबै खुसी छन् । अन्य स्थानीय तहमा जस्तो हाम्रो पालिकामा डोजरआतङ्क छैन । पछिल्लो वर्षको बाहेक त्यसपछिको कुनै पनि बजेट तपाईंले हेर्न सक्नुहुनेछ, हामीले नयाँ सडक र बाटो खन्नेमा बजेट राखेनौँ । विगतकै सडक, सिँचाइ र बाटोलाई स्तरोन्नति गर्ने गरी बजेट छुट्याएका छौँ । अहिले प्रायः सबै वडा भवनसम्म हिउँद–बर्खा नै सडक सञ्चालन हुन सक्ने अवस्था छ । यसले गर्दा सेवा लिन पुग्ने जनतालाई सुविधा पुगेको छ । चार वर्षको अवधिमा मैले जनप्रतिनिधि, राजनीतिक दल र स्थानीयवासीको सहयोग र सल्लाह पाएकाले कुनै असजिलो महसुस गर्नुपरेको छैन ।

यो कार्यकालको अन्तिम बजेट ल्याउने तयारी कस्तो छ ?

हामीले कनिका छरेजसरी बजेट छर्दैनौँ । स्थानीयको मागको आधारमा वडाबाट सिफारिस भएका योजनालाई छनोट गर्छौँ । यसपटक पनि त्यही प्रक्रिया अपनाइरहेका छौँ । स्वास्थ्य, शिक्षा, कृषि, पूर्वाधार क्षेत्रमा बजेट छुट्याउँछौँ । कोरोनाको कारण आगामी बजेटको फोकस कोरोना रोग, नियन्त्रणमै केन्द्रित हुनेछ । त्यसपछि कृषि र शिक्षा क्षेत्रलाई व्यवस्थित र समयानुकूल बनाउन बजेट छुट्याउँछु । कृषिमा युवाको आकर्षण बढाउन, स्थानीय कच्चा पदार्थ तथा सीपमा आधारित व्यवसाय स्थापना गर्न अभिप्रेरित र प्रोत्साहन गर्छौँ । आगामी बजेटको बारेमा फोन तथा भेटघाट गरेर गत निर्वाचनमा मेरा प्रतिस्पर्धी नेकपा एमालेका केपी लामिछाने, नेकपा माओवादी केन्द्रका मानसिंह तामाङ, राजनीतिक दल र अन्य सरोकार राख्नेसँग परामर्श लिइरहेको छु । केन्द्रको बजेट आइसक्यो, प्रदेशको पनि आउँदै छ । त्यसैको आधारमा असार १० गतेभित्र बजेट ल्याउन विषयगत समितिको बैठक सुरु भइरहेको छ ।

तपाईंको राजनीतिक पृष्ठभूमि र केन्द्र तथा सङ्घीय सांसदको फरक हुँदा समन्वय गर्न अप्ठ्यारो परेको छैन ?

मलाई सङ्घीय र प्रदेश सांसदबाट काम गर्दा आजसम्म कुनै अप्ठ्यारो महसुस गर्नुपरेको छैन । स्थानीयस्तरमा पनि राजनीतिक दलबाट कुनै अवरोध र असहयोग भोग्नुपरेको छैन । विकास निर्माण र जनताको सेवा गर्न सङ्घीय सांसद हितबहादुर तामाङले केन्द्रमा पहल गरेर उहाँले सकेको बजेट पठाइरहनुभएको छ । त्यसको अलावा पनि फोन गरेर काम गर्न समस्या परेको छ कि भनेर सोध्ने गर्नुहुन्छ । प्रदेश सांसद एवम् बागमती प्रदेश सभाकी उपसभामुख राधिका तामाङले पनि सकारात्मक सल्लाह र सुझाब दिइरहनुभएको छ । प्रदेशबाट आएका योजना सञ्चालनमा उहाँसँग सल्लाह गर्ने गरेको छु । काम गर्दा उहाँहरूले राजनीतिक कित्ता छुट्याउनुहुन्न, त्यसले गर्दा राजनीतिक आधारमा असमझदारी भएको छैन ।

धेरैजसो स्थानीय तहका प्रमुख विलासी भए भन्ने गुनासो आइरहेको छ । तपाईंमा यो लागू हुन्छ ?

अरूको हकमा मैले टिप्पणी गर्न उचित हुँदैन, तर म यसको विपक्षमा छु । सरकारी सम्पत्तिको दुरुपयोग गर्नुहुँदैन भन्ने मेरो मान्यता छ । एउटा जनप्रतिनिधि निर्वाचित हुनुभन्दा अघिको जस्तो जीवनशैली थियो । त्यसमा अस्वाभाविक परिवर्तन आउनुहुँदैन । सरकारी काम–कारबाहीमा आवश्यकताअनुसार स्रोत–साधन प्रयोग गर्नुहुन्छ, तर व्यक्तिगत प्रयोजनमा सरकारी स्रोत–साधनको दुरुपयोग गर्नु भनेको भ्रष्टाचार गर्नु जत्तिकै हो । यो मान्यता कायम गर्न अडिग छु ।

Tags :

प्रतिक्रिया दिनुहोस्