ढिकी, जाँतो, चुली पर्यटकीय सम्भावना « Arthapath.com
५ असार २०७८, शनिबार

ढिकी, जाँतो, चुली पर्यटकीय सम्भावना



नुवाकोट । नेपालका धेरै जिल्लामा स्थानीय सरकार पर्यटन प्रवद्र्धनका लागि प्रचार–प्रसार, पूर्वाधार निर्माणका कार्यमा जुटिरहेको छ । आफ्नो पालिकाभित्र रहेको पर्यटनसँग सम्बन्धित ऐतिहासिक, धार्मिक, पुरातात्विक एवम् प्राकृतिक स्थलको खोजीनिती र प्रचार–प्रसारमा लाखौँ बजेट आइराइरहेका छन् । नुवाकोटमा पनि ऐतिहासिक, धार्मिक, पुरातात्विक एवम् प्राकृतिक रूपमा असङ्ख्य सम्भावना बोकेको क्षेत्र रहेको भए पनि त्यसको खोजीनिती, प्रचार–प्रसार, संरक्षण र त्यहाँसम्म पुग्ने बाटो, सडक र अन्य पूर्वाधारका लागि स्थानीय तहले खासै महत्व दिएको देखिँदैन ।

नुवाकोट जिल्लाको सदरमुकाम विदुरबाट १५ किलोमिटरको दूरीमा रहेको ढिकी, जाँतो र चुलीको बारेमा स्थानीय पालिकाले चासो नदिँदा पर्यटकीय सम्भावनाको क्षेत्र हुँदाहुँदै पनि ओझेलमा परेको छ । विदुर नगरपालिका र तारकेश्वर गाउँपालिकाको सिमानामा रहेको ढिकी, जाँतो र चुली पर्यटकीय सम्भावना रहेको स्थान हुँदाहुँदै पनि स्थानीय निकायको प्राथमिकतामा पर्न नसक्दा ओझेलमा परेको छ । विदुर नगरपालिकाको वडा नं. ८, १२, १३ र तारकेश्वर गाउँपालिकाको वडा नं. ६ को शिरमा रहेको ढिकी, जाँतो र चुली पर्यटकीय आकर्षण केन्द्र बन्न सक्ने सम्भावना रहेको क्षेत्र हो । यस क्षेत्रमा पुग्ने सडकमार्ग, पैदलमार्गका लागि सिँढी र न्यूनतम पर्यटकीय पूर्वाधार निर्माण गर्न स्थानीयले गाउँपालिका र नगरपालिकालाई घचघच्याइरहेका छन् ।

विदुर नगरपालिकाको बट्टार हावाघरबाट चारघरे–भट्टगाउँ हुँदै जामुनेबाट ढिकी, जाँतो, चुली र बट्टार हावाघरबाट मूलाबारी–भदुवार–फिर्केप हुँदै ढिकी, जाँतो र चुली पुग्न सकिन्छ । त्यसैगरी, विदुरबाट गौरीबेंसी–चारघरे–भट्टगाउँ–जामुने हुँदै र त्रिशूलीबजारबाट कोलनी–बगुवामाझीगाउँ–कठेरी–जामुने हुँदै चुली पुग्न सकिन्छ । यी चार स्थानबाट सडकमार्ग हुँदै भट्टगाउँसम्म गाडी, मोटरसाइकल, बस, ट्रकमा सहजै पुग्न सकिन्छ । भट्टगाउँबाट चुली पुग्न पाँच किलोमिटर उकालो लागेपछि पुग्न सक्ने स्थानीय सामाजिक अभियन्ता रामप्रसाद भट्टले जानकारी दिए । विदुरबाट चुली पुग्ने दूरी १५ किलोमिटर रहेकोसमेत उनले बताए । चैनपुरबाट पन्थगाउँ–भदुवार–फिर्केप हुँदै चुली पुग्न पनि सकिन्छ । झन्डै दुई हजार मिटरको उचाइमा रहेको ढिकी, जाँतो र चुलीको प्रचार–प्रसार र संरक्षणमा एक दशक अघिदेखि स्थानीय व्यवसायी एवम् सामाजिक अभियन्ता बद्रीप्रसाद भट्ट सक्रिय रहेका छन् । यो क्षेत्रको प्रचार–प्रसारमा विगत १२ वर्षदेखि नुवाकोट उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष एवम् सञ्चार उद्यमी शरण उत्सुक सापकोटाले सहयोग गरिरहेकोसमेत सामाजिक अभियान्ता भट्टले बताए ।

१२ वर्षअगाडि शरण उत्सुकले यो क्षेत्रको भ्रमण गरेपछि प्रचार–प्रसार र जिल्लावासीको चासो बढेको स्थानीय समाजसेवी तथा नेपाली काङ्ग्रेस विदुर नगरपालिका वडा नं. १२ इकाइ सभापति झंक भट्टले बताए । विदुरबाट सवारीसाधन लिएर आउँदा एक घन्टामा भट्टगाउँ र डेढ घन्टामा चुली पुग्न सकिन्छ । विदुर नगरपालिकाभित्र रहेको उच्च स्थानमध्ये यो चुलीबाट धादिङ, गोरखा, भक्तपुरको नगरकोट, रसुवा, काठमाडौंको रानीवनको डाँडा, चन्द्रागिरी, मकवानपुरको दामन, सिमभञ्ज्याङ, चितवन, तनहुँको बन्दीपुरलगायत १८ वटाभन्दा बढी जिल्ला मौसम सफा भएको समयमा देखिने भएकाले युवा–युवतीको रोजाइमा पर्ने गरेको छ । विदुरबाट छोटो दूरीमा रहेको ढिकी, जाँतो, चुलीको प्रचार–प्रसारमा नुवाकोट उद्योग वाणिज्य सङ्घले विगतमा गरेको महोत्सवले प्रचार–प्रसार भएका अध्यक्ष ताराबहादुर कार्कीले बताए । हामी यो क्षेत्रमा पर्यटक बढाउन पहल गर्न विदुर नगरपालिका र तारकेश्वर गाउँपालिकालाई त्यहाँसम्म पुग्ने सडकमार्ग र सिँढी निर्माणमा घचघच्याउने उनले बताए । दुई–तीन वर्षदेखि चुली जाने इच्छा गत हप्ता पूरा भएको बताउँदै यस क्षेत्रमा कालिका, भूमेदेवीको मन्दिरसमेत रहेकाले धार्मिक पर्यटन अभिवृद्धिसँगै प्राकृतिक अध्ययन, अवलोकनको रसास्वादन गर्न तथा पदयात्रा गर्न रमाउनेका लागि गन्तव्य बन्न सक्ने सम्भावना रहेकोसमेत उनले बताए ।

अहिले विदुर नगरपालिका– १२ ले गत वर्ष जामुनेबाट चुलीको फेदीसम्म सडक खन्न सुरु गरे पनि ठाँडे चुलीसम्म पु¥याएर अलपत्र छाडेको छ । उक्त सडकको निरीक्षण र ढिकी, जाँतो, चुली हेर्न विदुर नगरपालिका मेयर सञ्जु पण्डित, १ नम्बर वडाध्यक्ष लेलिन रञ्जित, १२ नम्बर वडाका अध्यक्ष सीताराम अर्यालसहितको टोली लिएर गत साता पुगेका थिए । उनले स्थानीयसँग भेटघाट गरेर सडक निर्माणलाई निरन्तरता दिँदै ढिकी, जाँतो, चुलीको फेदीसम्म पु¥याउने र फेदीबाट चुलीसम्म सिँढी निर्माण र चुलीमा अन्य पर्यटक आकर्षण गर्ने पूर्वाधार के–के बनाउन सकिन्छ विस्तृत प्राविधिक अध्ययन गराएर काम अगाडि बढाउने बताए ।

चुलीका लागि स्थानीय पालिकाले कामै नगरेको भने होइन । तारकेश्वर गाउँपालिकाले गत वर्ष गुरुयोजना बनाएर काम थालेको छ । यस वर्षदेखि पालिकाले बजेट विनियोजन गरेर फिर्केपको भूमेस्थान हुँदै भिरकुनासम्म सिँढी निर्माण गरिसकेको छ । पाँच सय मिटरभन्दा बढी सिँढी निर्माण यो वर्ष भइसकेको गाउँपालिका अध्यक्ष रमेश वस्तीले जानकारी दिए । प्रत्येक वर्ष बजेट छुट्याएर चुलीसम्म सिँढी बनाउने गुरुयोजनामा रहेको छ । विदुर, बट्टारको हावाघर र बगुवा, माझीगाउँ हुँदै चुलीसम्म पुग्न छोटो र सहज सडक निर्माण भइरहेको वि.न.पा. १२ नम्बरका वडाध्यक्ष सीताराम अर्यालले त्रिशूली प्रवाह साप्ताहिकलाई बताए । चुलीको फेदीसम्म सडक पु¥याउने कार्य सुरु भइसकेको र त्यहाँ खानेपानी र बिजुली पु¥याउने योजना वडाले बनाएको उनले बताए ।

ढिकी, जाँतोसँगै वरपर रहेका सिङ्गला डाँडो, ठाँडेचुली, थाकले डाँडाबाट सूर्योदय र सूर्यास्तको दृश्य हेर्न सकिने भएकाले तारकेश्वर र विदुर नगरपालिकाले संयुक्त रूपमा ढिकी, जाँतो, चुलीको प्रवद्र्धन गर्नुपर्ने धारणा स्थानीयको रहेको छ । आजभोलि चुली हेर्न जानेहरूको सङ्ख्या बढिरहेको छ । ड्राई पिकनिक अर्थात् घरबाटै खानेकुरा लिएर जानेहरू दैनिक एक–दुई ग्रुप हुने गरेको छ । मौसमानुसार चुलीको वरपर गुराँसको फूल, काफल, ऐंसेलु र टिम्मुरलगायत आयुर्वेदिक औषधिजन्य जडीबुटी प्रशस्त पाइन्छ । यो क्षेत्रको विकास गर्न सके ढिकी, जाँतो, चुली, बट्टार, त्रिशूली, कोलनीलगायतको नयाँ पिकनिक स्थल बन्न सक्नेछ ।

Tags :

प्रतिक्रिया दिनुहोस्