तारकेश्वर कांग्रेसमा अन्तरविरोध, ३ नेतालाई करवाही गर्न अधिकारीको माग « Arthapath.com
७ असार २०७८, सोमबार

तारकेश्वर कांग्रेसमा अन्तरविरोध, ३ नेतालाई करवाही गर्न अधिकारीको माग



काठमाडौं । नेपाली कांग्रेस नुवाकोट तारकेश्वरका नेता शिव अधिकारीले कांग्रेसको खोल ओडेका केही विकास विरोधी तत्वहरुले पार्टी सिध्याउन खोजको भन्दै पार्टी जोगाउन त्यस्ता तत्वको सशक्त प्रतिरोध गर्नुपर्ने बेला आएको बताएका छन् ।

आज एक विज्ञप्ति जारी गर्दै अधिकारीले पार्टीलाई आफ्नै पेवा सम्झिने केही स्थानीय नेताहरुले आफ्ना विकासका अभियानहरुमा अवरोध सिर्जना गर्ने दुष्प्रयास गरेको भन्दै यस्ता पार्टीविरोधी र समाजविरोधी गतिविधिबाट आफू कत्ती पनि बिचलित नहुने बताएका छन् ।

वडा समितिको निर्णय भन्दै किर्ते जालसाँझी गरेर समितिका सदस्यहरुले हस्ताक्षर नगरिकनै तारकेश्वर–२ का वडा इकाइ सभापति हरि श्रेष्ठले आफूमाथि कारबाहीका लागि सिफारिस गरेको भन्दै अधिकारीले पार्टी विधानको खिल्ली उँडाउने र किर्ते जालसाँझी गर्ने हरि श्रेष्ठ लगायत त्यसका लागि उक्साउने महाधिवेशन प्रतिनिधि चोकराज शाक्य र वडा नं. ४ का इकाइ सभापति गोविन्दप्रसाद शर्मामाथि पार्टीले कारबाही गर्नुपर्ने माग गरेका छन् ।

‘वडा इकाइका साथीहरुले हस्ताक्षर नगरिकनै किर्ते जालसाँझी गरी फर्जी हस्ताक्षर बुझाएर विकासको अभियान चलाएकै अभियोगमा ममाथि कारबाहीका लागि भन्दै सिफारिस गरेर पठाउने वडा नं. २ का सभापति हरि श्रेष्ठसँगै यस्तो दुष्कर्मका लागि उक्साउने र दबाब दिने महाधिवेशन प्रतिनिधि चोकराज शाक्य र वडा नं. ४ का सभापति गोविन्दप्रसाद शर्माले पार्टी र समाजविरुद्ध गम्भीर अपराध गरेका छन्,’ विज्ञप्तिमा अधिकारीले लेखेका छन्, ‘पार्टीकै छवि धूमिल गराउने र सिंगो समाजप्रति समेत घात हुने गरी भइरहेका गतिविधिप्रति पार्टीको गम्भीर ध्यानाकर्षण गराउँदै व्यक्तिगत कुन्ठासिद्धिका लागि पार्टी सिध्याउन लागिपर्ने यस्ता कुतत्वहरुमाथि यथाशीघ्र छानविन गरी कारबाही गर्न माग गर्दछु ।’
अधिकारीले विभिन्न संघसंस्थासँग समन्वय गरी तारकेश्वरमा विद्यालय, अस्पताल, सडक, क्लब, सामुदायिक भवन, मन्दिर, गुम्बा र खानेपानी आयोजनाकाेे काम गर्दैै अाएका छन ।

दुई साताअघि अधिकारीले विकासमा समन्वय र सहकार्य गर्न भनेर आफ्नै संरक्षकत्वमा १०१ सदस्यीय तारकेश्वर डेभलपमेन्ट फोर्स गठन गरेका थिए । आफूसँग सल्लाह नगरी फोर्स गठन गरेको भन्दै उनीसँग रुष्ट भएका पार्टीका केही स्थानीय नेताहरुले सार्वजनिक सूचना जारी गरेरै उनको अभियानमा सहभागी नहुन कार्यकर्ताहरुलाई चेतावनी दिएका थिए । चेतावनीका बाबजुद तारकेश्वर डेभलपमेन्ट फोर्समा १५० युवा जोडिइसकेका भन्दै अधिकारीले छिटै यो संख्या बढाएर ३०१ पुर्याउने बताएका छन् ।

पार्टीको विधानविपरीत गएर आफूसँग स्पष्टीकरण सोध्ने, आफ्ना सामाजिक अभियानमा सहभागी हुनेलाई धम्काउने, तर्साउने र अभियान बिथोल्न दुष्प्रयास गर्ने कार्यले पार्टीकै छवि धूमिल पार्ने भन्दै अधिकारीले यस्ता गतिविधिका विरुद्ध भन्डाफोर अभियान चलाउने बताएका छन् ।

नेपाली कांग्रेसको विधानले जिल्लाभित्रका कुनै पनि पार्टी सदस्य वा इकाइले गरेको कामका सम्बन्धमा स्पष्टीकरण लिने र कारबाही चलाउने अधिकार जिल्ला अनुशासन समितिलाई दिएको छ । तल्ला इकाइहरुले जिल्ला अनुशासन समितिमा उजुरी दिन सक्छन् । विधानविपरीत गएर वडा सभापतिले आफैँ स्पष्टीकरण सोधेको भन्दै अधिकारीले उनीमाथि कारबाही हुनुपर्ने माग गरेका हुन् ।

Tags :

प्रतिक्रिया दिनुहोस्