नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंकबीच बिना धितो पेशाकर्मी सरल कर्जा उपलब्ध गराउने सम्झौता « Arthapath.com
१६ असार २०७८, बुधबार

नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंकबीच बिना धितो पेशाकर्मी सरल कर्जा उपलब्ध गराउने सम्झौता



काठमाडौं । नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंक लिमिटेडबीच नेपाल प्रहरीको तलबी बचत खाता सञ्चालन तथा बिना धितो पेशाकर्मी सरल कर्जा सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर कार्यक्रम बुधबार सम्पन्न भएको छ ।

प्रहरी प्रधान कार्यालय मानवश्रोत एवं प्रशासन विभागका प्रमुख प्रहरी अतिरीक्त महानिरीक्षक निरज बहादुर शाही र राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित एक कार्यक्रमबीच उक्त समझदारी–पत्रमा हस्ताक्षर गरी एक आपसमा आदान प्रदान गरेका थिए । असार १६ गतेको समझदारीलाई निरन्तरता दिई नेपाल प्रहरीको तलवी बचत खाता आगामी ५ वर्षका लागि थप सेवा सहित नविकरण गर्ने तथा विना धितो पेशाकर्मी सरल कर्जा उपलब्ध गराउने गरी उक्त समझदारी–पत्रमा हस्ताक्षर भएको छ ।

साथै कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले कोभिड–१९ को विषम परिस्थितिमा प्रहरी कर्मचारीहरूको स्वास्थ्य हितका लागि १० हजार थान सर्जिकल मास्क र स्यानिटाईजर प्रहरी अतिरीक्त महानिरीक्षक निरज बहादुर शाहीलाई हस्तान्तरण गरेका थिए ।

उक्त कार्यक्रममा प्रहरी प्रधान कार्यालय आर्थिक प्रशासन तथा प्रवन्ध निर्देशनालय प्रमुख प्रहरी नायव महानिरीक्षक प्रकाश अधिकारी, प्रहरी वरिष्ठ उपरीक्षक दिपक थापा, राष्ट्रिय बाणिज्य बैंकका नायव प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी र ब्रान्च अप्रेशन विभागीय प्रमुख सरोज बस्नेत लगायतको उपस्थिति रहेको थियो ।

Tags :

प्रतिक्रिया दिनुहोस्