जीवन विकास र मनकामना स्मार्ट लघुवित्तको आईपीओ अर्काे साता नेप्सेमा सूचीकृत हुने! « Arthapath.com
७ श्रावण २०७८, बिहीबार

जीवन विकास र मनकामना स्मार्ट लघुवित्तको आईपीओ अर्काे साता नेप्सेमा सूचीकृत हुने!



काठमाडौं । जीवन विकास लघुवित्त र मनकामना स्मार्ट लघुवित्तको आईपीओ अर्काे साता नेप्सेमा सूचीकृत हुने भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृतका लागी प्रक्रिया शुरु भैसकेकाले अर्काे साता मात्रै सूचीकृत हुने छ । कम्पनीले सेयर सूचीकृतका लागी निवेदन दिएको २–३ दिन भित्रै सूचीकण गर्ने नेप्सेले जनाएको छ ।

कुनै कम्पनीको सेयर सूचीकृत गर्न नेप्सेमा आवेदन दिएको दिनदेखि १ महिनाभित्र सूचीकृत गर्नुपर्ने ब्यवस्था छ । तर डकुमेन्टहरु पुरा आएको छ भने २–३ दिनमा नै सूचीकरण हुने नेप्सेले जनाएको छ ।

जीवन विकास लघुवित्त र मनकामना स्मार्ट लघुवित्तको आईपीओ सूचीकृतका लागी नेप्सेमा डकुमेन्टहरु पठाइसकेको छ । अर्काे साताको आइतबार वा सोमबारसम्म सूचीकृत हुनसक्ने छ । अर्काे साता नेप्सेमा सूचीकरण सम्झौता भएपछि कारोबार दोस्रो दिन देखि नै हुनसक्नेछ ।

जीवन विकास लघुवित्तको आईपीओ १ लाख ८४ हजार ८०१ जनाले १० कित्ताका दरले आईपीओ पाएका छन् भने ५ जनाले ११ कित्ता शेयर पाएका छन् । संस्थाले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कूल १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको १९ लाख ७७ हजार ३ सय कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको थियो । जसमा ३० हजार ४२० कित्ता कर्मचारीहरुलाई र ९८ हजार ८६५ कित्ता सामुहिक लगानी कोषलाई र बाँकी १८ लाख ४८ हजार १५ कित्ता सर्वसाधारणका लागि छुट्याइएको थियो ।

जीवन विकास लघुवित्तको आईपीओ नेप्सेमा सूचीकृत भएपछि पहिलो सेयर कारोबार न्युनतम प्रतिकित्ता ३०५ रुपैयाँ २७ पैसा र अधिकतम ९१५ रुपैयाँ ८१ पैसासम्म रेञ्ज तोक्न सक्ने सम्भावना रहेको छ ।

त्यस्तै, मनकामना स्मार्ट लघुवित्तको आईपीओ ३६ हजार ३४९ जनाले १० कित्ताका दरले पाएका छन् भने २ जनाले ११ कित्ता पाएका छन् । कम्पनीले असार १७ गतेदेखि ३ करोड ८९ लाख बराबरको ३ लाख ८९ हजार कित्ता सेयर निष्काशन गरेको हो । जसमध्ये ६ हजार ५८ कित्ता कम्पनीका कर्मचारीलाई र १९ हजार ४ सय ५० कित्ता सेयर सामुहिक लगानी कोषलाई छुट्याईएको थियो । बाँकि रहेको ३ लाख ६३ हजार ४ सय ९२ कित्ता सेयर सर्वसाधारणलाई छुट्याईएको थियो ।

मनकामना स्मार्ट लघुवित्तको आईपीओको ओपनिङ रेञ्ज न्युनतम प्रतिकित्ता ११० रुपैयाँ ८४ पैसा र अधिकतम ३३२ रुपैयाँ ५२ पैसासम्म तोक्ने सम्भावना रहेको छ । नेप्सेले हरेक कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म ओपनिङ रेञ्ज तोक्ने गर्दछ ।


प्रतिक्रिया दिनुहोस्