‘अग्रगामी भन्नेहरू असफल भइसके, अब युवा शक्तिलाई राप्रपामा जोडिन आग्रह गर्दछु’: अध्यक्ष राजु लोहनी « Arthapath.com
१६ श्रावण २०७८, शनिबार

‘अग्रगामी भन्नेहरू असफल भइसके, अब युवा शक्तिलाई राप्रपामा जोडिन आग्रह गर्दछु’: अध्यक्ष राजु लोहनी



पछिल्लो समय मुलुकमा धर्म निरपेक्षता, संघीयता र गणतन्त्रबारे जनमत जान्नुपर्ने माग बढ्न थालेको छ । एमाले, कांग्रेसजस्ता परम्परागत राजनीतिक दलभित्रमात्र होइन, विवेकशील साझा नयाँ दलले पनि यी संवैधानिक प्रावधानमाथि पुनर्विचार गर्ने प्रस्ताव अघि सारेका छन् । तर उक्त मुद्दा शुरूदेखि नै उठाउँदै आएको एकमात्र राजनीतिक दल राप्रपाले फेरिएको परिस्थितिमा आफ्नो दाबीलाई कत्तिको मजबुत बनाएको छ त ? पार्टीको आसन्न महाधिवेशन र राष्ट्रिय राजनीतिबारे राप्रपाको भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको केन्द्रिय अध्यक्ष एवम् राप्रपाको केन्द्रिय कार्यसम्पादन सदस्य राजु लोहनी (फणीराज) सँग गरिएको कुराकानीको सार यहाँ प्रस्तुत गरिएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले के गरिरहेको छ ?

राष्ट्रिय प्रजातन्त्र पार्टी अहिले महाधिवेशनको तयारीमा जुटेको छ । गाउँ, क्षेत्र, जिल्लामा हामीले महाधिवेशनको तयारी थालेका छौँ । कात्तिक २७ देखि ३० सम्म राष्ट्रिय महाधिवेशन हुँदै छ । यसको तयारी देशभरि भइरहेको छ । साथै अबको केही महिनापछि हुने स्थानीय निर्वाचनलाई पनि ध्यानमा राख्दै अगाडि बढिरहेका छौँ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीमा मुख्य तीन नेताहरू तीनतिर छन्, कसरी हुन्छ महाधिवेशन ?

राष्ट्रिय प्रजातन्त्र पार्टीका तीन जना अध्यक्षहरू हुनुहुन्छ । पशुपति शमशेर जंगबहादुर राणा, डा. प्रकाशचन्द्र लोहनी र कमल थापा तीनै तिर हुनुहुन्न । किनभने जब पार्टीको विचार, सिद्धान्त, पार्टीको एजेण्डा फरकफरक भएको भए तीनतिर भन्न मिल्छ ।

तर राष्ट्रिय प्रजातन्त्र पार्टीको विचार, एजेण्डा, सिद्धान्त एउटै छ । राष्ट्रियता र प्रजातन्त्रलाई पार्टीले अंगीकार गरेको छ । यसमा तीनै जना अध्यक्षहरू एकजुट हुनुहुन्छ । अर्काे एजेण्डा संवैधानिक राजसंस्था, सबै धर्मलाई सम्मान गर्दै सनातन हिन्दु राष्ट्र, भ्रष्टाचार न्यूनीकरण एउटै विचार भएकाले तीनै तिर म भन्दिन ।

महाधिवेशनमा ५ हजार कार्यकर्ता (प्रतिनिधि) हरू आउनुहुन्छ । उहाँहरूले कसलाई चुन्नु हुन्छ, त्यसैलाई सहर्ष अध्यक्ष मानेर अगाडि बढ्नुपर्छ । अहिलेको नेतृत्व तीनै जनाले गर्नुभएको छ । 

पार्टी एकता पूर्ण रुपमा सकिएको हो र ?

हाम्रो पार्टी एकता पूर्ण रुपमा सकिएको हो । भातृ संगठनहरू केही समायोजन गर्न बाँकी छ । युवा सङ्गठनलाई एकजुट गर्न प्रक्रिया शुरू भैसकेको छ । ५–७ जिल्लामा समायोजन हुन बाँकी छ, त्यो पनि छिट्टै सकिन्छ । 

राष्ट्रिय प्रजातन्त्र पार्टी ढाका-टोपी अर्थात् बृद्धहरूको पार्टी भन्छन् । तपाईंजस्ता युवाहरू चाँहि कहिले पार्टीकाे नेतृत्त्वमा आउने ?

राष्ट्रिय प्रजातन्त्र पार्टीले राजासहितको प्रजातन्त्र र सबै धर्मलाई सम्मान गरी पूर्ण धार्मिक स्वतन्त्रता सहितकाे सनातन हिन्दु राष्ट्र हुनुपर्छ भन्ने मुख्य एजेण्डा राखेकाे छ। अहिले देशव्यापी रुपमा युवाहरू अब राजा चाहिन्छ, राजा अपरिहार्य छ भनेर नारा जुलुस गरिरहेका छन् । त्यसमा के ढाका टोपी लगाएका मात्रै छन् त ?

त्यो एजेण्डा राष्ट्रिय प्रजातन्त्र पार्टीको हो । याे एजेण्डाप्रति तमाम युवा लगायत अन्य ठूला दल भन्नेहरू पनि सहभागि छन् । नेकपा एमालेमा हिन्दु राज्य बनाउनुपर्न मुद्दा प्रवेश भैसकेको छ । नेपाली कांग्रेसमा प्रवेश भैरहेको छ । विवेकशील साझाले यसको बारेमा बोलिसकेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले ल्याएको एजेण्डा राष्ट्रिय बहसमा आइसकेको छ ।

यसकाे अर्थ हाम्राे पार्टीले बोकेको एजेण्डा त सही रहेछ नी । हिजोका दिनमा राष्ट्रिय प्रजातन्त्र पार्टीलाई प्रतिगामी भनेर होच्याउनेहरू नै अहिले त्यही मुद्दामा आइसकेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीलाई गीराउनका लागि भ्रम पारेका मात्रै हुन् । तर राजासहितको प्रजातन्त्र र हिन्दु राज्यको लागि युवाहरू वकालत गरिरहेका छन् । 

तर यो मुद्धामा अझै अलमल छ नी ?

२४० बर्ष शासन चलाएको राजसंस्था, ५ हजार बर्षदेखि मान्दै आएको हिन्दु धर्मको सभ्यता भएको मुलुक, हिजोका दिनमा ४ जना बसेर गणतन्त्रबादी भन्ने नेताहरूले गरेको निर्णय लागू भएको छ । त्यो हामी स्विकार्दैनौं । यदि नेपालमा राजसंस्था, धर्म निरपेक्षता नेपाली जनताले चाहन्छन् भने हामी स्वीकार्छाैं । ९४ प्रतिशत ओमकार धर्मावलम्वी भएको यो मुलुकमा धर्मनिरपेक्षता जबरजस्ति लादिएको छ ।

जनमत संग्रहबाट जनताले धर्मनिरपेक्ष मान्छन् भने हामी पनि तयार छौँ । राजसंस्था मान्दैनन् भने हामी पनि स्वीकार गर्छाैं । राष्ट्रिय प्रजातन्त्र पार्टीले आन्दोलन गरेर पनि यो स्थापित गरेरै छाड्छ । विस्तार विस्तार गणतन्त्रबादी नेताहरू नै डराइसकेका छन् । यही तरिकाले गयौं भने भोलिका दिनमा हामीलाई नै खतरा हुन्छ की, भनेर उहाँहरूले पनि यो मुद्धालाई बहसका रुपमा उठाउनु भएकाे हाे जस्तो लाग्छ ।

तर यो सकारात्मक कुरा हाे । नेपालमा राजनीति गर्नु छ भने जनताले के चाहेका छन् त्यो गर्नुपर्यो नि । नेपालको माटो अनुसारको गर्नुपर्यो । विदेशीको इसारमा जे–जे गर भन्यो त्यही गरेर हुँदैन । यो तरिकाले मुलुक बन्छ ? 

राजसंस्था पुर्नस्थापित र हिन्दु राज्य बनाउनु पर्यो भनेर देशव्यापी रुपमा नारा–जुलुस गरिरहेका मानिसलाई तपाईहरूले परिचालित गर्नु भएको हो की स्वस्फुर्त हुन् ?

उनीह? स्वचालित हुन् । हामीले कसैलाई पनि परिचालन गरेका छैनौं । मुलुकमा गणतन्त्र आएको १४–१५ बर्ष जति भयो । यो अवधिमा रोजगारी पाउँछौं, विकसित मुलुकमा पुगिन्छ भनेर युवाले सोचेका थिए । तर त्यसको ठ्याक्कै विपरित भएको छ । विश्वमा नेपाल श्रमिक जन्माउने कारखानाको रुपमा चिनाईएको छ ।

लाखौं युवाहरू विदेशिनु परेको छ । यो गणतन्त्र असफल भयो, देश बर्वाद पार्छ, युवाको भविष्य पनि बर्वाद बनाउँछ भन्ने सोच विकास भएकाे छ । यही कारण स्वतःस्फुर्त रुपमा गणतन्त्रलाई खारेजी र संवैधानिक राजसंस्थाको स्थापनाकाे माग गर्दै देशव्यापी रुपमा कोही अभियान चलिरहेकाे छ ।

तर त्यस्ताे अभियानमा तपाईहरु देखिनुभएन नी ?

हामी किन छैनौं ? राष्ट्रिय प्रजातन्त्र पार्टीले समान विचार भएकाहरू एउटै धारमा आउनुपर्छ भनेर बुद्धिमान तामाङको संयोजकत्वमा कमिटी गठन गरेर काम पनि अगाडि बढिसकेको छ ।

तर केहीले चाँहि पूर्व राजाद्वारा परिचालित भए भनेर आरोप लगाएका छन् नी ?

हामी पूर्व राजाबाट परिचालित होइनौं । हाम्रो पार्टीको एजेण्डा भनेको राजसंस्थालाई स्थापित गर्नुपर्छ भन्ने हो । हाम्रो राजसंस्थासँग उद्देश्य मिल्ने भएकाले आरोप लाग्नु स्वभाविक नै हो । हामीले पहिलेदेखि नै यो देशमा गणतन्त्र अभिषाप हुन्छ भनेका छौं । किनभने नेपालको माटो, भूमि अनुसारको राजनीति हेर्ने हो भने राजसंस्था नै ठिक छ ।

हिजोका दिनमा राष्ट्रिय प्रजातन्त्र पार्टीलाई मण्डले भन्थे भने आज आएर हाम्रो पार्टीको एजेण्डालाई ुसबैले समातेका छन् । केही गणतन्त्रबादीहरूले राष्ट्रिय प्रजातन्त्र पार्टीले बहिर्गमन भैसकेको राजालाई बोकेर हिँड्यो, पुरानो बाटोतिर लाग्यो, पछ्यौटे बाटोतिर लाग्यो भनेका थिए ।

हामीलाई प्रतिगामी भन्ने ‘अग्रगामी”का जुकाहरूले १५ बर्षमा के गरे ? यो अवधिमा वाइडबडी काण्ड, एनसेल काण्ड, सुन काण्ड, बालुवाटार काण्ड भए । कोरोना महामारीका बेलासमेत ठाडो भ्रष्ट्राचार गर्न छाडिएन । यी जुकाहरूलाई राष्ट्रिय प्रजातन्त्र पार्टीले कहिल्यै पनि छाड्नेवाला छैन ।

यहि हो अग्रगमनले गर्न काम ? अग्रगमन भन्नेहरूले यति भ्रष्ट्राचार गर्छन ?  राजसंस्था बोकेका प्रतिगमन, पश्चगमन भन्छन् । राजसंस्था बेलायत, स्वीडेन, नर्वे, जापान, थाइल्याण्डमा छ । अष्ट्रेलिया र क्यानडाले बेलायतको राजसंस्था मानेको छ । के ती राष्ट्र पश्चगामी हुन् ? त्यहाँ विकास छैन् ?

आज त्यही एजेण्डा राप्रपाले बोक्दा प्रतिगमन हुने ? मैले भनिरहनु पर्दैन, बुटवल, पोखरा, धनगढी, विराटनगर, नेपालगञ्ज, काठमाडौं लगायत मेची–कालीबाट स्वःस्फुर्त रुपमा जुलुसहरू आएका छन् । यिनीहरू किनेर, तेल हालेर ल्याएका युवाहरू होइनन् । 

तपाइले पार्टीको माथिल्लो तहमा विवाद छैन् भन्नु भयो, तर सर्वाेच्च अदालतको असार २८ गतेको फैसलालाई केहीले विरोध गरे भने केहीले स्वागत गरेका छन्, यसले विवाद त सतहमा देखियो नी ?

तीनै जनाको संयुक्त विज्ञप्ति आएपछि मात्रै पार्टीको धारणा मान्छौं । पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टीले विज्ञप्ति जारी गरेर असंवैधानिक कदम भनेर विरोध गरेको हो । फैसला आइसकेपछि अदालतको फैसलालाई मान्नुपर्छ भनेर भनिसकेका छौं ।

यसमा कोही पक्ष र विपक्ष भन्ने होइन । हामी कुनै पनि पार्टीको पुच्छर होइनौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारलाई समर्थन गर्ने वा नगर्ने भन्ने उसको गुण र दोषका आधारमा हो । अहिले हामीले कसैलाई समर्थन पनि गरेका छैनौं, विरोध पनि गरेका छैनौं । 

राष्ट्रिय प्रजातन्त्र पार्टी निकट रहेको युवा संघको एकता कहिले टुंगो लाग्छ ? 
राष्ट्रिय प्रजातान्त्रिक युवक संगठनको समान अध्यक्ष छौं । प्रकाश जी र म आफैं अध्यक्ष भएर पटक–पटक बैठक पनि गरिसकेका छौं । १५ गते दुवै पक्षका पदाधिकारीको बैठक बसेर चाँडोभन्दा चाँडो समाधान गर्छाैं ।

पार्टीको महाधिवेशन सफल पार्नका लागि सङ्गठनलाई पनि महत्वपूर्ण जिम्मेवारी दिएको हुन्छ । महाधिवेशन सकेर स्थानीय चुनावको तयारी पनि गर्ने छौं । राष्ट्रिय मुद्दा बनाएर युवा संगठन देशव्यापी रुपमा संगठन विस्तार गर्नेछ । 

राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशनमा तपाई के पदका लागी उठ्दै हुनुहुन्छ ? 
केन्द्रिय सदस्य पदका लागी उठ्ने हो । किनभने म अहिले कार्यसम्पादन सदस्यमा छु । तर अहिले नै को कुन पदका लागी उठ्ने भनेर एकीन भएको छैन । राष्ट्रिय प्रजातन्त्र पार्टीमा युवाहरू नै आउनुपर्छ, पार्टीलाई युवामय बनाउनुपर्छ भनेर लागेका छन् ।

कतिपय कुरा दोस्रो पुस्तामा पनि जानुपर्छ भन्ने छ । हामीलाई ५ महिनामा युवा संगठनको महाधिवेशन गरिसक्नु भनेर निर्देशन आइसकेको छ । हामीले सङ्गठन कुशल नेतृत्वलाई सुम्पिएर पार्टी बलियो बनाउन लाग्छौं । 

स्थानीय तहको चुनावको तयारी कसरी थालिएको छ ? 
स्थानीय तहको निर्वाचनको लागी भनेर ४ सदस्यीय समिति नै बनाइसकेको छ । रविन्द्र प्रताप शाह, राजेश गिरि, धनबहादुर बुढा लगायतको समिति नै गठन गरी स्थानीय चुनावको तयारीमा जुटेका छाैं । 

कोरोना महामारीमा तपाईको पार्टीले कस्तो भूमिका निर्वाह गर्यो ? 

राष्ट्रिय प्रजातन्त्र पार्टीले नुवाकोट लगायतका क्षेत्रमा स्वास्थ्य सामाग्री वितरण गरेको छ । कोरोना महामारीबाट हामी पनि त्रासमा नै थियौं । तर पनि अलि नियन्त्रणमा आएका बेलामा हामीले सकेजतिको सहयोग गरेका छौँ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले आफू सुरक्षित रहेर जनतालाई केही गर्नुपर्छ भनेर स्वास्थ्य सामाग्री वितरण गरेका छौँ । पार्टीले चुनावको बेलामात्रै नभएर महामारीका बेला पनि सहयोग गरेको छ । भैपरि आउने विपद् ब्यवस्थापनका लागी केपी पाण्डेको नेतृत्वमा समिति नै गठन गरेको छ । अहिले हामी आर्थिक संकलनमा पनि छौं। स्रोत साधन जुटाउने र वितरण गर्न राष्ट्रिय प्रजातन्त्र पार्टीले गरेर देखाउँछ । 

महाधिवेशनमा अध्यक्ष सर्वसम्मत हुन्छ की निर्वाचन नै गर्नुहुन्छ ? 

त्यो अहिले नै भन्न सक्दिन । तीनै जनाबाट नेतृतव गरेर आउनुहुन्छ भने सबैसँग रायसल्लाह लिएर सर्वसम्मतबाट एकजना अध्यक्ष बन्नुहोस् । तपाइहरू आ–आफैं प्रतिस्पर्धा गर्नुहन्छ भने तीनै जना फेल भैसकेका हुनाले दोस्रो पुस्तामा दिनुहोस् भन्ने युवाहरूको माग हो । बुढामात्रै भए भन्ने पक्षमा म छैन । किनभने जाेकाेही मानसिक र शारीरिक रुपमा स्वस्थ छ भने ९० बर्षमा पनि युवा हुन्छ ।

९३ बर्षे महाथिरले मलेशिया बनाएको हो नि । उमेरले हेर्दा बुढा भए पनि मानसिक, शारीरिक क्षमता सबै ठिक भएकाले देशलाई उँभो लगाए । यदि सबै कुरा ठीक छ भने कुनै विमति छैन ।

तर हिजोको दिनमा राष्ट्रिय प्रजातन्त्र पार्टी शक्तिमा गयो भने पटक–पटक टुट्ने र कमजोर भयो भने जुट्ने प्रबृत्ति छ। एकले अर्काको अस्तित्व स्वीकार नगर्ने भएकाले तपाईहरू आरामसँग अभिभावक बनेर बस्नुस् । सल्लाह सुझाव दिनुस् । नेतृत्व सम्हाल्न युवा तयार छन् । 

युवालाई पार्टीमा आकर्षित गर्न कस्तो रणनीति रहेको छ ?

युवालाई रोजगारी र स्वरोजगारका लागी राष्ट्रिय प्रजातन्त्र पार्टीले अगाडि बढाउने कार्यक्रम ल्याउँछ । जबसम्म देशमा उद्योग, कलकारखाना बन्दैनन्, तवसम्म रोजगारी पाउँदैनन् । देशमा भएको भ्रष्टाचारलाई रोक्न सकियो भने विकास आफैं हुन्छ ।

त्यो लगानीकर्ता, उद्योग, कलकारखाना, पर्यटनमा जान्छ । यस्तो भयो भने युवाले रोजगारी पाउँछन् । जब भ्रष्टाचार भैरहेको छ भने विदेश जानुभन्दा अरू विकल्प छैन। पार्टीको युवा सङ्गठनले भ्रष्टाचार विरुद्ध अभियान चलाउँछ । 

अन्तिममा केही भन्नु छ ? 

गणतन्त्र आएको १४–१५ बर्ष भयो। फूलबारीजस्तो देशलाई शीरूबारीको रुपमा लगिएको छ । गणतन्त्रबादी दलहरू असफल भइसकेका छन् । टुप्पीभन्दा माथि रौँ हुँदैन भनेजस्तै दुई तिहाइको सरकार अवधि पुरा नहुँदै ढलिसक्यो । अब गणतन्त्रबादी भन्ने दलको पछि लाग्नु हाम्रो मूर्खता हो । त्यसैले राजसंस्था र हिन्दु राज्य बनाउनका लागि सबै युवा एकपटक देशव्यापी रूपमा हामीसँग जोडिन आग्रह गर्दछु ।    


प्रतिक्रिया दिनुहोस्