८ प्रतिशत ब्याजदर दिने नबिल बैंकको ऋणपत्रमा आवेदन भर्ने आज अन्तिम दिन

काठमाडौं । नबिल बैंकको ऋणपत्रमा आवेदन दिने समय आज (साउन २४ गते, आइतबार) अन्तिम दिन रहेको छ । गत साउन १० गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको ऋणपत्रमा आवेदन दिने आज साउन २४ गते अन्तिम दिन हो । ।
बैंकले साउन १० गतेबाट ७ वर्ष अवधिको ‘८ प्रतिशत नबिल डिबेन्चर २०८५’ निष्काशन तथा बिक्री खुला गरेको हो । ऋणपत्र खरिदका लागि छिटोमा साउन १३ गतेसम्ममा आवेदन दिनुपर्ने भएपनि उक्त अवधिसम्ममा पूर्ण आवेदन नपरेका कारण निष्कासन अवधि साउन २४ गतेसम्म लम्ब्याएको थियो ।
बैकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासन गरेको हो । जसमा १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारणलाई छुटाईएको छ भने बाँकी रहने १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता बैंकले व्यक्तिगत बिक्री गर्ने छ । सर्वसाधारणका लागि बिक्री गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ६० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ ।
इच्छुक लगानिकर्ताले न्युनतम २५ कित्तादेखि अधिकतम सबै कित्ताको लागि आवेदन दिन सक्ने छन् । इच्छुक लगानीकर्ताले सी आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाको शाखा कार्यालयहरुबाट ऋणपत्र खरिदका लागि आवेदन दिन सक्नेछन । ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ ।