एमबीबीएस पढ्न महेश बिकलाई गाउँपालिका अध्यक्ष भण्डारीको आर्थिक सहयोग

काठमाडौं । बझाङको केदारस्युँ गाउँपालिकाका अध्यक्ष भण्डारीले एमबीबीएस पढ्न आर्थिक सहयोग गरेका छन् । केदारस्युँ गाउँपालिका २ स्थित महेश बिकलाई एमबीबीएस पढ्न अध्यक्ष इन्द्र बहादुर भण्डारीले आर्थिक सहयोग गरेका हुन् । एमबीबीएस पढ्नका लागी बिकलाई अध्यक्ष भण्डारीले व्यक्तिगत तवरबाट ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको बताए ।
अहिले व्यक्तिगत रुपमा सहयोग गरेको भएपनि गाउँपालिकाले भर्ना भएको प्रमाणपत्र गाउँपालिकामा बुझाएमा गाउँपालिकाले पनि सहयोग गर्ने अध्यक्ष भण्डारी बताउँछन् ।
चिकित्सा शिक्षा आयोगले सञ्चालन गरेको एमबीबीएस प्रवेश परीक्षामा महेश बिक पास भएका हुन् । एमबीबीएसमा १७ जनाको दलित कोटा रहेको छ । ८ औँ नम्बरमा नाम निकालेका बिकले २ सय पूर्णाङ्कमा १४१ अङ्क ल्याएका हुन् ।
बिकले केदारस्युँ स्थित बेताल माध्यामिक विद्यालयबाट २०७२ सालमा एसएलसी/एसईई उतिर्ण गरेका थिए । यसअघि पनि बिकले राष्ट्रिय दलित आयोगबाट काठमाडौंको हटल्यान्ड एकेडेमीमा स्कलरसिप पाएका थिए ।
आर्थिक अवस्था कमजोर भएका बिकले अध्यक्ष भण्डारीको सहयोगका लागी धन्यबाद दिएका छन् । एमबीबीएस पढाइपछि सेवाको पहिलो प्राथमिकता बझाङ रहेको उनले प्रतिबद्धता व्यक्त गरे ।