देउवा प्रधानमन्त्रीमा नियुक्त भएको ६६ दिन पुग्यो, सकेनन् मन्त्रीपरिषद विस्तार गर्न « Arthapath.com
३१ भाद्र २०७८, बिहीबार

देउवा प्रधानमन्त्रीमा नियुक्त भएको ६६ दिन पुग्यो, सकेनन् मन्त्रीपरिषद विस्तार गर्न



काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवा प्रधानमन्त्री बनेको ६६ दिन पुगेको छ । सर्वोच्च अदालतको परमादेशबाट असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका देउवाले हालसम्म पूर्ण रुपमा मन्त्रीपरिषद् विस्तार गर्न सकेका छैनन् । तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई परास्थ गरेर प्रधानमन्त्रीमा नियुक्त भएका देउवाले हालसम्म पनि मन्त्री परिषद विस्तार गर्न नसक्दा चौतर्फी विरोध भएको छ ।

यसअघि प्रधानमन्त्री बन्दा जम्बो मन्त्रीमण्डल विस्तार गरेर आलोचना खेपेका प्रधानमन्त्री देउवाले यस पटक भने मन्त्रीपरिषद विस्तार गर्न नसकेर आलोचित बनेका हुन् । नेकपा माओवादी केन्द्र र जनता समाज पार्टीको गठबन्धनबाट देउवा प्रधानमन्त्रीमा नियुक्त भएका हुन् । देउवाले माधव नेपाललाई पार्टी फुटाउन ल्याएको राजनीतिक दल सम्वन्धी अध्यादेशले नेकपा एमाले फुटाएर नेकपा (एकिकृत समाजवादी) बनाएका छन् । नेपालले आफू सरकारमा सहभागी हुने बताएका छन् तर पनि देउवाले सरकार विस्तार गर्न सकिरहेका छैनन् ।

कांग्रेस, नेकपा माओवादी, नेकपा समाजवादी र जनता समाज पार्टीको समर्थनमा देउवाले संसदमा विश्वासको मत लिँदा १६५ सांसदले मत दिएका थिए । तर अझै पनि प्रधानमन्त्री देउवाले मन्त्रीपरिषद विस्तार गर्न कुनै सुरसार गरेका छैनन् ।

शुरुमा आफू सहित ४ जना मन्त्रीले सपथ लिएका थिए । त्यसपछि स्वास्थ्य राज्यमन्त्री नियुक्त गरेर हाल ६ जनाको मात्रै मन्त्रीमण्डल रहेको छ । देउवा सरकारले मन्त्रीहरु छनौट गर्न नसक्दा सम्वन्धित मन्त्रालय अस्तव्यवस्त बनेका छन् । सेवाग्राही वालुवाटार धाउँदा पनि आफ्नो काम नभएको गुनासो गरिरहेका छन् ।

यसअघि नेपाली कांग्रेसबाट बालकृष्ण खाँण गृहमन्त्री नियुक्त र ज्ञानेन्द्रबहादुर कार्की कानुनमन्त्री बनेका छन् । माओवादी केन्द्रबाट जनादर्न शर्मा प्रभाकर अर्थ मन्त्री र पम्फा भुसाल ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री बनेका थिए । दोस्रो चरणमा उमेशलाल श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री नियुक्त गरेका प्रधानमन्त्री देउवाले मन्त्रीमण्डल विस्तार गर्ने कुनै सुरसार देखाएका छैनन् ।


प्रतिक्रिया दिनुहोस्