वाणिज्य बैंकले शुरु गरे लाभांश घोषणा, कुनको कति लाभांश ? « Arthapath.com
७ आश्विन २०७८, बिहीबार

वाणिज्य बैंकले शुरु गरे लाभांश घोषणा, कुनको कति लाभांश ?



काठमाडौं । गत आर्थिक वर्षको मुनाफाबाट वाणिज्य बैङ्कहरूले लाभांश वितरण गर्न शुरु गरेका छन् । कोरोना महामारीमा पनि राम्रै आम्दानी गरेका वाणिज्य बैंकहरूले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरिरहेका छन् । हालसम्म २ वाणिज्य बैंकले लाभांश वितरण गर्ने घोषणा गरेका छन् । माछापुच्छ्रे बैंक र सानिमा बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयधनीहरुलाई लाभांश दिने घोषणा गरिसकेका छन् । 

माछापुच्छ्रे बैंक लिमिटेड

माछापुच्छ्रे बैंक लिमिटेडको असोज ६ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक बर्ष २०७७–७८ को मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको १४ प्रतिशत अर्थात १ अर्ब २६ करोड ७४ लाख ३२ हजार ६३२ रुपैयाँ बराबरको लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव गरेको छ । 

जसमा बैंकले १३.३० प्रतिशत बोनस शेयर र ०.७० प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि) गरी कूल १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले गत आर्थिक वर्षमा १ अर्ब ६० करोड ७४ लाख रुपैयाँ खुद नाफा गरेर प्रतिशेयर आम्दानी १७ रुपैयाँ ७६ पैसा कायम गरेको थियो । बैंकको चुक्ता पूँजी ९ अर्ब ५ करोड रुपैयाँ तथा साधारण जगेडा कोषमा २ अर्ब २ करोड रुपैयाँ सञ्चित छ ।

सानिमा बैंक लिमिटेड

सानिमा बैंकको असोज ६ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक बर्ष २०७७–७८ को मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १७.८९ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

बैंकले गत आर्थिक वर्ष २०७७–७८ को नाफाबाट चुक्ता पूँजीको १७ प्रतिशत बोनस शेयर र ०.८९ प्रतिशत नगद (कर प्रयोजन) गरी कूल १७.८९ प्रतिशत लाभांश वितरण गर्ने भएको हो । बैंकको हालको चुक्ता पूँजी ९ अर्ब ६८ करोड १५ लाख १९ हजार ८२ रुपैयाँ रहेको छ । 


उक्त दुबै बैंकको लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र बैंकको आगामी साधारणसभाले पारित गरेपछि मात्रै शेयरधनीहरुले पाउनेछन् ।



प्रतिक्रिया दिनुहोस्