कर्जा जोखिमका लागि दायित्व बढेपछि कुमारी बैंकको खुद नाफा १० प्रतिशत घट्यो

काठमाडौं । कोरोना महामारीका कारण निष्कृय कर्जा बढेको र राष्ट्र बैंकले कर्जा जोखिम बापत छुट्याउनु पर्ने दायित्वको सीमा बढाइदिएका कारण यो वर्ष बैंकहरुको वित्तीय विवरण प्रभावित हुने भएको छ । यसैको एक उदाहरण बनेको छ, कुमारी बैंक ।
कुमारी बैंकले आइतबार यो आर्थिक वर्षको पहिलो तीन महिना (साउनदेखि असोज)को वित्तीय विवरण प्रकाशन गरेको छ । उक्त विवरण अनुरा यो वर्षको तीन महिनामा बैंकले ५४ करोड ११ लाख रुपैयाँ नाफा कमाएको छ । यो पोहोरको भन्दा १० दशमलव १९ प्रतिशत कम हो । गत वर्ष बैंकले ६० करोड २५ लाख रुयैयाँ खुद नाफा कमाएको थियो ।
यस वर्ष कम्पनीको इम्पेरमेन्ट चार्ज बढेकाले खुद नाफामा कमी भएको हो । गत वर्ष १ करोड ३४ लाख रुपैयाँमात्रै इम्पेरमेण्ट चार्ज शीर्षकमा छुट्याएको थियो । यो वर्ष भने १३ करोड २७ लाखभन्दा बढी उक्त शीर्षकमा छुट्याएको छ । यसरी संभावित जोखिमका लागि १२ करोड रुपैयाँ थप रकम छुट्याउनु परेपछि बैंकको खुद नाफामा नकारात्मक प्रभाव परेको हो ।
हाल बैंकको चुक्तापूँजी रू. १३ अर्ब ८७ करोड ८४ लाख ७४ हजार रहेको छ । बैंकको जगेडा कोष रकम रू. ३ अर्ब ९३ करोड ८६ लाखभन्दा बढी रहेको कम्पनीको रिटेन्ड अर्निङ रू. १ अर्ब ३२ करोडभन्दा बढी छ । शेयर प्रिमियममा रू. ८ करोड ८८ लाखभन्दा बढी रकम कायम रहेको छ ।
पहिलो त्रैमाससम्म बैंकको वितरणयोग्य नाफा रू. १ अर्ब १० करोड ६३ लाखभन्दा बढी रहेको छ । बैंकले १ खर्ब ५५ अर्ब १८ करोड निक्षेप संकलन गरेर १ खर्ब ५२ अर्ब ३७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । निष्क्रिय कर्जाको दर भने गत वर्षको १ दशमलव ४३ प्रतिशतबाट घटेर ०.८२ प्रतिशत कायम भएको छ । बैंकको प्रतिशेयर आम्दानी रू. १५ दशमलव ६० र प्रतिशेयर नेटवर्थ रू. १३८ दशमलव ५६ रहेको छ ।
यस बैंकले गत आर्थिक वर्ष ०७७/७८ को मुनाफाबाट ६ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि २ दशमलव ६७ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । उक्त प्रस्ताव कात्तिक १६ गते २१औं वार्षिक साधारण सभामार्फत पारित गराउने तयारी बैंकले गरेको छ ।