स्मार्ट सिटीको गुरुयोजना किन पर्यो अलपत्र ? « Arthapath.com
१६ मंसिर २०७८, बिहीबार

स्मार्ट सिटीको गुरुयोजना किन पर्यो अलपत्र ?



मानमति पन्त

काठमाडौं । राजनैतिक अस्थिरतालाई बाहाना बनाउँदै काठमाडौं उपत्यका विकास प्राधिकरणले स्मार्ट सिटी निर्माण गर्ने गुरुयोजना मन्त्रिपरिषद्मा अझै पेश गर्न सकेको छैन् । स्मार्ट सिटीको भौतिक विकास गुरुयोजना मन्त्रिपरिषद्मा पठाउने निर्णय भैसकेको अवस्थामा मन्त्रिमण्डल नै परिवर्तन भएपछि सो योजना प्राधिकरणमा थन्किएको थियो ।

जुन गुरुयोजना भौतिक विकास समितिमा समेत अझै नपुगेको काठमाडौं उपत्यका विकास प्राधिकरणका सूचना अधिकारी सौरब ढकालले जानकारी दिए । उनले भने, ‘शहरी विकास मन्त्रालयमा मन्त्री आए लगत्तै टिप्पणीमा हस्ताक्षर गरेको थियो । जुन पाँच जना सदस्य टोली लिएर भौतिक समितिमा पेश गर्नु भन्दा अगाडि रिपोट पेश गर्नु पर्ने व्यवस्था थियो ।’ १५ दिन अगाडि शहरी विकास मन्त्रालय ५ जना सदस्य टोलीले बुझाई सकेको छ । तर मन्त्रालयले रिपोटको प्रति उतर केही नदिएको उनले अर्थपथ डटकमलाई बताए ।

उपत्यका विकास प्राधिकरणले चार वटा नयाँ सहर बनाउने गरी योजना अघि बढाए पनि ललितपुर महानगरपालिकाको असहमतिका कारण तीन वटाको मात्रै डीपीआर अघि बढाउन लागिएको थियो । उसो त असारको मसान्त भित्रै प्राधिकरणको भौतिक विकास समितिको बैठक बसेर स्मार्ट सहरको भौतिक विकास गुरुयोजना मन्त्रिपरिषद्मा पठाउने निर्णय थियो, तर ५ महिना जादाँ पनि सो गुरुयोजना मन्त्रिपरिषद्मा पठाउन नसकिएको उनले स्विकारेका छन् ।

राजनीतिक अस्थिरताको कारण प्राधिकरणका हरेक काममा ढिलाइ भइरहेको छ । योजना बनाएर मन्त्रिपरिषद्मा निर्णयार्थ पेस गर्ने बेलामा नयाँ सरकारको प्रवेश भएको कारण यो कामले गति लिन समय लागेको हो । ढकालका अनुसार स्मार्ट सिटीको आयोजनाका बारेमा प्राधिकरणमा नै खास कुरा के भन्ने नै थाहा छैन् ।

त्यस्तै, काठमाडौं उपत्यका विकास प्राधिकरण नियमावलीमा सरकारले ल्यान्डपुलिङ हुने जग्गाको भौतिक विकास योजना स्वीकृत गरेर विस्तृत विवरण सहितको सूचना राजपत्रमा प्रकाशित गर्नुपर्ने व्यवस्था छ । सरकारले यस्ता सहर बनाउन जुनसुकै जग्गा (नम्बरी, सार्वजनिक, पर्ती, कुलो, खोल्सी), घर, ताल, पोखरी रुख आदी समेत जग्गा प्राप्ति ऐन, २०३४ अनुसार लिएर प्राधिकरणलाई उपलब्ध गराइदिन सक्ने व्यवस्था समेत नियमावलीमा छ ।

यही नियमावलीमा टेकेर सम्बन्धित जग्गाधनी/मोहीलाई योजना क्षेत्रभित्र परेको जग्गाको क्षतिपूर्तिबापत विकसित घडेरी जग्गा दिने गरी जग्गा एकीकरणको माध्यमबाट यी तीनै सहर बनाउने प्राधिकरणले प्रस्ताव गरेको छ । काठमाडौं उपत्यकाका खाली जग्गामा अव्यवस्थित बसोबास मौलाउँदै गएकाले व्यवस्थित सहरीकरणका लागि इशान, उत्तर (हरित) र आग्नेय सहर बनाउने गरी पूर्वाधार तयार गर्न लागिएको प्राधिकरणले जानकारी दियो । सो योजनाका कारण ती क्षेत्रमा ८ आनाभन्दा कम क्षेत्रफल भएका जग्गाको बिक्रीमा प्रतिबन्ध लगाइएको छ ।

काठमाडौं ईशान (पूर्व उत्तर)

काठमाडौं ईशान नयाँ नगर आयोजनाको ४ किल्लामा पूर्वमा भक्तपुरको नगरकोट जाने सडक, भत्केको पाटी, चरेली, कलमसी र नगरकोट जङ्गल हुँदै तेलकोट भन्ज्याङसम्म रहेको छ । पश्चिममा जोरपाटी क्रिकेट स्टेडियम, मुलपानी, गोठाटार हुँदै मनोहरा पुल भक्तपुर जाने पुरानो बाटोसम्म छ ।

त्यस्तै, उत्तरमा क्रिकेट मैदान देखि साँखु जाने मूल सडक, साँखु बजार, चिहानेपाटी, तालुवारी, घट्टेखोला हुँदै तेलकोट सम्म रहेको छ भने दक्षिणमा भक्तपुर पुरानो बाटो नेपाल सैनिक प्रतिष्ठान– खरिपाटी, देकोमिबा इतापाके जग्गा एकिकरण आयोजना, सिन्टीटार जग्गा एकिकरण आयोजना र दिव्यश्वरी जग्गा एकिकरण आयोजना बाहेकको क्षेत्रहरू मात्र रहेको प्राधिकरणले जानकारी दिएको छ ।
जसमा कागेश्वरी मनोहरा न.पा.वडा नंं. ४, ५, ६, ७, ८ र ९, शंखरापुर न.पा. वडा नंं.५, ६, ७ र ९ का क्षेत्रहरू, भक्तपुर न.पा.वडा नंं.२, ६ र १०, मध्यपुर थिमी न.पा. वडा नं.२, ६, ७, ८ र ९, र चाँगुनारायण न.पा. वडा नं.१, २, ३, ४ ५ को पुरै भाग र वडा नंं. ६, ७, ८ केही भाग समावेश रहने छन्।

ईसान आयोजनाको कुल क्षेत्रफल ५२.७ वर्ग किलोमिटर रहेको छ । त्यसको जग्गा एकीकरण आयोजना सञ्चालन गरिने क्षेत्र २८.५५ वर्ग किलोमिटर छ । सो आयोजनाको कुल लागत २८६.२५ अर्व रहेको छ । सो क्षेत्रमा सडक ८.८२ वर्ग किलोमिटर बन्ने छ भने खुला तथा हरित क्षेत्र ६.७ वर्ग किलोमिटर रहेको छ । उक्त आयोजनाको औसत जग्गा फिर्ता ६३.०२ प्रतिशत छ । काठमाडौं ईशान आयोजना ७ वर्षमा सक्ने लक्ष रहेको छ । यो आयोजना वैदेशिक र आन्तरिक ऋण लगानीमा बन्ने भएको हो ।

काठमाडौं आग्नेय (पूर्व दक्षिण)

आग्नेय आयोजनाको लागत ४० अर्ब रुपैयाँ (१०% प्रतिशत ब्याज सहित) रहेको छ । जसमा आयोजनाको बाहिरी सडकको प्रारम्भिक लागत ३५.०८ अर्व रुपैयाँ हुनेछ । आयोजना क्षेत्र १८ हजार १०४ रोपनी छ भने सडक क्षेत्र ३ हजार ७०९.६८ रोपनी छ । त्यसमध्ये खुला क्षेत्र ८२८.३७ रोपनी रहेको छ। यहाँ ३ प्रतिशत वन क्षेत्रले ओगटेको छ । जग्गा विकास क्षेत्र १ हजार ३०८ रोपनी छ ।

जसमा औसत जग्गा फिर्ता ११हजार ७६८.५ रोपनी र रिप्लटिङ पश्चात् बिक्री गरिने घडेरी १ हजार १७७ रोपनी रहेको छ । विक्री गरिने घडेरी प्लट प्रतिआना २६.२५ लाख रुपैयाँका दरले गरिने छ । यस आयोजनाको निर्माण अवधि ५ वर्ष रहेको छ । लगानीको श्रोत भने आन्तरिक ऋण र अनुदान नै रहने छ ।

काठमाडौं आग्नेय (पूर्व दक्षिण) नयाँ नगर आयोजनाको ४ किल्लाको पूर्वमा सिर्जना नगर चोकदेखि अरनिको राजमार्ग देखि घ्याम्पे डाँडा सडक हुँदै सूर्य विनायक जङ्गलको फेदी हुँदै गुण्डु बसपार्कसम्म रहने छ ।

्त्यस्तै, पश्चिममा विरुवा बसपार्कदेखि सुम्लिङटार चारबाटो चोक हुँदै गाम्चाचोक हर्षचोक देखि हनुमन्ते पुल हुँदै थिमी विरुवा रोडसम्म छ। उत्तरमा हनुमन्ते पुल (सिबर्ड ईन्टरनेशनल कलेज) सिर्जना चोक र दक्षिणमा गुण्डु बसपार्क देखि अनन्तलिंगेश्वर महादेव तर्खगाल हुँदै विरुवा बसपार्कसम्म रहेको छ । सूर्य विनायक नगरपालिका अन्तर्गतका १,४,५,६ र ७ नं. वडाका भागहरू समावेश हुने छन् ।

काठमाडौं उत्तर (हरित सहर)

काठमाडौं उत्तर (हरित सहर) नयाँ नगर आयोजनाको ४ किल्लाको पूर्वमा भिल्ली, सपनतीर्थ दोभान, भूतखेल चोक रहेको छ । पश्चिममा भेडीगोठ चोक (तारकेश्वर), काभ्रेस्थली बाइपाससम्म छ । उत्तरमा चिम्बर पोखरी, बिहानी चोक, महादेव मन्दिर, क्रियापुत्री भवन भने दक्षिणमा सूर्य दर्शन (टोखा) शेर्पा पेट्रोल पम्प, भत्केको पुल, नागपोखरी, तल्लो भेडीखोठ चोक, काभ्रेस्थली स्कूल चोकसम्म रहेको छ ।

तारकेश्वर नगरपालिका अन्तर्गतका १, २ र ७ नं.वडाहरु र टोखा नगरपालिका अन्तर्गतका १, २ र ३ नं. वडाहरु समावेश भएका छन् । काठमाडौं उत्तर नयाँ नगर आयोजनाको कूल लागत १८ अर्ब भन्दा बढी रहेको छ । आयोजनाको क्षेत्रफल १३ हजार ६२३.५ रोपनी छ भने जग्गा एकीकरण आयोजना सञ्चालन गरिने क्षेत्र २८.५५ वर्ग कि.मी. रहेको छ । जसको सडक क्षेत्र २०.६७ र खुला क्षेत्र ५.०८ प्रतिशत रहेको छ ।

सो क्षेत्रमा हाल जग्गाको कायम मूल्य प्रतिआना ११ लाख छ । नयाँ सहर निमार्ण आयोजना सम्पन्न पश्चात् बिक्री हुने घडेरीको प्रस्तावित मूल्य प्रतिआना २४ लाख रहेको छ । पूर्वाधार विकास घडेरी ७.१२ प्रतिशत रहेको छ भने पूर्वाधार विकास घडेरी क्षेत्रफल ६७२.८६ रोपनी रहेको छ । यो आयोजना निर्माण सम्पन्न अवधि ५ वर्ष रहने छ भने लगानीको श्रोत आन्तरिक ऋण र अनुदान रहने छ ।


प्रतिक्रिया दिनुहोस्