सहकारीको ५ करोड रकम हिनामिना प्रकरणमा धरौटी बुझाउन नसकेपछि २ जना कारागार चलान « Arthapath.com
२८ पुष २०७८, बुधबार

सहकारीको ५ करोड रकम हिनामिना प्रकरणमा धरौटी बुझाउन नसकेपछि २ जना कारागार चलान



काठमाडौं । सहकारीको ५ करोड रुपैयाँ रकम हिनामिना गरेको आरोपमा २ जना पुर्पक्षका लागि कारागार चलान भएका छन् । दाङको देउखुरी बचत तथा ऋण सहकारी संस्थाको ५ करोड बढी रकम हिनामिना गरेको आरोपमा २ जना पुर्पक्षका लागि कारागार चलान भएका हुन् ।

संस्थाका पदाधिकारी किरण भण्डारी र रुकमाङ्गत ज्ञवाली पुर्पक्षका लागि कारागार चलान भएका हुन् । अदालतका सूचना अधिकारी राजेन्द्रकुमार शर्माका अनुसार जिल्ला अदालत दाङले भण्डारी र ज्ञवालीसँग ५०–५० लाख धरौटी माग गरेको थियो तर धरौटी बुझाउन नसकेपछि उनीहरुलाई पुर्पक्षका लागि कारागार चलान भएका हुन् ।

उक्त रकम हिनामिना प्रकरणमा संस्थाका पूर्व कोषाध्यक्ष रामकृष्ण पौडेल २५ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भईसकेका छन् । यसअघि ४ जना कर्मचारीलाई अदालतले पुर्पक्षका लागि कारागार चलान गर्न आदेश गरेको थियो ।

साविकको महाप्रभु सहकारी संस्थासहित अन्य तीन वटा सहकारी संस्था मर्ज भएर हाल देउखुरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको नाममा सञ्चालन भइरहेको छ । भण्डारी र ज्ञवाली दुवै महाप्रभु बचत तथा ऋण सहकारी संस्थाका पूर्वअध्यक्ष हुन् ।

राप्ती गाउँपालिका वडा नं. ८ स्थित सोही बचत तथा ऋण सहकारी संस्थाका शिवध्वज मल्ल समेतका सेयर सदस्यहरूले गत असारमै पाँच करोड, २७ लाख २६ हजार, ६ सय ९२ रुपैयाँ हिनामिना प्रकरणमा राप्ती गाउँपालिकाका अध्यक्ष सुवेदी, किरण भण्डारी समेतलाई प्रतिवादी बनाई २० जनाविरूद्ध मुद्दा दिएका थिए ।


प्रतिक्रिया दिनुहोस्