आईसीएफसी फाइनान्स को नाफा २४.४१ प्रतिशत र ईपीएस ७ रुपैयाँ ४९ पैसाले घट्यो « Arthapath.com
१० माघ २०७८, सोमबार

आईसीएफसी फाइनान्स को नाफा २४.४१ प्रतिशत र ईपीएस ७ रुपैयाँ ४९ पैसाले घट्यो



काठमाडौं । आईसीएफसी फाइनान्स लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ९ करोड २६ लाख रुपैया खुद नाफा आर्जन गरेको छ । फाइनान्सले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण खुद नाफा २४.४१ प्रतिशतले ओरालो लागेको हो ।

समीक्षा अवधिमा फाइनान्सको खुद ब्याज आम्दानी ३२.६६ प्रतिशत बढेर २० करोड ९० लाख ४३ हजार पुगेको छ । गत आर्थिक वर्षको सोही अवधीमा फाइनान्सले १५ करोड ७५ लाख ७९ हजार रुपैयाँ आर्जन गरेको थियो । खुद फि तथा कमिशन आम्दानी ७३.११ प्रतिशत घटेको छ ।

सार्वजनिक विवरण अनुसार समीक्षा अवधिमा फाइनान्सको अन्य सञ्चालन आम्दानी १५ करोड ३६ लाख रुपैयाँबाट घटेर ४ करोड २९ लाखमा झरेको छ । फाइनान्सको सञ्चालन मुनाफा १३ करोड २२ लाख ३८ हजारमा झरेको छ । गत वर्षको सोही अवधीमा कम्पनिले १७ करोड ४७ लाख ३२ हजार सञ्चालन मुनाफा गरेको थियो । यो गत वर्षको तुलनामा २४.३२ प्रतिशतले घटेको छ ।

समिक्षा अवधीमा निक्षेप ७.७५ प्रतिशत बढेको छ भने कर्जा २४.०८ प्रतिशतले उकालो लागेको छ । त्यसैगरी चुक्ता पूँजी १०.०४ प्रतिशत र जगेडा कोष १२.५१ प्रतिशत घटेको छ ।

नाफासँगै फाइनान्सको प्रतिशेयर आम्दानी ७ रुपैयाँ ४९ पैसाले घटेको छ । गत वर्षको सोहि अवधीमा २३ रुपैयाँ ९३ पैसा रहेको प्रतिशेयर आम्दानी ७ रुपैयाँ ४९ पैसाले घटेर घटेर १६ रुपैयाँ ४४ पैसामा झरेको छ । दोस्रो त्रैमाससम्मा मूल्य आम्दानी अनुपात ४७.१४ गुणा रहेको छ।


प्रतिक्रिया दिनुहोस्