होली किन मनाइन्छ ? « Arthapath.com
३ चैत्र २०७८, बिहीबार

होली किन मनाइन्छ ?



काठमाडौं । होली नेपाली सस्कृतिलाई झल्काउने एक पर्व हो । होलीलाई फागु पुर्णिमाको रुपमा पनि लिने गरिन्छ । हिन्दू संस्कृतिमा प्रत्येक वर्षको फागुन शुक्ल पूर्णिमा अर्थात होली पूर्णिमाको दिन होली पर्व मनाइन्छ । होली नेपाल, भारत तथा अन्य राष्ट्रमा रहेका हिन्दूहरूको एउटा महत्वपूर्ण चाड हो । होलीलाई रङ्गहरूको चाड पनि भनिन्द्ध । होलीको दिन मानिसहरूले एक अर्कामाथि विभिन्न प्रकारका रङ्गहरू लगाएर रङ्गिन बनाउछन् ।

होली खेल्ने दिन भन्दा एकदिन पहिला राती होलीका दहन गरिन्छ । राती होलीका दहन गरिसकेपछि बिहान पानीमा रङ्ग घोलेर एक अर्कामाथि फाल्ने चलन छ । होलीको दिन ‘पुरानो कटुता समाप्त गरेर, दुस्मनी बिर्सेर मान्छे एकअर्कासित मिल्छन्’ । यस पर्वलाई फागुनको महिनामा मनाउने भएकाले यसलाई फगुआ पनि भनिन्छ ।

होली पर्व घरपरिवार साथीभाइ आपसमा रङमा रङ्गिएर उल्लासपूर्वक मनाउने फागुन पूर्णिमाको अवसरमा पहाडदेखि तराई र गाउँदेखि शहरसम्म हातमा रङ र रङ्गीन घोल पदार्थ लिएर गाउँदै, बजाउँदै, रमाइलो र होहल्ला गर्दै आपसी रिसईबीलाई बिर्सेर उत्साह र उमङ्गका साथ मनाइने रङ्गीन पर्वको रूपमा लिइन्छ ।

त्रेता यूगमा भगवान विष्णुका परम भक्त प्रहलादसंग होलीलाई जोडेर हेरिन्छ, हिरण्यकश्यपुका पुत्र प्रल्हादलाई उनको आफ्नै फुपु होलिकाले आगोमा भष्म पार्न लाग्दा उनि आँफै आगोमा भष्म भएकी दिनका रुपमा होलीको पर्व पर्दापण भएको मानिन्छ । विष्णुको नरसिंह अवतार को वर्णन अनि उत्पती पनि होली अनि प्रहलाद घटना क्रम सँग सम्वन्धित छ ।

नारद पुराण र भविष्य पुराणमा होलीको महत्व अनि चलनको चर्चा गरिएको छ, भगवान श्रीकृष्णलाई दुध खुवाएर मार्न आएकी राक्षसनी पुतनाको पनि आजकै दिन बालक कृष्णले वध गरेको उल्लेख गरिएको छ, यसरी पुतनाको बध भएपछी गोपालवासीहरुले जयजयकार गर्दै आजको दिनको रंगीन उत्सव मनाएको विवरण पनि ईतिहासले वयान गर्दछ ।

आजको दिन नेपालमा सार्वजनिक विदा दिईन्छ, उपत्यका लगायत अन्य ठाँउहरुमा आजै अर्थात फागुन पूर्णिमाकै दिन अनि तराई क्षेत्रमा भोलीका दिन विदा दिईन्छ ।

रंगहरुको पर्व होलिमा विभिन्न प्रकारका रंगमिश्रीत रंगहरुलाई प्रयोगमा ल्याईने गरिएको छ । यी रंगहरु केवल मनोरंजन र आकर्षकताको लागि मात्र नभई रंगहरुको धार्मिक एवं आध्यात्मिक महत्व पनि रहिआएको छ । होलिमा प्रयोग गरिने बिभिन्नथरी रंगहरुमध्ये नीलो रंगलाई धर्मयुद्धको प्रतीक मानिन्छ । त्यसैले नीलो वर्णका श्रीहरिले अधर्म नाश गर्न र धर्मको रक्षा गर्न प्रत्येक युगमा अवतार लिँदै आएको धार्मिक मान्यता छ । लोकहितका लागि उनले विषपान गरेर महादेव नीलकण्ठका रूपमा कहलिए ।

पहेंलो रङ्ग विष्णु र योगेश्वर श्रीकृष्णको प्रिय रङ्ग हो। गणेशजी हरेक रङ्ग मन पराउँथे। रातो रंगलाई शक्ति र सौभाग्यको सूचक मानिन्छ । त्यसैले देवताहरूले रातो रंगको पहिरन लगाउने गर्थे भने मान्यता रहिआएको छ । यसवाहेक होलिमा प्रयोग हुने अन्य रंगहरुको पनि आफ्नै धार्मिक एवं आध्यात्मिक महत्व रहिआएको छ ।


प्रतिक्रिया दिनुहोस्