ट्वीटरले हटायो ‘ब्लू–टीक’का लागि ८ डलर तिर्नुपर्ने नियम, किन पछि हटे मस्क ? « Arthapath.com
२७ कार्तिक २०७९, आईतवार

ट्वीटरले हटायो ‘ब्लू–टीक’का लागि ८ डलर तिर्नुपर्ने नियम, किन पछि हटे मस्क ?



काठमाडौं । एलन मस्क संसारका सबैभन्दा धनिमात्रै होइनन्, सबैभन्दा अस्थिर मनोबृत्ति भएका अर्बपति पनि हुन् । उनले आफ्नो कम्पनीको नाम निकोला टेस्लाको नाममा राखे, जसले सिंगै जीवन वैज्ञानिक अनुसन्धानमा समर्थित गरेका थिए । तर उनी अहिले पनि एसी करेण्ट पत्ता लगाउने टेस्लाको होइन, बल्ब बनाउने धोकेबाज वैज्ञानिक थमस एल्वा एडिशनको फ्यान छन् । टेस्लाले पुरै जीवन अनुसन्धान र प्रवर्तनमा खर्चिएको मस्कलाई मन पर्दैन । बरु जे आफूले बनाउन सक्यो, त्यसैको ब्यापार गरेर धनि बनेका एडिशनको ‘मार्केटिङ कौशल’ले उनलाई बढी प्रेरित गर्छ ।

यही भएर होला, मस्कले सामाजिक संजालमा विश्वब्यापी प्रभाव स्थापित गरिसकेको ट्वीटर किन्ने बित्तिकै ठूलो उथल–पुथल ल्याउन खोजे । उनले कम्पनीबाट नेतृत्व तहका सबैजसो कर्मचारीलाई निकालिदिए । करीब ३७०० कर्मचारी एकै खेपमा ट्वीटरको लोभलाग्दो जागिरबाट हटाइए । सबै व्यवस्थापन आफ्नो हातमा लिए र ‘भविष्यको बाटो कठीन भएको र सबैले अथक मिहेनत गर्नुपर्ने’ सन्देश लेखेर हरेक कर्मचारीलाई इ–मेल पठाए ।

‘प्रडक्टको मार्केटिङ गजब गर्नुपर्छ’ भन्ने मस्कले ट्वीटरको ब्लु–टीकलाई बेचेर नाफा कमाउन खोजे । हुन त ४४ अर्ब डलर खर्चेर किनेको कम्पनीबाट उनले नाफा खोज्नु स्वभाविक थियो । फेरि मस्क आइसकेपछि कुनै पनि कम्पनीमा आमूल परिवर्तन खोज्नु स्वभाविक पनि हो । मंगल ग्रहमा लैजान्छु भनेर उनले संसारका धेरै मान्छेलाई टिकट काट्न लगाइसकेका छन् । हाम्रै राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष अर्थात् भावि अर्थमन्त्रीको पद ताकेर चितवनमा चुनाव भिडिरहेका विश्वनाथ पौडेलसम्मले मंगल ग्रह जान मस्कको कम्पनीबाट टिकट काटिसकेका छन् ।

यस्ता चतुर मस्कले सुरुमा त ट्वीटरको प्रमाणिकरण सूचक ‘ब्लू–टीक’बापत मासिक २० डलर असुल्ने भनेका थिए । पछि यसलाई घटाएर मासिक ८ डलरमा झारियो । तर यो योजना कार्यान्वयनमा आएको केही दिनमै ट्वीटरले ‘ब्लू–टीक’को पैसा लिने नीतिलाई स्थगित गर्नु परेको छ । जुन मस्कको योजनामा ठूलो धक्का हो ।

मस्कको स्वामित्वमा जानुअघि ट्वीटरले सेलिब्रेटी, पत्रकार र नेताहरुलाई मात्रै यसखाले ‘ब्लू–टीक’ को सुविधा दिएको थियो । यसबाट नक्कली खाता खोलेर भ्रामक सूचना प्रवाह नहोस् भनेर नै ट्वीटरले यस्तो प्रावधान ल्याएको थियो । तर मस्कले गत सातामात्रै यसरी मासिक ८ डलर लिने नीति अघि सारेका थिए । सुरुमा ‘फेक अकाउण्ट’ लाई हटाउन यस्तो नीति लिइएको भनेर मस्कले दुनियालाई भ्रमित पारे ।

तर यसको परिणाम उल्टो निस्कियो । एउटा फोन नम्बर र क्रेडिट कार्ड देखाएर मासिक ८ डलर तिर्नसक्ने सबैले ट्वीटर खातामा ‘ब्लू–टीक’ लगाउन पाउने नीति लागू भयो । नयाँ नीति अनुसार सबै कम्पनी, फर्म वा ब्राण्डले पनि ‘ब्लू–टीक’ लिन पाउने भए । अहिले विश्व भर अनलाइन विज्ञापन घट्न थालेपछि मस्कले ‘ब्लू–टीक’लाई ब्यापारको प्रडक्ट बनाउन खोजेका थिए ।

मस्कले दुनियाँलाई भ्रम छरेर कमाउने दाउ अघि सारेका थिए । यसपछि संसारभर थुप्रै ब्राण्डका नक्कली ‘ब्लू–टीक’ खाताहरु खुल्न थाले । यस्ता खातामा भ्रामक सूचनाहरु प्रवाह हुन थाल्यो । अमेरिकी औषधि कम्पनी ‘एली लिलि एण्ड कम्पनी’को नक्कलि खाता बनाएर कोही व्यक्तिले ‘ब्लू–टीक’ लियो र कम्पनीबाट सित्तैमा इन्सुलिन उपलब्ध भइरहेको भनेर ट्वीट गर्यो । आफ्नै नामको भेरिफाइड, तर नक्कली ट्वीटर खाताबाट प्रेषित भएको यो सूचनालाई लिएर कम्पनीले सार्वजनिक रुपमा माथि नै माग्नु पर्यो ।

बेलायती तेल कम्पनी बीपी, जापानको गेम निर्माता निण्टेन्डोजस्ता कयौं त्यस्ता कम्पनी छन्, जसले पहिले नै ‘ब्लू–टीक’ पाइसकेको भए पनि तिनीहरुकै नाममा नक्कली खाताहरु खुल्दै ‘ब्लू–टीक’ पाइरहेका छन् । यी घटनापछि ट्वीटरबाट भ्रामक सूचना फैलन सक्ने त्रास बढेको छ । यही कारण ट्वीटरको भविष्य अनिश्चयतर्फ धकेलिएको भन्दै ठूला ब्राण्ड र विज्ञापन कम्पनीहरुले पनि ट्वीटरलाई विज्ञापन दिन बन्द गर्न थालेका छन् । यसको असर शुक्रबार ट्वीटरको सेयरमूल्य ४ प्रतिशतले घटेको छ ।

यसरी ‘ब्लू–टीक’लाई ब्यापारमा बदल्न खोज्ने मस्कको मार्केटिङ कौसलले संसारमा ठूलो प्रभाव स्थापित गरिसकेको अमेरिकी माइक्रो ब्लगिङ वेवसाइट ट्वीटर शंकाको घेरामा तानिएको छ । मस्कको यही अस्थिर मनोबृत्तीले उनलाई आफ्नो निर्णय एक हप्ता पनि टिकाउन नसक्ने अवस्थामा पुर्याएको छ ।

एजेन्सीहरुको सहयोगमा ।

Tags :

प्रतिक्रिया दिनुहोस्