निर्यातमुखी अर्थतन्त्रले मात्रै दिगो विकास र आत्मनिर्भर बन्न टेवा पुग्छ, नीतिगत सुधार आवश्यक : अध्यक्ष गोल्यान « Arthapath.com
१८ मंसिर २०७९, आईतवार

निर्यातमुखी अर्थतन्त्रले मात्रै दिगो विकास र आत्मनिर्भर बन्न टेवा पुग्छ, नीतिगत सुधार आवश्यक : अध्यक्ष गोल्यान



काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) का अध्यक्ष पवन कुमार गोल्यानले निर्यातमुखी अर्थतन्त्रले मात्रै दिगो विकास र आत्मनिर्भर बन्न टेवा पुग्ने बताएका छन् ।

उनले उत्पादनमुलक क्षेत्रमा लगानी विस्तारसहित उत्पादकत्व अभिवृद्धि, उपभोगलाई प्रोत्साहन र मौलिक उत्पादनहरुको निर्यात प्रवद्र्धनमा जोड दिने खालका नीतिगत सुधार गर्न आवश्यक रहेको बताए ।

नेपालको वर्तमान अर्थतन्त्रका विभिन्न विषयमा अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) का नेपाल प्रतिनिधि टेरेसा डबान सान्चेजसँगको भेटघाट तथा छलफलमा अध्यक्ष गोल्यानले यस्तो बताएका हुन् ।

उनले आयातमुखी अर्थतन्त्रलाई निर्यातमुखी अर्थतन्त्रमा बदल्दै दिगो र आत्मनिर्भर अर्थतन्त्रको निर्माणमा सहयोग पुग्नेमामा जोड दिए । अवसरमा कम उत्पादनमुलक क्षेत्रमा अत्यधिक लगानी भएको कारण पनि नेपालको उत्पादन प्रणाली र कृषि क्षेत्र कमजोर रहेको र त्यसको प्रत्यक्ष असर आयातमा परेको उनको भनाई छ ।

सो अवसरमा आईएमएफ प्रमुखलगायतलाई सिबिफिनका तर्फबाट उपाध्यक्ष राजेश उपाध्यायले स्वागत गरेको थिए । उनले बैंक तथा वित्तीय संस्थाले लिने सेवा शुल्क, व्याजदर, लगानी योग्य रकमको अभावलगायतका विषयले चुनौती सृजना हुँदै गएकोप्रति चिन्ता व्यक्त गरेका थिए । यसका साथै नेपालको आर्थिक एवं बैंकिङ क्षेत्रको सुधार र स्तरोन्नतिका क्षेत्रमा सहकार्य गर्न आइएमअफका प्रतिनिधिसमक्ष आग्रह समेत गरेको थिए ।

सिबिफिनको कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूसँगको छलफल बैठकमा बोल्दै आवासीय प्रतिनिधि टेरेसा डबान सान्चेजले अहिले नेपालको मात्र नभई विश्व अर्थतन्त्रको अवस्था जटिल बन्दै गएको उल्लेख गरे । संयुक्त राज्य अमेरिका र युरोपमा समेत आन्तरिक माग र आपूर्तिको अवस्था खल्बलिदा ब्याजदर समेत उच्च भइ मुद्रास्फिति बढेको उनको भनाई थियो । वर्तमान विषम परिस्थितिलाई सहज बनाउनका लागि सबै देशहरुले आफ्नो मौद्रिक नीतिमार्फत सावधानीपूर्वक परिस्थितिसँग सामना गर्न तयार हुनुपर्ने उनले बताए ।

नेपालको अर्थतन्त्र विश्वका दुई ठूला अर्थतन्त्र र बजार भएका भारत र चीनको वीचमा रहेकोले नेपालले उत्पादनमुलक क्षेत्रमा लगानी विस्तार गर्दै उत्पादकत्व वृद्धि, आन्तरिक उपयोगमा प्रोत्साहन र विशिष्ट विशेषता भएका मौलिक उत्पादनहरुको निर्यात प्रवद्र्धनमा जोड दिनुपर्नेमा सुझाव दिए ।

यस्तै, स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालका पूर्व प्रमुख कार्यकारी अधिकृत जोसेफ सिल्भानसले बैंक तथा वित्तीय संस्थाहरुको नन–फण्डेड आम्दानी कम हुँदै गएको जानकारी गराए । उनले बैंक तथा वित्तीय संस्थाहरुले आफ्नो उत्पादन र लगानीका क्षेत्रहरु आफै पहिचान गरी अगाडि बढ्नुपर्ने सुझाव दिए ।

त्यसैगरी वरिष्ठ उपाध्यक्ष एवं प्रवक्ता भोजबहादुर शाहले नेपालको आर्थिक एवं वित्तीय क्षेत्र सुधार र स्थायित्वका विविध क्षेत्रहरुमा आइएमएफ र सिबिफिनवीच पारस्पारिक सहयोग र सहकार्य अत्यावश्यक रहेको औल्याए ।

सिबिफिन कार्यालय, सुन्धारामा सम्पन्न भएको उक्त छलफल बैंठकमा सिबिफिनका महासचिव केशव बहादुर रायमाझी, कोषाध्यक्ष तुलसीराम अग्रवाल, कार्यकारी सदस्यहरु तुलसीप्रसाद गौतम, उपेन्द्र केशरी न्यौपाने, उपेन्द्र प्रसाद पौडेल, महेन्द्रकुमार गोयल, दशरथ रिजाल र सिबिफिनका महानिर्देशक डा. गोपाल प्रसाद तिवारीलगायतले नेपालको बैंक तथा वित्तीय क्षेत्रका समस्या एवं चुनौतिहरुका विषयमा धारणाहरु राखेका थिए ।


प्रतिक्रिया दिनुहोस्