नेपाल प्रहरी श्रीमती संघ र मेघा अस्पतालबीच छुट सम्बन्धी सम्झौता « Arthapath.com
२३ मंसिर २०७९, शुक्रबार

नेपाल प्रहरी श्रीमती संघ र मेघा अस्पतालबीच छुट सम्बन्धी सम्झौता



काठमाडौं । नेपाल प्रहरी श्रीमती संघ र ललितपुर महानगरपालिका३ धोबीघाटस्थित मेघा अस्पताल प्रालिबीच छुट सम्बन्धी सम्झौता भएको छ । बहालवाला प्रहरी कर्मचारी परिवार, अमर प्रहरी परिवार तथा पूर्व प्रहरी कर्मचारी र तिनका आश्रित परिवारलाई उक्त अस्पतालमा उपलब्ध स्वास्थ्य उपचार सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

नेपाल प्रहरी श्रीमती संघकोतर्फबाट संघकी अध्यक्ष कुसुम लता सिंह तथा मेघा अस्पतालकोतर्फबाट अस्पतालका अध्यक्ष किशोर जंग राणा र चिकित्सा निर्देशक डा।ईवराज सिम्खडाले संघको कार्यालय भृकुटीमण्डपमा शुक्रबार आयोजित कार्यक्रममा उक्त सम्झौतापत्रमा हस्ताक्षर गर्नुको साथै सम्झौतापत्र आदानप्रदान समेत गर्नुभयो ।

कार्यक्रममा संघकी अध्यक्ष सिंहले शान्ति सुरक्षा तथा अपराध नियन्त्रणको अतिरिक्त प्राकृतिक प्रकोप, आपद विपदमा समेत आफ्नो ज्यानको प्रवाह नगरी सेवामा खटिएका प्रहरी कर्मचारी, अमर प्रहरी तथा पूर्व प्रहरी कर्मचारीहरूले पुर्‍याएको योगदानको उच्च मूल्याङ्कन गरी अस्पतालमा स्वास्थ्य उपचार तथा औषधिको लागि छुट दिने गरी भएको सम्झौता प्रति कृतज्ञता व्यक्त गरे । साथै उनले आगामी दिनमा समेत संघ र अस्पतालबीचको सहकार्य र समन्वय भइरहने बताए ।

सो अवसरमा अस्पतालका अध्यक्ष किशोर जंग राणाले नागरिक सुरक्षामा खटिने प्रहरी कर्मचारी तथा प्रहरी कर्मचारीका परिवारलाई अस्पतालबाट प्रदान हुने स्वास्थ्य सेवा लाभदायी हुने बिचार व्यक्त गर्दै आगामी दिनमा समेत अस्पताल र संघबीच आवश्यक सहकार्य हुने बताए ।

उक्त सम्झौता अनुसार अस्पतालको सेवा सुविधा अन्तर्गत आइसियु वेड, वार्ड वेड, क्याविन रूम, ल्याव र एक्सरेमा ५० प्रतिशत छुट, ओपिडि डाक्टर, आइसियू वार्ड तथा क्याविन वार्ड डाक्टर राउण्ड, ओटी अपरेशन र डाक्टरले दिने सुविधामा ३० प्रतिशित र फार्मेसी औषधिमा १५ प्रतिशत छुट दिने उल्लेख गरिएको छ । साथै आर्थिक अवस्था कमजोर भई उपचार गराउन असमर्थ रहेको भनी सिफारिस भई आएमा वार्षिक ३ जनासम्म अस्पतालले नि शुल्क उपचारको व्यवस्था गर्नेछ । सम्झौता आगामी मंसिर २३ गतेदेखि कार्यान्वयन भई २०८४ मंसिर २२ गतेसम्म ५ वर्षका लागि लागू हुनेछ ।

उक्त अवसरमा मेघा अस्पतालका पदाधिकारीहरू, श्रीमती संघका पदाधिकारीहरु लगायतको उपस्थिति रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्