अझै अब्बल बन्दै मुक्तिनाथ: शाइन रेसुङ्गाको लोभलाग्दो प्रगति, यस्तो देखियो विकास बैंकहरुबीच प्रतिस्पर्धा (तथ्याङ्कसहित) « Arthapath.com
१९ माघ २०७९, बिहीबार

अझै अब्बल बन्दै मुक्तिनाथ: शाइन रेसुङ्गाको लोभलाग्दो प्रगति, यस्तो देखियो विकास बैंकहरुबीच प्रतिस्पर्धा (तथ्याङ्कसहित)



काठमाडौं । सूचीकृत आठ वटै राष्ट्रिय स्तरका विकास बैंकहरुले चालु आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेका छन् ।

बैंकहरुको वित्तीय विवरण अनुसार चालु आवको ६ महिनामा २ अर्ब ५३ करोड २३ लाख ६३ हजार रुपैयाँ खुद नाफा गरेका छन् । तर, गत वर्षको पुस मसान्तसम्मको तुलनामा भने बैंकहरुको २०.९० प्रतिशतले कमी हो । गत वर्षको सोही अवधिमा ३ अर्ब २० करोड १७ लाख ४४ हजार रुपैयाँ नाफा कमाएका थिए ।

पुँजी, नाफा, खुद ब्याज आम्दानी लगायतको प्रमुख सूचकमा मुक्तिनाथ विकास बैंकले अग्र स्थान बनाएको छ । अन्य विकास बैंकहरुको तुलनामा मुक्तिनाथले विगत केही वर्षदेखि नै निरन्तर आफ्नो स्थान पहिलो बनाउँदै आएको छ ।

यस्तै, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले पनि अधिकांश सूचकमा आफूलाई अब्बल बनाउँदै आएको छ । गत वर्षको तुलनामा अधिकांश सूचकहरु शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले लोभलाग्दो प्रगति गरेको तथ्याङ्कले देखाउँछ । केही सूचकमा शाइन रेसुङ्गा नै अग्रता लिएको छ । व्यवासय विस्तारमा बैंक आक्रामक रुपमा देखिएको छ ।

यता, प्राय सूचकमा ज्योति विकास बैंक कमजोर देखिएको छ । सो अवधिमा बैंकको वितरण योग्य नाफा ऋणात्मक छ ।

मुक्तिनाथले कमायो धेरै नाफा, शाइन रेसुङ्गा बन्यो धेरै नाफा बढाउने बैंक

सो अवधिमा सबैभन्दा धेरै नाफा कमाउनेमा मुक्तिनाथ विकास बैंक रहेको छ । बैंकको सो अवधिमा ६२ करोड ६२ लाख ३३ हजार रुपैयाँ खुद नाफा गरेको छ । यो गत वर्षको पुस मसान्तसम्मको तुलनामा भने ३.९५ प्रतिशतले बढी हो । गत वर्षको सोही अवधिमा बैंकले ६० करोड २४ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।

दोस्रो स्थानमा रहेको गरिमा विकास बैंकले भने ५० करोड २१ लाख ४६ हजार रुपैयाँ नाफा गरेको छ । तर, गत वर्षको पुस मसान्तसम्मको तुलनामा भने १.८६ प्रतिशतले मात्र बढी हो । चालु आवको दोस्रो त्रैमासमा सबैभन्दा धेरै नाफा बढाउनेमा भने शाइन रेसुङ्ग डेभलपमेन्ट बैंक रहेको छ । शाइनले चालु आवको ६ महिनामा २३.१७ प्रतिशतले नाफा वृद्धि गरि ४२ करोड ९६ लाख ७८ हजार रुपैयाँ पुर्याएको छ ।

सो अवधिमा सबैभन्दा कम नाफा ज्योति विकास बैंकको देखिएको छ । चालु आवको दोस्रो त्रैमासमा बैंकले ३ करोड ४७ लाख ५९ हजार रुपैयाँ मात्र नाफा गरेको हो । बैंकको नाफा गत वर्षको सोही अवधिको तुलनामा ८९.८९ प्रतिशतले घटेको हो ।
सो अवधिमा कामना सेवा विकास बैंकको ४३ प्रतिशत, महालक्ष्मी विकास बैंकको नाफा ३०.७३ प्रतिशत, सांग्रिला डेभलपमेन्ट बैंकको ३६.३८ प्रतिशत, लुम्बिनीको २५.७७ प्रतिशतले नाफा गिरावट आएको हो ।

स्रोतः बैंकहरुले प्रकाशित गरेको चालु आवको दोस्रो त्रैमासिक वित्तीय विवरण

खुद ब्याज आम्दानी २६ प्रतिशतले बढ्यो, सबैभन्दा अगाडि मुक्तिनाथ विकास बैंक

चालु आवको ६ महिनामा सबैभन्दा धेरै खुुद ब्याज आम्दानी गर्नेमा पनि मुक्तिनाथ विकास बैंक देखिएको छ । सो अवधिका बैंकको यस्तो आम्दानी ३३.३६ प्रतिशतले बढेर २ अर्ब ४ करोड ४४ लाख ३४ हजार रुपैयाँ पुगेको छ ।

चालु आवको ६ महिनामा ५ वटा विकास बैंकको खुद ब्याज आम्दानी १ अर्ब माथि देखिएको छ । सो अवधिमा गरिमा विकास बैंकले पनि ३४.२६ प्रतिशत बढाएर १ अर्ब ५७ करोड ७७ लाख ६९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गर्न सफल भएको छ ।

यस्तै, ज्योति विकास बैंकको खुद ब्याज आम्दानी १ अर्ब १५ करोड १३ लाख ९८ हजार, शाइन रेसुङ्गाको १ अर्ब ५ करोड ४५ लाख, महालक्ष्मीको १ अर्ब ४ करोड ४१ लाख र कामना सेवाको १ अर्ब २ करोड २६ लाख रुपैयाँ रहेको छ ।

सो अवधिमा लुम्बिनी विकास बैंकको खुद ब्याज आम्दानी ९२ करोड ९१ लाख रुपैयाँ, र सांग्रिला डेभलपमेन्टको ९१ करोड ३५ लाख रुपैयाँ रहेको छ ।

स्रोतः बैंकहरुले प्रकाशित गरेको चालु आवको दोस्रो त्रैमासिक वित्तीय विवरण

संचालन नाफामा पनि मुक्तिनाथकै अग्रता, गरिमा र शाइन रेसुङ्गा अघि-पछि

चालु आवका ६ महिनामा सबैभन्दा धेरै संचालन नाफा गर्नेमा पनि मुक्तिनाथ विकास बैंकको अग्रता देखिएको छ । सो अवधिमा बैंकले ८९ करोड ४६ लाख १९ हजार रुपैयाँ संचालन नाफा गरेको छ ।

यस्तै, गरिमा विकास बैंकको ७१ करोड ६७ लाख र शाइन रेसुङ्गको ६१ करोड ७९ लाख रुपैया देखिएको छ । तर, गत वर्षको पुस मसान्तसम्मको तुलनामा शाइन रेसुङ्गाले भने संचालन नाफा २३.९९ प्रतिशतले बढाएको छ । यो अन्यको बैंकको भन्दा उच्च हो ।

सो अवधिमा ज्योति विकास बैंकको यस्तो नाफामा सबैभन्दा धेरै गिरावट आएको छ । बैंकको संचालन नाफा ८९.८९ प्रतिशतले घटेर ४ करोड ९६ लाख ५६ हजार रुपैयाँ कायम भएको छ ।

स्रोतः बैंकहरुले प्रकाशित गरेको चालु आवको दोस्रो त्रैमासिक वित्तीय विवरण

वितरण योग्य नाफा गरिमा विकासको धेरै, ज्योतिको ऋणात्मक

चालु आवको ६ महिनामा सबैभन्दा धेरै वितरण योग्य नाफा सांग्रिला डेभलपमेन्ट बैंकको २७ करोड ८२ लाख २९ हजार रुपैयाँ देखिएको छ । सो अवधिमा ज्योति विकासको भने ३३ करोड ३ लाख रुपैयाँ ऋणात्मक देखिएको छ ।

यस्तै, गरिमा विकास बैंकको २१ करोड ४९ लाख, कामना सेवाको १९ करोड ८१ लाख, मुक्तिनाथको १६ करोड ३ लाख, महालक्ष्मीको १० करोड ७८ लाख र लुम्बिनीको १० करोड रुपैयाँ देखिएको छ ।

स्रोतः बैंकहरुले प्रकाशित गरेको चालु आवको दोस्रो त्रैमासिक वित्तीय विवरण

चुक्ता पुँजीमा मुक्तिनाथ बलियो

चुक्ता पुँजीको आधारमा पनि मुक्तिनाथ विकास बैंक बलियो देखिएको छ । बैंकको चुक्ता पुँजी ६ अर्ब ४२ करोड ९ लाख रुपैयाँ रहेको छ ।

दोस्रो स्थानमा रहेको गरिमा विकास बैंकको चुक्ता पुँजी ५ अर्ब १८ करोड ८७ लाख रुपैयाँ रहेको छ । यस्तै, शाइन रेसुङ्गाको ४ अर्ब २८ करोड ३८ लाख, ज्योति विकास बैंकको ४ अर्ब २६ करोड ७७ लाख रुपैयाँ रहेको छ ।

स्रोतः बैंकहरुले प्रकाशित गरेको चालु आवको दोस्रो त्रैमासिक वित्तीय विवरण

२२ प्रतिशतले बढ्यो जगेडा कोषको आकार, लुम्बिनी विकास बलियो

सो अवधिमा बैंकहरुको जगेडा कोषको आकार २२ प्रतिशतले बढेर १३ अर्ब ४२ करोड ४२ लाख रुपैयाँ पुगेको छ । जगेडाको कोषको आधारमा भने लुम्बिनी विकास बैंक बलियो देखिएको छ । बैंकले जगेडा कोषमा २ अर्ब २५ करोड ७३ लाख रुपैयाँ राखेको छ ।

यस्तै, मुक्तिनाथ विकास बैंकको जगेडा कोषमा २ अर्ब १८ करोड ४० लाख, महालक्ष्मी विकास बैंकको २ अर्ब २ करोड ५५ लाख रुपैयाँ रहेको छ ।

स्रोतः बैंकहरुले प्रकाशित गरेको चालु आवको दोस्रो त्रैमासिक वित्तीय विवरण

प्रतिसेयर आम्दानी शाइन रेसुङ्गा बढी, अन्य ७ वटा इपिएस घट्यो

दोस्रो त्रैमासमा शाइन रेसुङ्गाको प्रतिसेयर आम्दानी सबैभन्दा धेरै देखिएको छ । गत वर्षको तुलनामा १ रुपैयाँ ६१ पैसा वृद्धि भई कम्पनीको यो आम्दानी २० रुपैयाँ ६ पैसा कायम भएको छ ।

गत वर्षको तुलनामा शाइन रेसुङ्गा बाहेकका अन्य बैंकको प्रतिसेयर आम्दानी घटेको हो । चालु आवको ६ महिनामा सबैभन्दा कम प्रतिसेयर आम्दानी ज्योति विकास बैंकको देखिएको छ। सो अवधिमा बैंकको यस्तो आम्दानी १४ रुपैयाँ ४९ पैसाले घटेर १ रुपैयाँ ६३ पैसा कायम भएको छ ।

सो अवधिमा मुक्तिनाथ विकास बैंकको प्रतिसेयर आम्दानी १९ रुपैयाँ ५१ पैसा, गरिमाको १९ रुपैयाँ ३९ पैसा रहेको छ । यस्तै, महालक्ष्मीको १५ रुपैयाँ ७६ पैसा, लुम्बिनीको १५ रुपैयाँ ४३ पैसा, कामना सेवाको १२ रुपैयाँ ४७ पैसा, सांग्रिलाको ११ रुपैयाँ ६ पैसा रहेको छ ।

स्रोतः बैंकहरुले प्रकाशित गरेको चालु आवको दोस्रो त्रैमासिक वित्तीय विवरण

नेटवर्थमा लुम्बिनी अगाडि, ज्योति विकास कमजोर

प्रतिसेयर नेटवर्थमा लुम्बिनी विकास बैंकले पछि पारेको छ । सो अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ १६९ रुपैयाँ ६९ पैसा देखिएको छ । नेटवर्थको आधारमा पनि ज्योति विकास बैंक कमजोर देखिएको छ ।

बैंकको प्रतिसेयर नेटवर्थ १२२ रुपेयाँ ३ पैसा रहेको छ । यता, गत वर्षको तुलनामा महालक्ष्मी विकास बैंकको प्रतिसेयर नेटवर्थ २० रुपैयाँ ४६ पैसाले घटेर १५७ रुपैयाँ ९४ पैसा कायम भएको छ ।

स्रोतः बैंकहरुले प्रकाशित गरेको चालु आवको दोस्रो त्रैमासिक वित्तीय विवरण

निक्षेप संकलन र कर्जा प्रवाहमा मुक्तिनाथ विकास नै अग्रस्थानमा

चालु आवको ६ महिनामा निक्षेप संकलन र कर्जा प्रवाहमा पनि मुक्तिनाथ विकास बैंक पहिलो स्थानमा देखिएको छ । सो अवधिमा बैंकले १ खर्ब ९ अर्ब ३१ करोड ४९ लाख रुपैयाँ निक्षेप संकलन गरि ९२ अर्ब १९ करोड ८६ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

सो अवधिमा गरिमाले ७१ अर्ब ९६ करोड १८ लाख रुपैयाँ निक्षेप संकलन गरि ५९ अर्ब ५८ करोड २४ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

स्रोतः बैंकहरुले प्रकाशित गरेको चालु आवको दोस्रो त्रैमासिक वित्तीय विवरण

महालक्ष्मीको खराब कर्जा सबैभन्दा धेरै, मुक्तिनाथको कम

चालु आवको ६ महिनामा सबैभन्दा धेरै खराब कर्जा महालक्ष्म विकास बैंकको देखिएको छ । सो अवधिमा बैंकको खराब कर्जा ४.५७ प्रतिशत पुगेको छ । गत वर्षको सोही अवधिमा भने बैंकको यो कर्जा २.८९ प्रतिशत रहेको थियो ।

दोस्रो त्रैमासिक वित्तीय रिपोर्टको आधारमा सबैभन्दा कम खराब कर्जा मुक्तिनाथ विकास बैंकको देखिएको छ । सो अवधिमा बैंकसंग ०.९८ प्रतिशत मात्रै यस्तो कर्जा रहेको छ ।

स्रोतः बैंकहरुले प्रकाशित गरेको चालु आवको दोस्रो त्रैमासिक वित्तीय विवरण


प्रतिक्रिया दिनुहोस्