सफा हिमाल अभियान २०२३ सफलता पूर्वक सम्पन्न « Arthapath.com
२३ जेष्ठ २०८०, मंगलवार

सफा हिमाल अभियान २०२३ सफलता पूर्वक सम्पन्न



काठमाडौं । नेपाली सेनाको नेतृत्वमा विभिन्न सरकारी संस्था र दातृ संस्थाको सहकार्यमा सञ्चालित सफा हिमाल अभियान २०२३ को चौथो संस्करणले उल्लेखनीय सफलता हासिल गरेको छ । विश्व वातावरण दिवसको अवसरमा जुन ५ मा होटल हायात प्लेसमा एक समापन कार्यक्रम आयोजना गरेर उक्त अभियान सफलता पूर्वक सम्पन्न भएको जानकारी दिइएको हो ।

कार्यक्रममा नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्मा लगायत अभियानमा संलग्न अन्य साझेदार निकायहरू र सरकारी अधिकारीहरू तथा मुख्य सरोकारवालाहरू सहभागी रहेको थियो । चार मुख्य हिमालहरु सगरमाथा, ल्होत्से, अन्नपूर्ण र बरूणत्से सरसफाई गर्ने उद्देश्यका साथ यो अभियान २८ मार्चमा सुरु भएको थियो । अत्यधिक उचाइमा रहेका यी हिमालहरुबाट फोहोर संकलन गर्ने जोखिमपूर्ण यात्रामा नेपाल आर्मीका सदस्यहरु र शेर्पाहरु गरी ९७ जना सहभागी रहेका थिए ।

टिमको अथक प्रयासले ३५,७०८ किलोग्राम फोहोर सङ्कलन गर्न सफल भएको थियो । यसरी संकलन गरिएका फोहोरहरु काठमाडौं पठाई पूर्ण रुपमा छुट्ट्याएर रिसाइकल पार्टनर क्रिएसनलाई हस्तान्तरण गर्ने कम्पनीले बताएको छ । जसले ती फोहोरहरुलाई पुन छुट्ट्याएर रिसाइकल अथवा उचित रुपमा व्यवस्थापन गर्नेछ ।

सफा हिमाल अभियान २०२३ का निर्देशक ब्रिगेडियर जनरल सुन्दरकुमार पाण्डेले भने, “यी चार मुख्य हिमालहरुबाट ३५ हजार ७०८ किलोग्राम फोहोर संकलन गर्न सफल भएकोमा हामीलाई गर्व लागेको छ ।” प्रतिकूल मौसम र अत्यधिक उचाइका कारण यात्रा अवश्य चुनौतीपूर्ण र जोखिमपूर्ण थियो तर हिमालहरु सफा राख्ने यो अभियान सफलतापुर्वक सम्पन्न हुनुलाई हामीले गर्वको रुपमा लिनुपर्छ ।

कोका–कोला फाउन्डेसनका अध्यक्ष सादिया माड्सब्जर्गले सफा हिमाल अभियानसँगको साझेदारीलाई जोड दिँदै भने , “कोका–कोला फाउन्डेसनको सफा हिमाल अभियानसँगको सहकार्यले वातावरणलाई फोहोर–मुक्त बनाउने हाम्रो दृढ प्रतिबद्धतालाई थप सार्थक बनाएको छ । हिमालहरु प्राकृतिक सम्पत्ति हुन् र नेपालीहरुको लागि सांस्कृतिक रुपमा पनि महत्त्व राख्छन् । हामीलाई आशा छ कि यी हिमालहरुको पवित्रता जोगाउन हाम्रो सहयोगले पनि भूमिका खेल्नेछ । यस्ता अभियानहरूले जलवायु परिवर्तन विरुद्ध पहलगर्न नेपाल र विश्वभर नै प्रेरित गर्नेछ भनेर हामी आशा गर्दछौँ ।”

वातावरणीय दिगोपन र सामुदायिक संलग्नता सम्बन्धी परियोजनाहरुको लागि कोका–कोला फाउन्डेसन सधैँ अग्रपंक्तिमा रहेर सहयोग गर्दै आएको छ । जसमध्य सफा हिमाल अभियान पनि एक रहेको कम्पनीले दाबी गरेको छ । नेपाली सेना, सरकारी संस्थाहरु, दातृ संस्थाहरु र संलग्न सम्पूर्णको सामूहिक प्रयासबाट हिमाली क्षेत्रमा फोहोर व्यवस्थापनको महत्वबारे जनचेतना जगाउन यो अभियानले महत्वपूर्ण प्रभाव पारेको छ । सफा हिमाल अभियान २०२३, सहकार्य, धैर्य र वातावरणीय जिम्मेवारीको प्रेरणादायी उदाहरण बन्न पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्