ओमानले दियो नेपाललाई १४६ रनको लक्ष्य

काठमाडौँ । आइसिसी टी–२० विश्वकप एसिया छनोटमा नेपाललाई ओमानले १४६ रनको लक्ष्य दिएको छ। समूह ‘ए’ विजेताको टुंगो लाग्ने खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको ओमानले ९ विकेटको क्षतिमा १४५ रन जोडेको हो ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर सुरुमा ब्याटिङ गरेको ओमानले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १४५ रन जोडेको हो । उसका लागि जिसान मक्सुदले ३२ तथा प्रतिक श्रीकान्त अथावले २४ रन जोडे । बलिङतर्फ नेपालका करण केसीले तीन तथा सोमपाल कामी, सन्दीप लामिछानेले समान २ विकेट लिए । भने अभिनाश बोहराले १ विकेट हात पारे ।
यसअघि भएको खेलमा दुवै टोली अपराजित रहँदै समान चार अङ्क जोडेका छन् । तर ओमान नेटरनरेटका आधारमा शीर्षस्थानमा छ भने नेपाल दोस्रो स्थानमा छ ।