१८ माइक्रोफाइनान्सको मुनाफा ऋणात्मक, २१ लघुवित्तको घट्यो, अन्य कुन कति बलियो ? (सूचीसहित) « Arthapath.com
९ मंसिर २०८०, शनिबार

१८ माइक्रोफाइनान्सको मुनाफा ऋणात्मक, २१ लघुवित्तको घट्यो, अन्य कुन कति बलियो ? (सूचीसहित)



काठमाडौँ । खराब कर्जा वृद्धि हुँदा अधिकांश लघुवित्त कम्पनीको मुनाफामा गिरावट आएको छ । लघुवित्तहरुले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको विवरण अनुसार १८ कम्पनीको मुनाफा ऋणात्मक रहेको छ । 

असोज मसान्तसम्मको अवधिमा १८ कम्पनी नोक्सानमा जाँदा २१ कम्पनीको मुनाफा ओरालो लागेको छ । यस अवधिमा १४ कम्पनीको मुनाफामा मात्र सुधार देखिएको हो । 

समीक्षा अवधिमा लघुवित्त कम्पनीहरूको मुनाफा १४.५६ प्रतिशतले घटेर १ अर्ब २० करोड ३२ लाख २२ हजार रुपैयाँमा सिमित भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको मुनाफा १ अर्ब ४० करोड ८३ लाख ७० हजार रुपैयाँ रहेको थियो । 

कम्पनीहरूको मुनाफा घट्नुको अहिलेको मुख्य कारण भनेको नै लघुवित्त सम्बन्धी आन्दोलन रहेको एक सीइओले बताए । उनले भने, ‘बजारमा अहिले सरकार नै नभएको अनुभूति भएको छ । ऋण लिएर दिन्न भन्दै सडकमा आन्दोलन गर्दा समेत सरकार चुप्प बस्नु नै देशमा कानुनी राज्यको आभास नदिनु हो ।’

लघुवित्त सम्बन्धी जनचेतना तथा फैलिएका भ्रम चिर्ने समेत कम्पनीहरू चुकेको उनको तर्क छ । दूर दराजमा गएर वित्तीय साक्षरता दिनमा नियामक निकाय र कम्पनीहरू आफै कम सक्रिय रहेको उनले बताए । 

२१ कम्पनीको मुनाफा घट्यो, १३ कम्पनीको वृद्धि

असोज मसान्तसम्मको विवरण अनुसार सबै भन्दा बढी नाफा साना किसान लघुवित्तको रहेको छ । यस अवधिमा कम्पनीको मुनाफा ३० करोड १४ लाख ८ हजार रुपैयाँ रहेको छ । जुन हालसम्म रिपोर्ट सार्वजनिक गरेका ५३ कम्पनी मध्य कै बढी मुनाफा हो । साना किसानको मुनाफा २९.४८ प्रतिशतले बढेको हो । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको उक्त नाफा २३ करोड २७ लाख ७९ हजार रुपैयाँ रहेको थियो । 

नाफा घटे पनि छिमेक लघुवित्त बढी मुनाफा हुने कम्पनीको दोस्रो नम्बरमा रहेको छ । कम्पनीको मुनाफा ३२.८ प्रतिशतले घटेर २२ करोड ११ लाख ६० हजार रुपैयाँ पुगेको छ । सेयर बजारमा उच्च मूल्य सूची भएका लघुवित्तहरूको मुनाफा घटेको देखिन्छ । 

यता, जीवन विकास लघुवित्तको मुनाफा समेत २१.३६ अङ्कले ओरालो लागेको छ । कम्पनीको मुनाफामा दोहोरो अङ्कको गिरावट देखिए पनि नाफा बढी रहेको लघुवित्तको सूचीमा जीवन विकास तेस्रो नम्बरमा रहेको छ । 

समीक्षा अवधिमा डिप्रोक्स लघुवित्तको मुनाफा १०.९६ प्रतिशतले घटेर ८ करोड ८२ लाख ६५ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको उक्त नाफा ९ करोड ९१ लाख ३० हजार रुपैयाँ रहेको थियो ।

त्यस्तै नाफामा नेशनल लघुवित्त र फर्स्ट माइक्रोफाइनान्सबीच समेत प्रतिस्पर्धा देखिन्छ । दुवै कम्पनीको मुनाफा घटेको छ । नेशनलको ४६.२ प्रतिशतले घटेर ५ करोड ५० लाख ६३ हजार रुपैयाँ र फर्स्ट माइक्रोफाइनान्सको २०.५२ प्रतिशतले घटेर ५ करोड ६ लाख ६३ हजार रुपैयाँ रहेको छ । 

यता, असोज मसान्तसम्ममा सबै भन्दा कम नाफा गर्ने लघुवित्तमा नाडेप लघुवित्त रहेको छ । कम्पनीको मुनाफा ५ लाख १० हजार रुपैयाँ मात्र रहेको छ । जुन गत आर्थिक वर्षको तुलनामा ९५.८३ प्रतिशतले कम रहेको छ । नाफा सर्वाधिक घट्ने कम्पनीमा समेत नाडेप पहिलो हो । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको मुनाफा १ करोड २२ लाख ४६ हजार रुपैयाँ रहेको थियो ।

सर्वाधिक नाफा बढाउने कम्पनीमा सपोर्ट लघुवित्त रहेको छ । कम्पनीको मुनाफा २५९.१ प्रतिशतले बढेर १५ लाख ९८ हजार रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको मुनाफा ४ लाख ४५ हजार रुपैयाँ रहेको थियो ।

१८ कम्पनीको मुनाफा ऋणात्मक, कुनको कति ?

चालु आर्थिक वर्षको तीन महिनामा १८ कम्पनीको मुनाफा ऋणात्मक रहेको छ । ५३ कम्पनीले सार्वजनिक गरेको रिपोर्ट मध्य १८ कम्पनीको मुनाफा नोक्सानमा रहेको छ । 

असोज मसान्तसम्मको अवधिमा सबै भन्दा बढी ऋणात्मक रहेको कम्पनीमा निर्धन उत्थान लघुवित्त रहेको छ । कम्पनी यस अवधिमा १४ करोड ३० लाख १० हजार रुपैयाँ नोक्सानमा रहेको छ । 

त्यस्तै, ऋणात्मक हुने कम्पनीमा फरवार्ड माइक्रोफाइनान्स ११ करोड ९ लाख ८५ हजार रुपैयाँ, मेरो माइक्रोफाइनान्स ६ करोड २५ लाख ४७ हजार रुपैयाँ, एनएमबि लघुवित्त ४ करोड ७३ लाख ४१ हजार रुपैयाँ, किसान लघुवित्त ४ करोड २१ लाख १९ हजार रुपैयाँ रहेको छ । 


प्रतिक्रिया दिनुहोस्