बैंकहरुको नाफा र वितरणयोग्य नाफामा ३८ अर्बको अन्तर: सेयर होल्डरलाई किन हुँदैन लाभांश ? « Arthapath.com
२१ माघ २०८०, आईतवार

बैंकहरुको नाफा र वितरणयोग्य नाफामा ३८ अर्बको अन्तर: सेयर होल्डरलाई किन हुँदैन लाभांश ?



काठमाडौं । गत वर्ष वाणिज्य बैंकहरुले ७० अर्बभन्दा बढी खुद नाफा कमाएका छन् । संचालनमा रहेका २० वटा वाणिज्य बैंकहरुले सार्वजनिक गरेको गत आव २०७९/८० को चौंथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

रिपोर्ट अनुसार बैंकले खुद नाफा ७० अर्ब १७ करोड ५५ लाख ९५ हजार रहेको छ, जुन अघिल्लो आव २०७८/७९ को तुलनामा झण्डै २५ प्रतिशत बढी हो । अघिल्लो आवमा बैंकहरुले ५६ अर्ब १७ करोड २३ लाख ७५ हजार खुद नाफा कमाएका थिए ।

गत आवमा बैंकहरुको खुद नाफा नै उच्च दरमा बढेको छ । तर, वितरणयोग्य नाफा भने त्यसको आधा भन्दा पनि कम छ । बैंकहरुले हालै सार्वजनिक गरेको गत आवको अपरिष्कृत वित्तिय विवरणअनुसार वितरणयोग्य नाफा भने ३१ अर्ब ९० करोड ३१ लाख रुपैयाँ मात्रै छ ।

सामान्यता खुद नाफा नै वितरण योग्य नाफा हुनुपर्ने हो । तर, बैंकहरुको हकमा भने त्यस्ता देखिदैन । पछिल्ला हरेक बर्ष नै खुद नाफा र वितरणयोग्य नाफाबीच ठुलो अन्तर छ । बैंकहरुले नाफा धेरै कमाएता पनि वितरणयोग्य नाफा कम हुदाँ लाभाश समेत न्यून देखिएको छ ।

बिशेषगरि राष्ट्र बैंकले तोकेअनुुसार विभिन्न शिर्षकमा रकम प्रोभिजन गर्नुपर्दा यस्तो समस्या आएको देखिन्छ । बैंकहरुले प्रोभिजन रकम नाफाबाट नै गर्नुपर्छ । त्यसकारण खुद नाफा भन्दा वितरणयोग्य नाफा कम देखिएको हो ।

गत आवको हकमा भने आर्थिक संकटकै कारण पनि वितरणयोग्य नाफा कम भएको देखिन्छ । आर्थिक संकटका कारण गत आवमा बैंकहरुको कर्जा असुल हुन सकेन । त्यसले गर्दा खराव कर्जा अनुपात बढेको छ, फलस्वरुप बैंकहरुले जोखिम व्यवस्थापन (रिक्स प्रोभिजन) तथा लोन लस प्रोभिजनका लागि छुट्टाउने रकम बढेको छ, जुन रकम बैंकहरुले नाफाबाट छुट्टाउनुपर्छ । सोही कारण बैंकहरुको वितरणयोग्य नाफा घटेको छ ।

यस्तै, आर्थिक संकटका कारण ऋणको व्याज असुली हुन सकेको छैन । तर, त्यो बराबरको रकम नाफा नोक्सानी खातामा जोडिएको छ । त्यसले गर्दा नाफा बढेको देखिएको छ । तर, नाफा नोक्सान खातामा जोडिएको तर नउठेको ब्याजको रकमको लागि छुट्टै प्रोभिजन गर्नु परेको छ । साथै, कर्मचारी माथिको दायित्व पनि बढेको छ । त्यसले गर्दा खुद नाफाको तुलनामा वितरणयोग्य नाफा कम भएको हो ।


प्रतिक्रिया दिनुहोस्