सेजन र त्रिविबीच दीर्घकालिन सम्झौता, आर्थिक अनुसन्धान र नीति बहसमा सहकार्य हुने « Arthapath.com
३० फाल्गुन २०८०, बुधबार

सेजन र त्रिविबीच दीर्घकालिन सम्झौता, आर्थिक अनुसन्धान र नीति बहसमा सहकार्य हुने



काठमाडौं । त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रीय विभाग र नेपाल आर्थिक पत्रकार समाज (सेजन) बीच द्विपक्षीय सहकार्यसम्बन्धी सम्झौता भएको छ । अर्थशास्त्र केन्द्रीय विभाग प्रमुख प्रा.डा. शिवराज अधिकारी र सेजन अध्यक्ष सुजन ओलीले बुधबार एक कार्यक्रमबीच सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार अर्थतन्त्रसँग जोडिएका विभिन्न विषयमा संयुक्त रुपमा अध्ययन एवम् अनुसन्धान, सिकाई कार्यक्रम सञ्चालन, ज्ञानको आदान–प्रदान (नलेज एक्सचेञ्ज) का लागि दुई संस्थाले सहकार्य गर्नेछन् ।

त्यसैगरी बौद्धिक, प्राज्ञिक एवम् अनुसन्धानात्मक कार्यमा सहकार्यका साथै ‘तथ्यमा आधारित नीति निर्माण’का लागि पहलकदमी गर्ने सम्झौतामा उल्लेख छ । यससम्बन्धि नीतिगत सुझावहरु तयार पारेर सम्बन्धित पक्षलाई दिने पनि सम्झौतापत्रमा उल्लेख छ । यसका साथै विभागले गरेका अध्ययन अनुसन्धानका नतिजाको तथ्यपरक विश्लेषणसहित नीति निर्माता र सर्वसाधारणसम्म पुर्याउन सेजनले भूमिका खेल्ने छ ।

आर्थिक पत्रकारको सीप तथा क्षमता अभिवृद्धिका लागि तालिम, अनुसन्धानलगायतका कार्यमा विभागले समन्वय, सहकार्य एवम् सहयोग गर्नेछ ।

सम्झौतापत्रमा हस्ताक्षरपछि विभाग प्रमुख अधिकारीले अर्थतन्त्रका विविध आयामसँग जोडिएका विषयमा तथ्यपरक अनुसन्धान, तटस्थ विश्लेषण र त्यसको नतिजामुखी प्रयोगका लागि दुई संस्थाबीच सहकार्य गर्न लागिएको बताए । तथ्यमा आधारित र कार्यान्वयनयोग्य नीति निर्माणका लागि पैरवी गर्ने समान उद्देश्यसाथ विभिन्न क्षेत्रमा अध्ययन अनुसन्धानका लागि दुवै संस्थाले संयुक्त रुपमा भूमिका खेल्ने उनको भनाइ छ ।

आर्थिक विधामा कलम चलाइरहेका सञ्चारकर्मीको क्षमता विकाससँगै विभिन्न अनुसन्धानमा आधारित सूचना तथा तथ्याङ्क प्राप्ति र त्यसको सहि प्रयोगका लागि अर्थशास्त्र केन्द्रीय विभागसँग सहकार्य भएको धारणा सेजन अध्यक्ष ओलीले राखेका छन् ।

सेजनले विभिन्न अध्ययन अनुसन्धानसँगै अर्थतन्त्रसँग जोडिएका सार्वजनिक विषयमा बहस, छलफल, अन्तरक्रिया, ‘नलेज सिरिज’ लगायत कार्यक्रम चलाइरहेको अध्यक्ष ओलीले उल्लेख गरे । उनले विभागसँगको सहकार्यबाट यी क्षेत्रमा थप प्रभावकारी रुपमा काम गर्न सकिने विश्वास व्यक्त गरे ।


प्रतिक्रिया दिनुहोस्