विद्यार्थीलाई आत्मनिर्भर बन्न प्रेरित गर्दै सरकार, सुरु भयो ‘सिक्दै कमाउँदै’ कार्यक्रम
काठमाडौं । सरकारले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई पढाइका साथै उद्यमशीलता सिकाउने योजना अघि सारेको छ । यसका लागि बागमती प्रदेश सरकारले ‘सिक्दै कमाउँदै, कमाउँदै सिक्दै’ कार्यक्रम सञ्चालनमा ल्याएको हो ।
सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीमा उद्यमशीलताको विकास गर्ने सरकारी लक्ष्य छ ।
नेपालमा कयौँ विद्यार्थीहरु आफैँ कमाएर पढ्न रुचाउँछन् । कतिपय विद्यार्थीका लागि गरिबीको कारणबाट पनि आय आर्जनमा संलग्न हुनुपर्ने बाध्यता हुन्छ । यी सबै खाले विद्यार्थीलाई उद्यमशीलता, श्रमप्रतिको सम्मान, स्वावालम्बन, काम गर्ने संस्कृति र व्यावसायिक सीप एवम् सकारात्मक सोच विकासमा मद्दत गर्ने यो कार्यक्रमको उद्देश्य हो ।
विद्यार्थीलाई आत्मनिर्भर बनाउने यो कार्यक्रम प्रदेशको सामाजिक विकास मन्त्रालयले कार्यान्वयनमा ल्याएको हो । यसले विद्यार्थीहरुलाई पाठ्यक्रममा आधारित गुणस्तरीय शिक्षाको सुनिश्चितता गर्दै पढाइलाई निरन्तरता दिन मद्दत गर्ने छ ।
यो कार्यक्रम बागमती प्रदेशका विभिन्न ३० सामुदायिक माध्यमिक विद्यालयमा सञ्चालन हुने छ । प्रदेश सरकारले सबै विद्यालय छनोट गरी बजेटसमेत निकासा गरिसकेको जनाएको छ ।
छानिएका सबै विद्यालयले ६ लाखका दरले पैसा पाउने छन् । यसको आधा रकम अर्थात् ३–३ लाखका दरले सबै विद्यालयलाई पठाइएको शिक्षा विकास निर्देशनालयका सूचना अधिकारी घनश्याम खनालले बताए ।
बाँकी ३ लाख भने कार्यक्रम समन्न भइसकेपछि प्रदेश सरकारले उपलब्ध गराउने सम्झौता भएको छ । खनालका अनुसार अहिले विद्यालयहरुमा कार्यक्रम सञ्चालन रहेको छ । चालु आर्थिक वर्षको अन्त्य (असार)सम्म कार्यक्रमको प्रगति आइसक्ने छ ।
पाठ्यक्रममा आधारित हुनेगरी सिकाइसँगै वस्तु तथा सेवाको उत्पादनमा पनि विद्यार्थीलाई संलग्न गराउँदा उनीहरुमा श्रमप्रतिको सचेतना बढ्ने खनाल बताउँछन् ।
विद्यार्थीबाट उत्पादन भएका खाद्यान्न, तरकारी, फलफूल, लगायतका वस्तुलाई विद्यालयमै दिवा खाजा कार्यक्रमले उपयोग गर्न व्यवस्था मिलाइने छ । बढी भएको वस्तु स्थानीय बजारमा बिक्री वितरण गर्ने योजना छ ।
यसरी विद्यालय भित्रै र बाहिर बजारमा उत्पादन बेचेर कमाएको पैसा विद्यार्थीले आवस्यक शैक्षिक सामग्री खरीदमा प्रयोग गर्न सक्ने छन् ।
जुट्दै विद्यालय
कार्यक्रमका लागि छनौट भएका विद्यालयहरूले धमाधम काम सुरू गरिसकेका छन् । काठमाडौंको दक्षिणकाली नगरपालिकामा अवस्थित श्री सेतीदेवी माविले विद्यालयमा तरकारी खेती गर्दैछ ।
जग्गा लिजमा लिएर विद्यालयले काउली, बन्दागोबी, गोलभेडा, रायो साग लगायत मौसमी तथा बेमौसमी तरकारी खेती गर्न लागिएको विद्यालयका प्रधानाध्यापक रामकुमार बस्नेतले जानकारी दिए ।
विद्यालयस्तरमा यस्तो खालको कार्यक्रम गर्दा विद्यार्थीहरूमा सीप सिक्नुपर्छ, आत्मनिर्भर बन्नुपर्छ भन्ने भावना सानैदेखि जागृत हुने बस्नेतले बताउँछन् ।
रामेछापको श्री भिमेश्वर रुद्र माध्यमिक विद्यालय पनि कुखुरा पालन गर्नका लागि जुटेको छ । भौतिक संरचनाका कामहरू पूरा गरिसकेको विद्यालयले पहिलो चरणमा पाँच सय लोकल कुखुराको चल्ला पाल्ने निर्णय गरेको छ ।
कक्षा ९ देखि १२ सम्मको विद्यार्थीलाई सिकाइ समूह बनाएर पुरानै भौतिक संरचनालाई मर्मत गरी कुखुरा पाल्ने फर्म बनाएको प्रधानाध्यापक देवकुमार श्रेष्ठले जानकारी दिए ।
विद्यालयले कुखुराको चल्ला समेत ल्याइसकेको छ । उक्त कुखुराको रेखदेख शिक्षक र विद्यार्थी नै गर्ने गरेका छन् । सुरुवाती चरणमा पाँच सय कुखुरा राखे पनि पछि एक हजार कुखुरा पाल्ने योजना प्रअ श्रेष्ठले जानकारी दिए ।
कार्यक्रमका लागि छनौटमा परेको रामेछापको महालंगुर मावि पनि अदुवा, लसुन र प्याज लगायतको तरकारी खेती गर्दैछ । पहिलो चरणमा टनेल बनाउने काम सम्पन्न गरिसकेको विद्यालयका प्रधानाध्यापक अमृतबहादुर थापा बताउँछन् ।
विद्यार्थीबाट उत्पादित तरकारी स्थानीय बजारमा बिक्री भए पश्चात शैक्षिक सामग्रीमा खर्च गरिने उनको भनाइ छ । यस्तो खालको कार्यक्रमले विद्यार्थीमा सीप सिकाइ बढ्ने उनले बताए ।
विद्यालयले कक्षा ७ देखि १० सम्मका विद्यार्थीलाई सीप सिकाउनेछ । यसले विद्यार्थीलाई आत्मनिर्भर बनाउनेमा विद्यालय विश्वस्त छ ।
बागमती प्रदेशले छनोट गरेको ३० विद्यालय मध्येको अर्को एक विद्यालय हो, श्री भुमेदेवी मावि । नुवाकोटको म्यागङ गाउँपालिकामा रहेको उक्त विद्यालयले ३० रोपनी जग्गा भाडामा लिएर अदुवा खेती गर्दैछ ।
उत्पादन पनि राम्रो हुने र कमाइ पनि हुने भएपछि अदुवा खेती र गाई पालन गर्न लागिएको विद्यालयका प्रअ नरेन्द्रमान तामाङले जानकारी दिए । अदुवा खेतीको विद्यार्थीहरूको सहभागितामा प्रारम्भिक चरणका कामहरू सम्पन्न भइसकेको छ ।
यस्ता कार्यक्रमले विद्यार्थीलाई सैद्धान्तिकभन्दा व्यवहारिक ज्ञान दिने प्रअ तामाङको विश्वास छ । उनी भन्छन्, ‘विद्यार्थीमा आत्मविश्वास मात्र होइन, पढेको कुरालाई व्यवहारमा उतार्नु पर्छ भने ज्ञान पनि बढेको छ ।’
यो विद्यालयले पनि फागुन १० गते प्रदेश सरकारसँग सम्झौता गरेर काम सुरू गरेको हो । विद्यालयहरूले अभिभावकको अनुमतिमा नै यस्ता कार्यक्रम सञ्चालन गरिरहेको छ ।
आम्दानी स्रोत बन्दै
उक्त कार्यक्रम विद्यार्थीलाई आम्दानी गर्ने माध्यम बनेको छ । विद्यार्थीले उत्पादन गरेका खाद्यान्न, तरकारी, फलफूल, मासुजन्य पदार्थ र अन्य वस्तु तथा सेवालाई दिवा खाजाका लागि विद्यालहरूले नै किनिदिने भएका छन् ।
बाँकी उत्पादन पनि स्थानीय बजारमा बिक्री वितरण हुन थालेपछि त्यसबाट नियमित रूपमा विद्यार्थीले आम्दानी लिन सक्नेछन् ।
कार्यक्रमले तरकारी तथा फलफूल खेती, एलईडी बल्ब उत्पादन, कृषि तथा पशुपालन, इलेक्ट्रिकल तालिम, मौरीपालन, सिलाइ बुनाई लगायतका विषयमा सीप सिकाएर विद्यार्थीलाई सानैदेखि स्वरोजगार बन्न प्रेरित गर्ने सरकारी योजना छ ।
अहिले नमुनाका रूपमा भएको कार्यक्रमलाई सबै विद्यालयसम्म पु–याउन सकेमा विद्यालय नै रोजगारी सिर्जना गर्ने थलोका रूपमा विकास हुने शिक्षक बताउँछन् ।
विद्यालयले आर्थिक उपार्जनका लागि सानैदेखि प्रेणित गर्दा अभिभावक समेत दंग छन् । पढाइसँगै काममा पनि समय दिन पाएकोमा विद्यार्थीमा समेत ऊर्जा थपिएको छनोटमा परेका विद्यालयको दाबी छ ।यसबाट आम्दानीसँगै धेरै कुरा सिक्ने अवसर पनि मिल्ने विद्यार्थीहरू बताउँछन् ।
शिक्षालाई सिपसँग, सिपलाई श्रमसँग, श्रमलाई उत्पादनसँग र उत्पादनलाई बजारसँग जोडी भविष्यमा उद्यमी, व्यावसायिक, सीपयुक्त एवं स्वावालम्बी नागरिक उत्पादन गर्ने उद्देश्यका साथ यो कार्यक्रम अघि सारिएको हो ।
शिक्षा विकास निर्देशनालयका निर्देशक दिपेन्द्र सुवेदीले यस कार्यक्रम मार्फत् विद्यार्थीमा उत्साह थपिएको र आगामी दिनमा यस कार्यक्रमलाई अझ धेरै ठाउँमा पुग्ने गरी सञ्चालन गरिने बताए ।