साहित्यकार श्रीहरि फूयाँल महाकवि देवकोटा पुरस्कार – २०८० बाट सम्मानित

काठमाडौं । वरिष्ठ साहित्यकार श्रीहरि फूयाँल महाकवि देवकोटा पुरस्कार-२०८० बाट सम्मानित भएका छन् । नेपाली साहित्यमा अमूल्य योगदान पुर्याएको भन्दै उनलाई एक लाख रुपैयाँ राशी बराबरको महाकवि देवकोटा पुरस्कारबाट सरकारले सम्मानित गरेको हो ।
‘अदृश्य घाऊ’ कवितासंग्रहबाट उनलाई सम्मानित गरिएको हो । नुवाकोटको ककनी गाउँपालिका ककनी वडा नं. १, जलुकिनी गाउँ, ओखरपौवामा जन्मिएका फूयाँल बाल्यकालदेखि नै साहित्य क्षेत्रमा सक्रिय छन् ।
फूयाँलले कविता हुँदै आफ्नो साहित्यिक यात्रालाई निरन्तर अगाडि बढाउने क्रममा २ दर्जन पुस्तक प्रकाशित गरिसकेका छन् । फूयाँल १० वर्षको उमेरदेखि नै साहित्यक यात्रा प्रारम्भ गरेका थिए । २०२४ मंसिरमा आमा नामक कविता लेखेर साहित्य यात्रा प्रारम्भ गरेका फूयाँल विद्यालयमा गरिने प्रतियोगात्मक कार्यक्रममा समेत सक्रिय थिए ।
वि.स २०२९ असोजमा ‘नयाँ युग’ नामक साप्ताहिक पत्रिकामा प्रकाशित किसान नामक फुटकर कविता नै फूयाँलको पहिलो प्रकाशित रचना हो । त्यसपछि २०३२ मा आफ्नो दोस्रो कृति आत्मज्वाला नामक लघुकाव्य बजारमा ल्याए । त्यसयता उनले थुप्रै कविता, महाकाव्य, उपन्यास खण्डकाव्य, मुक्तक, हाइकु, निबन्ध लगायत सग्रह बजारमा ल्याइसकेका छन् ।
‘भूल कि फूल?’ उपन्यास ‘आँसुको सङ्गाम’ महाकाव्य, ‘आमाको सम्झना’ शोककाव्य, अन्तरका सुसेलीहरू कवितासङ्ग्रह, भावनाका भुल्का मुक्तकसङ्ग्रह, ‘अमर सहीदः राजन रायमाझी’ खण्डकाव्य, ‘मनका छाल’ हाइकुसङ्ग्रह, ‘अदृश्य घाउ’ कवितासङ्ग्रह लगायत चर्चित कृतिहरू बजारमा ल्याएका छन् ।
उनी समालोचना लेखनमा पनि उत्तिकै सक्रिय छन् । नेपाली दुःखान्त गीतिकाव्यको विवेचना र अध्ययन र अनुभूति उनका समालोचना सङ्ग्रह हुन् ।
त्रिभुवन विश्वविद्यालय एम.ए., बि.एड्. (नेपाली) अध्ययन गरेका फुयाँलले नेपाल सरकारको राजपत्राङ्कित तृतीय श्रेणीको अधिकृतबाट अवकास प्राप्त गरिसकेका छन् ।
दाजु बलराम प्रसाद फूयाँलले सुनाउने गरेका भीमनिधि तिवारीको ‘कमयो लुग्लुग त्यो’ नामक कविता, महाकवि लक्ष्मीप्रसाद देवकोटाको ‘मुनामदन’ र गुरूप्रसाद मैनालीको ‘नासो’ कथासङ्ग्रहमा संग्रहित कथाहरूले नै उनलाई साहित्यमा लाग्न प्रेरणा मिलेको उनी बताउँछन् ।
नेपाली साहित्यमा अमूल्य योगदान पुर्याएका फूयाँलले विभिन्न सम्मान/पुरस्कार प्राप्त गरिसकेका छन् । ‘उपत्यकाव्यापी क्याम्पसस्तरीय प्रतियोगितात्मक कविगोष्ठीमा प्रथम पुरस्कार’ (२०३६) नै फुयाँलले प्राप्त गरेको पहिलो पुरस्कार थियो । त्यसयता युवावर्ष मोती पुरस्कार (२०५३), नागार्जुन साहित्यिक प्रतिष्ठानद्वारा वार्षिक उत्कृष्ठ रचना पुरस्कार (२०६०), तन्नेरी प्रतिभा सम्मान’ तथा अभिनन्दन (२०६१), युगान्तर साहित्यिक पुरस्कार (२०६१), राष्ट्रिय प्रतिभा साहित्य सम्मान (२०६७), आयोजित साहित्य सम्मान (२०६७), तोयानाथ पाण्डेय पशुपतिकुमारी साहित्य पुरस्कार’ (२०६९), बोधनाथ स्मृति प्रतिष्ठान द्वारा समाजसेवा सम्मान (२०७०) र त्रिमूर्ति निकेतन द्वारा कवि शिरोमणी “लेखनाथ काव्य पुरस्कार” (२०७०) मार्फत फूयाँल सम्मानित भएका छन् ।
त्यसैगरी, ‘श्री दोभान पुस्तकालय’ बाट ‘साहित्य-सम्मान’ (२०७४), ‘हरि सांकृतिक केन्द्र, गोरखाबाट सम्मान-पत्र’ (२०७५), ‘नेपालश्री पुरस्कार कोष’ कास्की पोखराबाट ‘सम्मान-पत्र’ (२०७५),
मञ्जुश्री साहित्य समाजबाट सम्मान-पत्र (२०७६), हरिभक्त – मीना सिग्देल साहित्य सम्मान तथा पुरस्कार (२०७६), त्रिशूली वाड्मय प्रतिष्ठानबाट कदरपत्र (२०७७), कौशला लामिछाने स्मृति कोष (साहित्य सम्मान २०७७) कविशिरोमणि राजविलोचन जोशी पुरस्कार (२०७९) र नेपाल स्रष्टा समाजद्वारा ‘सुभद्रा-विश्वराज स्रष्टासम्मान (२०७९) बात समेत उनी सम्मानित तथा पुरस्कृत भइसकेका छन् ।