‘बीमा आर्थिक सुरक्षाको बलियो हतियार हो, यसले मानिसको आयु बढाउँछ’ « Arthapath.com
१७ श्रावण २०८१, बिहीबार

‘बीमा आर्थिक सुरक्षाको बलियो हतियार हो, यसले मानिसको आयु बढाउँछ’



काठमडौं । हिमालयन लाइफ साविकको युनियन, प्राइम र गुराँस लाइफ एक आपसमा गाभिएर बनेको कम्पनी हो । यी तीनै वटा कम्पनीले गत बैशाख २६ गतेदेखि एकीकृत कारोबार थालनी गरेका थिए । जीवन बीमा क्षेत्रको बिग मर्जरबाट बनेको चुक्ता पुँजी ८ अर्ब बढी छ । हाल कम्पनीले ५५ अर्ब बढी बीमा शुल्क आर्जन गरेको छ । हाल २५ वटा प्रडक्टहरु छन् । जीवन बीमा बजारमा कम्पनी विश्वसनिय, गुणस्तरीय, प्रवधिमैत्री र ग्राहकमैत्री बनाई आम नागरिकको भरोसायोग्य बनाउने अठोटसहित अघि बढेको छ । सोही सन्दर्भमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मनोज कुमार लाल कर्णसँग कम्पनीको आगामी यात्रा र समग्र बीमा क्षेत्र केन्द्रित रहेर अर्थथपले कुराकानी गरेको छ ।

हिमालयन लाइफसँगै समग्र जीवन बीमा व्यापार कस्तो चल्दैछ ?

सग्रम बीमा व्यापार राम्रो नै छ । केही समय अघिसम्म सुस्ताएको जस्तो देखिए पनि अहिले विस्तारै गति लिएको देखिन्छ । जीवन बीमा व्यवसाय ग्रोथ पनि झन्डै दोहोरो अंकमा छ । ९ प्रतिशत हाराहारीमा बढेको छ । अन्य क्षेत्रको तुलनामा यसलाई राम्रो मान्नुपर्छ ।

अझै पनि आर्थिक शिथिलता कायमै छ, यस्तो अवस्थमा पनि झन्डै दोहोरो अंकको ग्रोथ राम्रै मान्नु पर्यो, यो कसरी सम्भव भयो ?

मैले सबैलाई बारम्बार के भन्छु भन बीमा भनेको प्रत्येक व्यक्तिको लागि अपरिहार्य हो । हरेक नागरिकले बीमा गर्नैपर्छ । आर्थिक सुरक्षा बलियो हतियार नै बीमा हो । बीमा भएन भने आफ्नो र परिवारको आर्थिक सुरक्षा हुँदैन । यदि कसैले बीमा गरेको छैन र भोलि कुनै भवितव्य भएको खण्डमा त्यस मान्छे र उसको परिवार पुरै विचलित हुन्छ, सर्भाइव गर्ने गाह्रो हुन्छ । यस्तो कुरा अहिले सबै मानिसहरुले बुझ्न थालेका छन् । गाउँ–गाउँमा अभिकर्ताहरु गइसकेका छन् । टोल–टोलमा खटिएका ती अभिकर्ताहरुले बीमाको बारेमा जानकारी गराईरहेका छन् । विभिन्न बीमा सचेतना कार्यक्रम पनि भईरहेका छन् । त्यसकै प्रभाव हो । विस्तारै आर्थिक गतिविधि पनि बढ्न थालेको छ। आम मानिसहरु पनि बीमाप्रति आकर्षित भईरहेका छन् । यसको महत्व र आवश्यकता बुझ्दै गएकाले पनि समग्र व्यापार बढ्न पुगेको हो । बीमकहरुले पनि सर्वसाधारणहरु माँझ अन्य खर्चहरुमा बरु कटौति गरि बीमामा प्रेरित हुन आकर्षित गरेका छन् । आफ्ना अतिरिक्त फजुल खर्च कटाएर बीमा गर्ने बानीके विकास गर्न प्रोत्साहित गरेका छन् । ताकि तपाईको भविष्य राम्रो होस्, परिवार पनि सुरक्षित हुन्छन्। बीमाले मानिसको आयु बढाउँछ । यस्ता विभिन्न खालका अभियानले पनि थप टेवा पुगेको छ।

यहाँले भन्नु भयो बीमाले मानिसको आयु बढाउँछ, त्यो कसरी ?

हो, बीमाले मानिसको आयु बढाउँछ । कसरी आयु बढाउँछ भने बीमा गरिएको छ भने तपाईको आत्मविश्वास नै उच्च हुन्छ । आत्मविश्वास उच्च हुँदा हृदयघात हुँदैन, पिर चिन्ता तनाव केही हुँदैन । बीमा छैन भने भोलि के होला, परिवारको आर्थिक सुरक्षा छैन । यस्ता कुरा पिरोलिन्छ, अनि दैनिकी नै तनावपूर्ण हुन्छ । विभिन्न रोगव्यादीहरुले समाउँछ ।

तर, यदि तपाईले बीमा गर्नुभएको छ भने यस्ता कुराहरुबाट मुक्त बनाउँछन् । किनभने मैले बीमा गरेको छु, त्यसैले मेरो घरपरिवार पनि सुरक्षित हुन्छन् । भविष्यका आर्थिक लगायतका जोखिमबाट बीमाले बचाउँछ । बीमा छैन भने प्रेसर बढाउँछ, डाइबेटिज हुन्छ, चिन्ता बढ्दै जाँदा दिमागले पनि काम गर्दैन । त्यसैले बीमा गरियो भने मानिसको आयु बढाउँछ । आम मानिसको बुझाई के छ भने बीमा भने मरेपछि मात्रै पाउने हो । तर, त्यसो होइन । यसले बचाउँछ, आफू जबसम्म बाँचिन्छ। बीमाबाट आएको रकम आफ्नो रिटायर लाइफ पनि स्मुथ्ली चल्छ । र, आफ्नो लिभिङ स्ट्यान्डर्ड बरकरार रहन्छ ।

अब कम्पनी केन्द्रित कुरा गरौं, हिमालयन लाइफ तीन वटा कम्पनी मिलेर बनेको हो । तर, व्यवसायको आधारमा भने चौंथो सूचीमा छ । चुक्ता पुँजीको आधारमा कम्पनीको प्रोफिट ग्रोथ देखिएन नि, होइन ?

हामी तीन वटा कम्पनीहरु मर्ज हुँदा आ–आफ्नो जति बिजनेस थियो, त्यसको १२ प्रतिशत ग्रोथ गरेका छौं । सिंगो बीमा क्षेत्रको समग्रमा ९ प्रतिशत हाराहारीमा मात्रै ग्रोथ छ । तर, हिमालयन लाइफको मात्रै १२ प्रतिशत छ । अर्को कुरा हामीले सिंगल प्रिमियम हामीले एकदमै कम बेचेका छौं । यत्रो ठुलो २ अर्ब ५७ करोडमा १५ करोड मात्रै सिंगल प्रिमियम बेचेका छौं । बीमा बजारमा अहिले ७ अर्ब बढी सिंगल प्रिमियम बिक्री भएको छ। त्यसमा हिमालयन लाइफको मात्रै १५ करोड छ । त्यसैले हाम्रो ग्रोथ (प्रसेन्टेज) कम छन् । तर, यस्तो अवस्थामा पनि हाम्रो पोजिशन धेरै राम्रो हो । यद्यपि, हामीलाई पोजिन (पहिलो, दोस्रो)सँग कुनै चासो छैन । तर, मलाई के छ भने कम्पनीको स्टाटस राम्रो होस्, फाउन्डेसन स्ट्रोङ होस भन्ने नै हो । त्यो हिसावले नै मैले काम गरिरहेको छु । हाम्रो सिंगो टिमनै यसरी लागिराखेका छौं ।

सिंगल प्रिमियम प्रसंग आइहाल्यो, तपाईहरले पनि धेरै गर्नु भएको थियो । यसले कम्पनीमा कस्तो जोखिम निम्त्याउँछ ?

सिंगल प्रिमियम बीमाले जोखिम त गर्छ नै । कम्पनीलाई ठुलै घाटा हुनछ । इन्सेन्टिभ र कमिसन पनि दिने त्यसपछि तीन वर्षपछि सरेन्डर हुन्छ । यसले कम्पनीलाई त धेरै ठुलो घाटा छ । आजको दिनमा ब्याजदर ५ प्रतिशतमा आइपुगेको छ । तर, त्यो भन्दा धेरै खर्च भइसकेको हुन्छ । यसले कम्पनीलाई ठुलो दबाब पर्छ । त्यसैले हामीले सिंगल प्रिमियम चाँहि डिसकरेज गरेका छौं । त्यसमा अहिले ध्यान दिएका छैनौं ।

कम्पनी मर्ज भएपछि लाभांश बाँड्नु भएको छैन, सेयरधनीहरुको त दुई वर्षदेखि हात रित्तो भयो नि ?

त्यसो होइन नि । गत वर्ष हामी मर्ज भएको एक वर्ष भएको थियो । त्यो वर्ष हामीले दिन मिल्दैन्थ्यो । तत्कालिन युनियन लाइफले पनि सेयरधनीहरुलाई ९ प्रतिशत लाभांश दिएको छ । प्राइम र गुराँस लाइफले पनि १२ प्रतिशत हाराहारीमै लाभांश दिएका छन् । लाभांश त दिएकै हो । तर, तीन कम्पनी मर्जभएपछि कम्पनीसँगै सेयरहोल्डरपनि एक भएका छन् । प्रोफिट त अलग–अलग बाँडन मिल्दैनन् नि । हिमालयन लाइफ गत वर्ष बैशाख २६ गते तीन वटा कम्पनीले मिलेर बनेको हो । गत साल बैशाख २५ गतेसम्मको भ्यालुएसन र ब्यालेन्सिट त अलग–अलग बनाउन पर्यो, त्यसमा प्राविधिक समस्या पनि भयो । तर, दुई वर्ष होइन एक वर्ष मात्रै नदिएको हो । त्यसपछि गत सालको भ्यालुएसन भएपछि त हामीले दिइहाल्छौं नि ।

त्यसो भए अब सेयरधनीलाई मख्ख पार्ने गरि कतिसम्म दिन सक्नुहुन्छ ?

कतिसम्म दिने भन्ने अहिले कसरी थाहा हुन्छ । त्यो म भन्न सक्दिन । तर, लाभांश दिने नै हो । भ्यालुएसन सकेर हाम्रो ब्यालेन्सिट बन्छ । यसका लागि हामीले तिव्रगतिमा काम गरिरहेका छौं । चाँडै नै भ्यालुएसन भएर आउँछ, त्यसपछि हामीले नियामक निकायम नेपाल बीमा प्राधिकरणमा पठाउँछौं । प्राधिकरणबाट स्वीकृत हुने दिन्छौं । कति दिने भन्ने अहिले नै फिक्स हुँदैन ।

अब हिमालयन लाइफसँगै समग्र बीमा कम्पनीहरुको वार्षिक वित्तीय विवरण कस्तो आउँदैछ ?

हाम्रो कम्पनीको कस्तो वित्तीय विवरण आउँछ भन्ने अहिले नै भन्न मिल्दैन । समग्रमा राम्रै आउँछ । भ्यालुएसन भएर बीमा प्राधिकरण पठाउन पर्यो, त्यसपछि हाम्रो बोर्डमा जान्छ । त्यसपछि के गर्ने–नगर्ने त्यसपछि निर्णय हुन्छ । अहिले नै सबै थाहा हुँदैन ।

अर्को प्रसंग, अघिल्लो साता मात्रै नेपाल राष्ट्र बैंकले मौद्रिक नीति मार्फत सेयर कर्जाको २० करोडको सीमा खारेज गरेको छ, सेयर बजारमा लगानी बढाउन कम्पनीलाई सघाउँछ, यो सम्भव छ ?

सेयर बजारमा लगानी बढाउन बीमा कम्पनीलाई समस्या थिएन् । हाम्रो नियामक निकाय बीमा प्राधिकरणले हामीलाई १० प्रतिशतसम्म लगानी गर्न पाउने व्यवस्था गरिदिएको छ। मौद्रिक नीति मार्फत खारेज गरिएको त्यो व्यवस्थाले बीमा क्षेत्रलाई कुनै प्रभाव पारेको छैन । २० करोडको सीमा खारेजले कुनै असर गरेको छैन । हामी प्राधिकरण दिएको गाइड लाइनकै आधार लगानी गर्छौ।

मर्जपछि पुराना र अनुभवी कर्मचारीहरुले कम्पनी छोडेर गए भन्ने छ । यसले कम्पनीलाई ठुलो घाटा भयो नि होइन ?

त्यसरी कुनै पनि कर्मचारीले कम्पनी छोडेका छैनन् । तपाईले भने जस्तो अनुभवी कर्मचारी हामीसँगै हुनुहुन्छ । बरु हामीले स्वैच्छिक अवका योजना (भिआरएस) सुविधा दिएका थियौं । सोही अनुसार १५५ जनाले भिआरएस लिनु भो, जानु भो ।

अहिले हामीसँग प्रत्येक विभागमा अनुभवी र दक्ष कर्मचारीहरु छन्, ब्रान्च म्यानेजरहरु छन् । अहिले बजारमा १४ वटा जीवन बीमा कम्पनीहरु छन् । कहिले कुनमा कहिले कुनमा जाने त स्वभाविक हो । आफ्नो वृद्धि विकासका लागि जानु त राम्रो हो । तर, बीमा क्षेत्रमै छन् नि । मेरो आफ्नो पनि हिमालयन लाइफ सातौं कम्पनी हो । मैले पनि कम्पनी परिवर्तन नगरेको भए, आज यति ठुलो कम्पनीको सिइओ बन्ने थिएन होला त ?

सर्वसाधारण नागरिकले बीमा गर्नका लागि कुन कम्पनी अथवा कस्ता प्रडक्ट रोज्ने ? तपाईहरुसँग कस्ता योजनाहरु छन् ?

बीमा गर्दा सबैभन्दा पहिले त हेर्ने भनेकै प्रडक्ट हो । बीमित आफूले कुन प्रडक्ट खरिद गर्दा राम्रो हुन्छ, त्यसमा कुन कम्पनीको राम्रो छ, ग्राहकले त्यो हेर्ने हो । आफ्नो भविष्य सुरक्षित गर्न कुन प्रडक्ट खरिद गर्दा उचित हुन्छ, त्यो हेरेर बुझेर मात्रै लिन पर्छ ।
अर्को कुरा बीमितहरुले आफ्नो अवस्था हेरेर आवश्यकताका आधारमा बीमा गराउनुपर्छ । आफूले धान्न सक्नेगरि आर्थिक स्थिति मूल्याङ्कन गरेर मात्र बीमा गर्नुपर्छ । धेरै कम पनि गर्नु हुँदैन, बढी पनि गर्नु भएन् । पहिलो कुरो त आफ्नो भविष्य कति र कसरी सुरक्षित हुन सक्छ भन्ने आँकलन चाँहि गर्नै पर्छ । हामीले पनि आम मानिसको आ–आफ्नै हैसियत अनुसार बीमा गर्न सक्ने प्रडक्टहरु नै ल्याएका छौं ।

पछिल्लो समय अवधि नपुगेर पोलिसी त्याग गर्ने प्रचलन पनि एकदमै बढी रहेको छ । सरेन्डर दर बढ्नुको कारण र यसलाई कसरी नियन्त्रण गर्ने ?

पहिले–पहिले बैंकहरु मार्फत बीमा भएका थिए । त्यसमै अधिकतम सरेन्डर भएको छ । किनकि त्यती बेला ऋण लिनेहरुले बीमा गर्नुभयो । पछि विभिन्न कारण ऋण तिर्न पनि गाह्रो भो । निरन्तरता दिन नसकेपछि सरेन्डर गरेका हुन् । त्यसका केसहरु भईरहेको छ । कतिपय अभिकर्ताले कमिशनको लोभमा बीमा गराउँदा पनि यस्तो दर बढेको हुन सक्छ । तर, बीमा योजनाको बारेमा राम्रोसंग बुझेर/बुझाएर आफ्नो आवश्यकता अनुसार बीमालेख खरिद/बिक्री गर्ने प्रचलन बढाउनपर्छ । बीमितले आफूलाई सुहाउँदो र आवश्यकता पहिचाहन गरि पोलिसी खरिद गर्नुपर्छ ।

बीमा योजनाको बारेमा बीमितलाई राम्रोसँग बुझाउने, पैसा समयै तिर्ने बानीको विकास गराउन नियमित कम्युनिकेशन गर्ने, सरेन्डर गराउँदाकको घाटाका पक्षहरुको बारेमा जानकारी दिने जस्ता अभियान नै चलाउनुपर्छ । बीमा भनेको सबैभन्दा ठुलो सम्पत्ति हो । अहिले ठुलो संख्यामा अभिकर्ताहरु गाउँ–गाउँमा पुगेर बीमा सचेतनामूलक कार्यक्रम अभियान नै चलाईरहेका छन् । यसले आगामी दिनमा सरेन्डर दर घटाउने छ । बीमकको तर्फबाट पनि सरेन्डर दर नियन्त्रणका लागि निकै प्रयासहरु भइरहेका छन् । नियामक निकायले पनि उत्तिकै जोड दिएको छ ।

बीमा एउटा विश्वासको व्यापार पनि हो, कम्पनीहरुबीच एकआपसमा आ–आफ्नै प्रतिस्पर्धा पनि हुन्छ । अब हिमालयन लाइफलाई बीमितमै र उत्कृष्ट बीमा कम्पनी बनाउन के कस्तो रणनीति लिनुभएको छ ?

जीवन बीमा क्षेत्रमा पहिलो कुरो त प्रस्तिपर्धा नै छैन । आम सर्वसाधारणले आफ्नो आवश्यकता र अवस्था हेरेर पोलिसी लिने हो । जुन पोलिसी लिने हो, त्यो लिइसकेको हुन्छ । त्यो चाहेर पनि अरुलाई दिन सकिँदैन । मानिसले आफ्नो आवश्यकताका आधारमा पोलिसी खरिद गर्ने भएकाले जीवन बीमा कुनै प्रतिस्पर्धा छैन ।

व्यवसायका लागि कम्पनीहरुले आ–आफ्नै रणनीति बनाएर अघि बढेका छन् । हाम्रो पनि त्यसरी नै अघि बढेको छ । समग्रमा बिजेनश ग्रोथ राम्रै छ । आगामी दिनमा अझ सुधार ल्याउने गरि हाम्रो सिंगो टिम अघि बढेको छ । मर्जरको खास सिनर्जी देखिने गरि बीमितमैत्री सेवामा तत्पर रहनेछौं ।अगामी दिनमा हाम्रा सेवा सुविधाहरुलाई अझ विश्वसनिय, गुणस्तरीय, अत्याधुनिक, प्रवधिमैत्री र ग्राहकमैत्री बनाई आम नागरिकको भरोसायोग्य कम्पनी बनाउने अठोटसहित काम गर्नेछौं ।


प्रतिक्रिया दिनुहोस्