भारतमा आर्थिक उदारिकरणका प्रणेता सिंहको मृत्यु
काठमाडौँ । छिमेकी भारतमा आर्थिक उदारिकरण र विश्वब्यापीकरणको जग बसालेका पूर्व प्रधानमन्त्री डा. मनमोहन सिंहको निधन भएको छ । उनलाई बिहीबार साँझ करीब ८ बजे दिल्लीको अखिल भारतीय आयुर्विज्ञान संस्थानको आकष्मिक उपचार कक्षमा भर्ना गरिएको थियो ।
लामो समयदेखि स्वास्थ्य समस्यासँग जुधिरहेका सिंहको ९२ वर्षको उमेरमा निधन भएको हो । सन् १९३२ सेप्टेम्बर २६ मा वर्तमान पाकिस्तानको रावलपिण्डीदेखि दक्षिणको पञ्जावी गाउँ ‘गाह’मा उनको जन्म भएको थियो । उनी भारतका दुई पल्ट प्रधानमन्त्री बने भने वित्त मन्त्री र केन्द्रिय बैंकका गभर्नर बनेका थिए ।
सिंह लामो समयदेखि स्वास्थ्य समस्यासँग जुधिरहेका थिए । उनी कयौँ पल्ट स्वास्थ्य समस्याका कारणले अस्पताल भर्ति हुँदै निस्कँदै गरेका थिए । बिहीबार डा. सिंहको निधनको खबर सार्वजनिक भएपछि पूरै देशमा शोकको लहर देखिएको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।
स्थानीय सञ्चार माध्यमका अनुसार सन् २००६ मा सिंहले दोस्रो पल्ट ‘बाईपास सर्जरी’ गराएका थिए । त्यस बेलादेखि नै उनी निकै अस्वस्थ रहँदै आएका थिए । बिहीवार पनि उनलाई स्वास–प्रस्वासमा समस्या भएपछि अस्पताल लगिएको थियो ।
डा. सिंह यसअघि राजीव गांधी नेतृत्वको सरकारका बेला सन् १९८५ देखि १९८७ सम्म भारतीय योजना आयोगका प्रमुख थिए । उनले संयुक्त राष्ट्रका एजेन्सीहरुमा पनि काम गरेका थिए । सन् १९८२ देखि १९८५ सम्म उनी भारतीय रिजर्व बैंक (आरबीआई) का गभर्नर रहेका थिए । यस बखत उनले बैंकिंग क्षेत्रमा कयौँ सुधार गरेका थिए।
डा. सिंह भारत के पूर्व प्रधानमन्त्रीमात्रै होइन, प्रसिद्ध अर्थशास्त्री पनि थिए । उनले सन् १९९१ मा देशको आर्थिक सुधार गर्नमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । त्यसबेला विदेशि मुद्राको संकट भोगेको भारतले आफूसँग भएको भौतिक सुन धितो राखेर पश्चिमा मुलुकसँग ऋण लिनु परेको थियो ।
त्यस बखत सिंह वित्तमन्त्री थिए । उनले अर्थतन्त्रको आमूल एवम् संरचनागत परिवर्तन गर्ने खाका अघि सारे । उनकै योजना अनुसार भारतीय अर्थतन्त्रमा उदारीकरण, निजीकरण एवम् वैश्वीकरणका नीतिहरु अघि सारिएको थियो । यसपश्चात् भारतीय अर्थव्यवस्थाले नयाँ दिशा हासिल गरेको छ ।
यस योगदानका लागि उनले कयौँ प्रतिष्ठित पुरस्कारहरु पनि प्राप्त गरेका थिए, जसमध्ये भारतको प्रसिद्ध पादक पद्मभूषण पनि छ ।
उनले देशको अर्थव्यवस्था पहिलो पल्ट वैश्विक बाजारका लागि खोलिदिएका थिए । यसबाट भारतमा निजी क्षेत्रलाई विकास र विस्तार हुने मौका जुरेको थियो । उनैको नीतिले भारतमा विदेशी लगानी आकर्षित भयो र त्यहाँको अर्थव्यवस्था तीव्र दरमा उकासिन थाल्यो ।
पश्चिमाहरुले दशकौँसम्म ‘भारतीय बृद्धिदर’ वा ‘हिन्दु बृद्धिदर’ जस्ता शब्दावलीको प्रयोग गर्दै अपमान गर्ने गरेको भारतीय अर्थतन्त्रलाई आक्रामक विस्तारमा जाने आधारशिला उनै सिंहले तयार पारेका थिए ।