अमेरिकामा भीषण डढेलो, दशौँ हजार मानिसको उद्धार
काठमाडौँ । अमेरिकाको लस एन्जलसमा तीव्र गतिमा फैलिरहेको डढेलोका कारण दशौँ हजार मानिसहरूको उद्धार गरिएको छ। पछिल्ला केही घण्टाभित्रै उक्त डढेलो पाँच वर्ग किलोमिटरभन्दा बढी क्षेत्रफलमा फैलिएको अग्निनियन्त्रकहरूले बताएका छन्।
आगो निभाउने प्रयासमा विमान र दमकलहरू प्रयोग गरिरहेका छन्। आगो फैलिएको क्षेत्रमा २५० अग्निनियन्त्रकहरू हेलिकप्टर र दमकलसहित परिचालित छन्। तर सुक्खा अवस्था र १६० किलोमिटर प्रतिघण्टासम्मको तीव्र हावाले आगोलाई अर्झै बढी फैलाइरहेको छ।
भीषण हावा, सुक्खा र साना रूख अनि पातपतिङ्गरका कारण आगो अझै फैलिरहेको सरकारी अधिकारीहरुले बताएका छन् । उनीहरुका अनुसार डढेकालेका कारण १० हजारभन्दा बढी घर र १३ हजारभवन जोखिममा परेका छन् ।
मानिसहरू सुरक्षित स्थानमा जाने प्रयास त गरिरहेका छन्, तर ठाउँठाउँमा सवारी आवागमन अवरुद्ध भएका छन् । कतिपय मानिसहरू आफ्ना सवारीसाधन छाडेर भागेका छन्। केही सवारीसाधनलाई बुल्डोजर प्रयोग गरेर हटाइएको छ। बुल्डोजर प्रयोग गरेर झन्डै २०० सवारीसाधनलाई हटाइएको छ ।
प्यासिफिक प्यालिसेड्स क्षेत्रमा घरहरूमा आगो लागेको र मानिसहरू कार छाडेर आगोको लप्काबाट बच्न भागिरहेको भिडियोहरु सामाजिक सञ्जालमा देख्न सकिन्छ।
हावाको वेग अझै बढ्ने चेतावनी मौसमसम्बन्धी निकायले दिइएकाले यस राति पनि आगोको खतरा कायम रहने बताइएको छ। विगत केही वर्षहरूमा अमेरिकामा डढेलोको आकार, अवधि र शक्ति नाटकीय ढङ्गले वृद्धि भएको छ। अधिकांश त्यस्ता डढेलो मानवीय गतिविधिका कारण लागेका बताइन्छ।