केही कार्यक्रम र अवार्डको दाबीप्रति चौधरी ग्रुपको गम्भीर आपत्ति

काठमाडौँ । केही कार्यक्रम तथा अवार्डहरूले चौधरी ग्रुपको समर्थन रहेको भनी गलत दाबी गरिरहेको भन्दै चौधरी ग्रुपले आपत्ति जनाएको छ ।
आधिकारिक वक्तव्य जारी गर्दै चौधरी ग्रुपले भनेको छ, ‘हामी स्पष्ट रूपमा जानकारी गराउन चाहन्छौं कि ती गतिविधिहरू वा तिनका आयोजकहरूसँग हाम्रो कुनै सम्बन्ध वा सहकार्य छैन । हाम्रो नाम, पहिचान र विरासतको कुनै पनि अनधिकृत प्रयोग भ्रामक, अनुपयुक्त र कानूनी रूपमा अस्वीकार्य छ ।’
बिहीबार वक्तव्य जारी गर्दै चौधरी ग्रुप (सीजी) ले एक जिम्मेवार व्यावसायिक संस्थाका रूपमा आफू सधैँ नैतिक मूल्य, व्यावसायिक अभ्यास र पारदर्शिताको पक्षमा उभिने भन्दै आफ्नो नामको कुनै पनि गलत प्रस्तुतीकरण व्यक्तिगत वा संगठनात्मक लाभका लागि गरिएको भए त्यसको कडा भत्र्सना गर्ने बताएको छ ।
यस्ता दुरुपयोग रोक्न कानूनी प्रक्रिया अगाडि बढाइएको र भविष्यमा यस्ता कुनै पनि अनधिकृत दाबीहरूले कानूनी कारबाही भोग्नुपर्ने पनि सीजीले चेतावनी दिएको छ ।
सीजीले केही मिडिया संस्थाहरूलेसमेत पित पत्रकारिता प्रदर्शन गरेको आरोप लगाउँदै भनेको छ, ‘गलत सूचना तथा भ्रामक समाचार फैलाइरहेका घटनाप्रति पनि हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । यस्ता अनैतिक अभ्यासहरूले आम नागरिकको विश्वास कमजोर बनाउने र जिम्मेवार पत्रकारिताको विश्वसनीयता खल्बल्याउने काम गर्छन् । गलत स्टोरी, विकृत तथ्य र आधारहीन अफवाहहरूको जिम्मेवार समाजमा कुनै स्थान हुन सक्दैन ।’
सीजीले आफ्नो निष्ठा जोगाउन र मर्यादित पत्रकारिता कायम होस् भन्नका लागि हामी यस्ता झुटा प्रचारविरुद्ध कानुनी कारबाही अघि बढाउँदै गरेकोसमेत जनाएको छ ।
उसले नैतिक व्यवसायप्रति दृढ प्रतिबद्ध रहेको र यसको प्रतिष्ठामा आँच आउने कुनै पनि गतिविधि कदापि स्वीकार्य नहुने बताएको छ