अनलाइन सट्टेबाजी गर्नेको अखडा बन्दै बूढानीलकण्ठ, २४ जना भारतीय नागरिक पक्राउ

काठमाडौं । पछिल्लो समय काठमाडौंको बूढानीलकण्ठ अनलाइन सट्टेबाजी गर्नेको अखडा बन्दै गइरहेको छ । अनलाइन जुवा खेलाएको आरोपमा प्रहरीले २४ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
आरोपीहरूले १ अर्ब ६४ करोड ३९ लाखको कारोबार गरेको पाइएको प्रहरीले जनाएको छ । गएराति बूढानीलकण्ठको एक घरमा छापा मारेर अपराध अनुसन्धान कार्यालयको टोलीले २१ थान मोबाइल र ३८ थान ल्यापटप बरामद गरेको छ ।
यसअघि गत माघ २९ गते पनि बूढानीलकण्ठबाट २३ जना भारतीयनागरिक पक्राउ परेका थिए । उनीहरूले एक घर नै भाडामा लिएर अनलाइन सट्टाबाजी, क्रिप्टो लगायतको कारोबार गराएको भेटिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पक्राउ परेकाहरूले अवैध रुपमा ३ अर्ब बढीको कारोबार गरेको विवरण फेला परेको थियो ।
पक्राउ परेकाहरूले अनलाइन वेटिङ साइटमार्फत ठूलो मात्रामा रकम हारजित हुने गरी सट्टेबाजी खेल्ने खेलाउने कार्य गर्दै आएका थिए । पक्राउ परेका भारतीयका ८८ वटा मोबाइल, १० वटा ल्यापटप, भारतीय सिम ५०, भारतीय एटीएम, विभिन्न व्यक्तिको आधार कार्ड १५ थान र हिसाब-किताब विवरण भएको डायरी ७ वटा बरामद भएको थियो।