साढे ३ गुणा बढ्यो सेयर कारोबारको पुँजीगत लाभकर, आठ महिनामै सरकारले पायो १२ अर्ब २० करोड « Arthapath.com
३ चैत्र २०८१, आईतवार

साढे ३ गुणा बढ्यो सेयर कारोबारको पुँजीगत लाभकर, आठ महिनामै सरकारले पायो १२ अर्ब २० करोड



काठमाडौं । सेयर कारोबारबाट सरकारले प्राप्त गर्ने पुँजीगत लाभकर एक वर्षमै साढे ३ गुणा वृद्धि भएको छ । आठ महिनामै सरकारले धितोपत्र पुँजीगत लाभकर बापत सवा १२ अर्ब राजश्व प्राप्त गरेको छ ।

सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी)बाट प्राप्त चालु आर्थिक वर्षको फागुन मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो ।

गत साउनदेखि फागुन मसान्तसम्म आइपुग्दा सरकारले १२ अर्ब २० करोड ८८ लाख ३७ हजार रुपैयाँ पुँजीगत लाभकर प्राप्त गरेको छ । यो गत आवको सोही अवधिको तुलनामा भने ३.७९ प्रतिशत धेरै हो ।

गत आवको ८ महिनामा सरकारले यस्तो राजश्व ३ अर्ब ३० करोड ६८ लाख ५८ हजार रुपैयाँ मात्रै प्राप्त गरेको थियो । सेयर बजारमा आएको बढोत्तरीले नै त्यसमा सरकारले प्राप्त गर्ने राजश्व पनि वृद्धि भएको हो ।

समिक्षा अवधिमा आइपुग्दा सेयर बजारमा पनि बढोत्तरी नै देखिन्छ । गत आवको तुलनामा हाल नेप्से परिसुचक बढ्दो क्रममा छ । त्यसकारण सेयर कारोबार गर्ने अधिकांश लगानीकर्ताले नाफा कमाएका छन् । उनीहरुले नाफा कमाउँदा सरकारलाई जाने राजश्व पनि बढेको हो । लगानीकर्ताले सेयर कारोबारमा नाफा कमाएपछि नै सरकारलाई कर तिर्ने हो ।

हाल सेयर कारोबारमा हुने खुद नाफामा दीर्घकालीनतर्फ ५ प्रतिशत र अल्पकालीनतर्फ ७.५ प्रतिशत पुँजीगत लाभकर तिर्नु पर्ने कानुनी व्यवस्था छ । सेयर खरिद गरेको एक वर्षपछि बिक्री गरिन्छ भने त्यो दिर्घकालिन सेयर कारोबारमा गणना हुने गर्दछ । तर,सेयर किनेको एक वर्षभित्र नै बिक्री गरिन्छ भने अल्पकालिन सेयर कारोबारमा पर्छ ।

सीडीएससीका अनुसार गत फागुनमा मात्रै १ अर्ब ३३ करोड २ लाख ३७ हजार रुपैयाँ पुँजीगत लाभकर उठेको छ । सो महिनामा अल्पकालिन लगानीकर्ता मार्फत ८१ करोड ४२ लाख १४ हजार र दीर्घकालिन मार्फत २६ करोड ३८ लाख ६ हजार रुपैयाँ पुँजीगत लाभकर उठेको छ । यता, कर्पोरेटले १४ करोड ९७ लाख ६४ हजार र स्टक डिलरले २४ लाख ५१ हजार रुपैयाँ पुँजीगत लाभकर सरकारलाई बुझाएका छन् ।

सीडीएससीका अनुसार गत माघ महिनामा पनि १ अर्ब ५ करोड ७० लाख ८८ हजार रुपैयाँ राजश्व उठेको थियो । चालु आवको पहिलो महिना अर्थात् साउनमा भने यो वर्षकै धेरै ४ अर्ब २७ करोड ५३ लाख रुपैयाँ उठेको थियो ।

यस्तै, भदौमा २ अर्ब ५७ करोड ९४ लाख ८० हजार, असोजमा ५८ करोड ६५ लाख, कात्तिकमा ७५ करोड ८७ लाख, मंसिरमा १ अर्ब ४ करोड ६ लाख र पुसमा ५८ करोड ७ लाख रुपैयाँ पुँजीगत लाभकर सरकारले प्राप्त गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्