बैंकहरुको निक्षेप र कर्जा लगानी दुवै बढ्यो, व्यवसाय विस्तारमा एग्रेसिभ देखिए यी बैंकहरु

काठामाडौं । वाणिज्य बैंकहरुको निक्षेप संकलन र कर्जा विस्तारमा क्रमिक सुधार आएको छ ।
नेपाल बैकर्स संघले उपलब्ध गराएको चालु आर्थिक वर्षको फागुन मसान्तसम्मको तथ्याङक अनुसार निक्षेप साढे ५ प्रतिशत र कर्जा प्रवाह ६ प्रतिशत वृद्धि भएको छ ।
गत साउनदेखि फागुन मसान्तसम्म आइपुग्दा बैंकहरुको कुल निक्षेप २ खर्ब ८२ अर्ब २७ करोड रुपैयाँ वृद्धि भई ६० खर्ब ३७ अर्ब ४ करोड रुपैयाँ कायम भएको छ ।
फागुन मात्रै ३९ अर्ब ९९ करोड रुपैयाँ निक्षेप थपिएको छ ।
संघका अनुसार गत माघमा महिनामा ९ अर्ब मात्रै निक्षेप थपिएको थियो । चालु आवको पहिलो महिना अर्थात् साउनमा बैंकहरुको निक्षेप ३९ अर्ब घटेको थियो । तर, भदौमा ७३ अर्ब र असोजमा १ खर्ब ३३ अर्ब रुपैयाँ निक्षेप थपिएको थियो । संघका अनुसार कात्तिकमा भने १९ अर्ब घटेको देखिन्छ । त्यसपछिका महिनामा भने क्रमशः निक्षेप बढ्दै गएको आँकडा छ । मंसिरमा मात्रै ३३ अर्ब, पुसमा ५१ अर्ब निक्षेप बढेको देखिन्छ ।
निक्षेप भित्र्याउने मामलामा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक तगडा देखिएको छ । गत असारको तुलनामा बैंकको निक्षेप ४५ अर्ब ८४ करोड रुपैयाँ वृद्धि भएको छ । गत असार मसान्तसम्ममा बैंकको कुल निक्षेप २ खर्ब ७८ अर्ब ३७ रुपैयाँ निक्षेप थियो ।
तर, फागुन अन्तमा भने ११.३६ प्रतिशत वृद्धि भई ३ अर्ब ९ अर्ब ९८ अर्ब कायम भएको छ । यता, एनआइसी एशिया बैंकको निक्षेप भने घट्दो देखिन्छ । समिक्षा अवधिमा पनि बैंकको निक्षेप ६१ अर्ब ८६ करोड रुपैयाँ निक्षेप घटेर २ खर्ब ९८ अर्ब ६८ करोड रुपैयाँ कायम भएको छ ।

यस्तै एनएमबि बैंकको निक्षेप पनि ३९ अर्ब ७६ करोड, नबिलको ३४ अर्ब ४९ करोड, एभरेष्टको ३४ अर्ब ४७ करोड, ग्लोबल आइएमईको २८ अर्ब ३४ करोड, प्राइमको २७ अर्ब १६करोड, नेपाल बैंकको २६ अर्ब ८३ करोड रुपैयाँ वृद्धि भएको छ ।
समिक्षा अवधिमा राष्ट्रिय वाणिज्य बैंकको निक्षेप पनि १८ अर्ब ४१ करोड, लक्ष्मी सनराइजको १६ अर्ब ९५ करोड, सानिमा बैंकको १५ अर्ब ६८ करोड, स्ट्याण्डर्ड चार्टर्डको १० अर्ब ५० करोड, सिटिजनको १० अर्ब १६ करोड, कृषि विकासको ९ अर्ब ५२ करोड बढेको देखिन्छ । यता, माछापुच्छ्रे बैंकको ६ अर्ब ७५ करोड, नेपाल एसबिआईको ६ अर्ब ३ करोड, कुमारीको ५ अर्ब ८३ करोड, हिमालयनको ५ अर्ब ३२ करोड, सिद्धार्थ बैंकको १ अर्ब ४१ करोड र प्रभू बैंकको ६८ करोड मात्रै वृद्धि भएको छ ।
कुन बैंकको निक्षेप संकलन कति ? (रकम अर्बमा)

व्यवसाय विस्तारमा ग्लोबल र एभरेष्ट आक्रामक, तीन वटाको कर्जा लगानी घट्यो
समिक्षा अवधिमा बैंकहरुको कर्जा लगानी पनि २ खर्ब ७९ अर्ब ६८ करोड रुपैयाँ वृद्धि भएको छ । फागुनमा मात्रै २३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । गत माघमा पनि १२ अर्ब कर्जा प्रवाह गरेका थिए ।
गत मंसिरदेखि यता क्रमशः कर्जा लगानी बढेको देखिन्छ । कात्तिकमा २ अर्ब घटेको कर्जा प्रवाह मंसिरमा भने ४२ अर्ब बढेको थियो । यस्तै, पुसमा ९४ अर्ब रुपैयाँ वृद्धि भएको देखिन्छ । संघका अनुसार चालु आवको साउनमा भने २ अर्ब, भदौमा ५३ अर्ब, असोजमा ५६ अर्ब रुपैयाँ कर्जा प्रवाह बढेको थियो ।

कर्जा विस्तारमा भने ग्लोबल आइएमई बैंकको पहिलो सूचीमा छ । समिक्षा अवधिमा बैंकको कर्जा लगानी ३९ अर्ब ६ करोड रुपैयाँ वृद्धि भएको छ । गत असारको तुलनामा बैंकको कर्जा लगानी १० प्रतिशत बढेर ४ खर्ब २९ अर्ब ८३ करोड रुपैयाँ पुर्याएको छ ।
यता, एभरेष्ट बैंकको कर्जा लगानी पनि २० प्रतिशत अर्थात् ३७ अर्ब ५८ करोड रुपैयाँ वृद्धि भएको छ ।समिक्षा अवधिमा एभरेष्टको कुल कर्जा लगानी २ खर्ब २४ अर्ब ८ करोड रुपैयाँ कायम भएको छ ।
यस्तै, एनएमबि बैंकको कर्जा प्रवाह पनि २९ अर्ब १३ करोड, राष्ट्रिय वाणिज्य बैंकको २७ अर्ब ४२ करोड, लक्ष्मी सनराइजको पनि २६ अर्ब ९ करोड, नबिल बैंकको २६ अर्ब ४ करोड, इन्भेष्टमेन्ट मेगा बैंकको २२ अर्ब ८३ करोड, प्राइमको २१ अर्ब ७९ करोड रुपैयाँ वृद्धि भएको छ ।
यता, नेपाल बैंकको कर्जा प्रवाह १७ अर्ब ६७ करोड, माछापुच्छ्रेको १४ अर्ब ५ करोड, सानिमाको १३ अर्ब ९० करोड, सिटिजनको १२ अर्ब ३० करोड, सिद्धार्थको १२ अर्ब ९ करोड, कुमारीको ७ अर्ब ६८ करोड, नेपाल एसबिआईको ६ अर्ब ८३ करोड, हिमालयनको ४ अर्ब ९ करोड वृद्धि भएको छ।
तर, एनआइसी एशिया, स्ट्याण्डर्ड चार्टर्ड र प्रभू बैंकको कर्जा विस्तार भने घटेको देखिन्छ । समिक्षा अवधिमा यी बैंकहरुको कर्जा लगानी क्रमशः ३५ अर्ब ४३ करोड, ३ अर्ब ८३ करोड र १ अर्ब ३५ करोड रुपैयाँ घटेको छ ।
कुन बैंकको कर्जा लगानी कस्तो ? (रकम अर्बमा)
