१८ अर्बको ट्रेजरी बिल नवीकरण गर्दै सार्वजनिक ऋण व्यवस्थापन कार्यालय

काठमाडौं । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले चैत ४ गते आज सोमबारका दिन १८ अर्ब ३० रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्ने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार ९१ दिनको लागि ५ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरणको लागि बोलकबोल हुन लागेको हो । यो ट्रेजरी बिल २०८२ असार ३ गते परिपक्व हुनेछ ।
त्यस्तै, १८२ दिनको लागि ४ अर्ब ३० रुपैयाँ बराबरका ट्रेजरी बिल नवीकरणको लागि बोलकबोल हुन लागेको हो । उक्त ट्रेजरी बिल २०८२ भदै ३१ परिपक्व हुनेछ । साथै, १ वर्ष अवधिको लागि ९ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण गर्न लागेको हो । उक्त ट्रेजरी बिल २०८२ चैत ३ गते परिपक्व हुनेछ । बोलकबोलमा आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म अनलाइन माध्यमबाट सहभागी हुन सकिनेछ । सोमबार बोलकबोल हुने ट्रेजरी बिल मंगलबार निष्कासन हुने कार्यालयले जनाएको छ ।
बैंक वित्तीय संस्थामा लगानी योग्य पुँजी पर्याप्त भएपछि ट्रेजरी बिलको ब्याजदरमा समेत गिरावट आएको हो । यसअघि फागुन २६ मा बोलकबोल भएको २८ दिन अवधिको ट्रेजरी बिलको औसत डिस्काउन्ट रेट २.९८ प्रतिशत कायम हुँदा ९१ दिन अवधिको ट्रेजरी बिलको २.९६ प्रतिशत र ३६४ दिन अवधिको ट्रेजरी बिलको औसत डिस्काउन्ट रेट ३.०३ प्रतिशत कायम भएको थियो ।