एक्लैले केही गर्न नसक्ने भन्दै कृषिमन्त्री अधिकारीले खोजे निजी क्षेत्रको साथ « Arthapath.com
२२ चैत्र २०८१, शुक्रबार

एक्लैले केही गर्न नसक्ने भन्दै कृषिमन्त्री अधिकारीले खोजे निजी क्षेत्रको साथ




काठमाडौं । कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले मुलुकको कृषि क्षेत्रमा कोही एक्लैले केही गर्न नसक्ने भन्दै समग्र निजी क्षेत्रको साथ अपरीहार्य रहेको बताएका छन्र ।

कर्पोरेट मिडियाले बिहीबार राजधानीमा आयोजना गरेको ‘कर्पोरेट बिजनेश अवार्ड, २०२५’ समारोहलाई सम्बोधन गर्दे उनले कृषि उत्पादनमा मुलुकलाई आत्मनिर्भर बनाउन निजी क्षेत्रको साथ खोजेका हुन्र ।

‘सरकार वा निजी क्षेत्र एक्लैले कृषि क्षेत्रमा लगानी गरेर अपेक्षित प्रतिफल पाउन सकिदैनँ । यसमा निजी क्षेत्रको सहयोग जरुरी रहेकाे मन्त्री अधिकारीले बताए , ‘निजी क्षेत्र, व्यक्तिगत लगनशीलता, सहकारी तथा बैंकवित्तहरू र सबै खाले सामाजिक संस्थाहरूको लगानी कृषिमा जरुरी छ ।’

सबै तह र तप्काहरू एकैठाउँ रहँदा मात्रै कृषिमा सफलता हासिल गर्न सकिने चर्चा गर्दे उनले त्यसैका लागि सरकारले लगानी दशक घोषणा गरेको स्पष्ट गरे। मन्त्री अधिकारीले भने, ‘सबै जना एक ठाउँमा बसौँ, कसैको भर नपरौँ । हाम्रो दायित्व हामी सबैको साझा हो भन्ने ढङ्गबाट सोच बनाएको खण्डमा सिङ्गो नेपाली आत्मनिर्भरतामा रम्न सक्छ । आयातको भरले मात्रै हामी टिक्न हुँदैन । निर्यात गर्न सक्ने क्षमता हामी सँग भन्ने कुरा विस्तारै देखिँदै आएको छ ।

यसतर्फ सबैको सक्रिय सहयोगका लागि आग्रह गर्छेु र कर्पोरेट मिडिया पनि यस सन्दर्भमा नजिकको सहयोगी संस्था बन्न सकोस् । यसमा हामी सबैले सघाउ पुर्‍याउन सकौँ ।’नेपाल र नेपालीको पहिलो पहिचान नै कृषिप्रधान देशको नागरिक भएको भन्दै उनले आफ्नो पहिचानलाई कायम राख्दै गरिमा बढाउन समेत सबै एकजुट भएर लाग्नुपर्नेमा उनले जोड दिए ।

यस्तै, उनले उद्योगी व्यवसायीहरूको समस्याहरू सम्बोधन गर्नेगरी सरकारले कानुनहरू निर्माण गरेको बताए । ‘पछिल्लो चरण नेपाल सरकारको तर्फबाट जुन कानुनहरू निर्माण भएका छन् , त्यसले आम उद्योगी व्यवसायी, निजी क्षेत्रका सम्पूर्ण संस्था र व्यक्तिहरू धेरै खुसी भएका छन्र । आगामी दिनमा विगतको जस्तो कठिन परिस्थिति सृजना नहोस् भनेर सरकारले त्यो व्यवस्था गरेको अधिकारीले बताए ।

बजारलाई स्वच्छ र स्वस्थ बनाउनका लागि उद्योगी व्यवसायीले पछिल्लो चरणमा देखाएका उदारताको मुक्तकण्ठले प्रशंसा गर्दे अधिकारीले उद्योगी–व्यवसायीले व्यावसायिक धर्म निर्वाह गरेको कारणले बजार मात्र होइन देश र जनतालाई नै ठूलो सहयोग पुगिरहेको चर्चा गरे । सरकारले खुकुलो ऐन ल्याएर लगानीको विश्वास बढाएका कारण निजी क्षेत्रमा नयाँ रक्तसञ्चार भएको उनको भनाइ थियो ।

कर्पोरेट मिडियाले आफ्नो सामाजिक उत्तरदायित्व निर्वाह गर्दै उद्योगी–व्यवसायीलाई ऊर्जा प्रदान गर्न वर्षेनि आयोजना गर्दै आएको ‘कर्पोरेट बिजनेश अवार्ड’ले पनि उद्योग व्यवसायको क्षेत्रमा स्वच्छ र स्वस्थ वातावरण निर्माणका महत्वपूर्ण भूमिका खेल्ने विश्वास मन्त्री अधिकारीले व्यक्त गरे । अवार्डले उद्योगी–व्यवसायी मात्र नभइ समाज र देशलाई नै राम्रो दिशातर्फ डोर्‍याइरहेको उनको भनाइ थियो ।

कर्पोरेट मिडिया ग्रुपले बिहीबार १७औँ संस्करणको ‘कर्पोरेट बिजनेश अवार्ड, २०२५’ भव्य रूपमा सम्पन्न गरेको छ । यो संस्करणमा ११ वटा विधामा २४ वटा अवार्ड र एक जनालाई लाइफटाइम एचिभमेन्ट अवार्ड प्रदान गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्