सौर्य एयरलाइन्सले ८ महिनापछि उडानको अनुमति पायाे « Arthapath.com
२९ चैत्र २०८१, शुक्रबार

सौर्य एयरलाइन्सले ८ महिनापछि उडानको अनुमति पायाे



काठमाडौ । सौर्य एयरलाइन्स कम्पनीको जहाजले ८ महिनापछि उडानको अनुमति पाएको छ । पोखराका लागि उडेको विमान काठमाडौं उडे लगतै साउनमा दुर्घटना परेपछि उक्त विमानलाई नागरिक उडान प्राधिकरणद्धारा बन्द गरिएको थियो ।

प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार, सौर्यसँग भएका दुईमध्ये एक मात्र सीआरजे–२००ईआर विमानलाई प्राधिकरणले बिहीबार परीक्षण उडानको अनुमति जारी गरेको हो । प्राधिकरणमा ‘अल्फा नोभेम्बर माइक’ रजिस्ट्रेसन नम्बर भएको सौर्यको सीआरजेले शुक्रबार काठमाडौं वरिपरिको आकाशमा परीक्षण उडान गर्न लागेको हो ।

उक्त विमानलाई काठमाडौंमाथिको आकाश बाहिर जान अनुमति दिइएको छैन । लामो समयसम्म बन्द भएको वायुयानलाई पुनःसञ्चालनमा ल्याउनुअघि ‘सर्टिफिकेट अफ एयरओर्दिनेस’ गर्नुपर्ने नियम छ । सौर्यको अपरेसन विभागका प्रबन्धक विभेचन खनालले ‘अब कम्पनी उडानका लागि आवश्यक सबै प्राविधिक मापदण्डहरु पूरा गरेको जनाउँदै प्राधिकरणमा बुधबार निवेदन बुझाएका थिए ।

प्राधिकरणले जारी गरेको अनुमति अनुसार क्याप्टेन अनुप थापा र प्रशिक्षक पाइलट धर्मेन्द्र सिंहले शुक्रबार परीक्षण उडान गर्ने भएका छन् । यो उडानमा तीन जना वायुयान सम्बन्धित इन्जिनियरहरुसहित उनीहरु उडानका क्रममा विमानका विभिन्न उडानसँग संलग्न प्रणालीहरु, उपकरण, नेभिगेसन लगायतको परीक्षण गर्ने छन् ।

गत साउन ८ मा पोखराकालागि रिपोजिसनिङ उडानकालागि उड्दै गरेको सौर्यको जहाज काठमाडौं विमानस्थलको उत्तरपूर्वी भागमा दुर्घटनामा पर्दा कम्पनी १८ जनाको मृत्यु भएको थियो । त्यस्मा अधिकांश सौर्यका प्राविधिकहरु थिए । त्यो दुर्घटनामा एक मात्र क्याप्टेनको जिवितै उद्धार गरिएको थियो ।

उक्त दुर्घटनाको प्रारम्भिक प्रतिवेदनले जहाजमा गलत तवरले भार राखिएको, उडानको गति असामान्य भएको लगायतका कारणले दुर्घटना भएको देखाएको थियो । दुर्घटना जाँच समितिले विस्तृत प्रतिवेदन सार्वजनिक गरिसकेको छैन । जम्मा तीनवटा जहाजबाट भद्रपुर र विराटनगरमा मात्रै उडान गर्दै आएको सौर्यसँग दुर्घटनापछि दुइटा मात्रै सीआरजे विमान थिए । तीमध्ये एक मात्र उडानयोग्य छ । अर्को विमानको मर्मत जारी छ ।

‘दुर्घटनापछि रिक्त रहेका जनशक्ति, मापदण्ड सबै पूरा गरेर शुक्रबार परीक्षण उडान गर्दै छ, यसपछिका प्रक्रियाहरू पालना गर्दै चाडै व्यावसायिक उडानमा फर्किने तयारी गरेका छौं,’ सौर्यका अध्यक्ष दिपक पोखरेलले जानकारी दिएका छन्। यो विमानको परीक्षण उडान सकिएको केही महिनाभित्रै अर्को सीआरजेको पनि परीक्षण उडान सम्पन्न गर्ने योजना रहेकाे पाेखरेलले बताएका छन् ।’

अध्यक्ष पोखरेलले दुवै सीआरजे व्यवसायी उडानमा लागेपछि त्यसको कम्तीमा ६ महिनापछि सौर्यले एटीआर–६०० विमानबाट आन्तरिक उडान गर्ने तयारी गरिरहेको बताएका छन् । ‘ मुख्य लगानीकर्ता दुबईमा रहेको भारतीय कुबेर ग्रुपले एटीआर–६०० विमान खरिदको तयारी गरिरहेको छ । एटीआर उडानमा ल्याएपछि दुवै सीआरजे विमान बिक्री गरीदिने योजना कम्पनीको छ,’ हाल भारतको मुम्बईमा रहेकाे अध्यक्ष पोखरेलले जानकारी दिएका छन्। हाल सौर्यसँग भएका सीआरजे विमानको यात्रु क्षमता ५० रहेको छ ।


प्रतिक्रिया दिनुहोस्