मुलुकलाई अस्थिरतातर्फ लैजान अनेक षडयन्त्रहरू भइरहेका छन् : मन्त्री गुप्ता « Arthapath.com
२९ चैत्र २०८१, शुक्रबार

मुलुकलाई अस्थिरतातर्फ लैजान अनेक षडयन्त्रहरू भइरहेका छन् : मन्त्री गुप्ता



काठमाडाैं । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले मुलुकलाई अस्थिरतातर्फ लैजान अनेक षडयन्त्र भइरहेको बताएका छन् ।

नेकपा एमाले वीरगञ्ज महानगरपालिका नगर कमिटीको दोस्रो अधिवेशन उद्घाटन गर्दै उनले राजावादीको नाममा काठमाडौंमा चैत १५ गते गराइएको घटनाले मुलुकलाई अस्थिरताको बाटोतर्फ लैजान खोजिएको र त्यसका लागि अनेक खालका षडयन्त्रहरु भइरहेको बताएका छन् ।

नेकपा एमालेको केन्द्रीय सदस्य समेत रहेका मन्त्री गुप्ताले देशलाई स्थिरता र सुशासन दिनकै लागि देशका दुई ठूला राजनीतिक दल मिलेर सत्ता सञ्चालन गरिरहेको बताएका छन्। यो सरकारले मुलुकलाई स्थिरताको कोर्षमा लगेको उनको भनाइ छ । मुलुकलाई अस्थिरतामा लैजान जति नै प्रयास गरे पनि त्यो सफल हुन नदिइने विश्वास व्यक्त गरेका छन् ।

नेकपा एमाले राष्ट्रिय शक्ति बन्यो भने मात्र देशमा आमूल परिवर्तन गर्न सकिने चर्चा गर्दै उनले आगामी निर्वाचनमा बहुमत ल्याएर एमाले निर्णायक राष्ट्रिय शक्ति बन्ने दाबीसमेत गरे । ‘जहिलेसम्म एमाले निर्णायक राष्ट्रिय शक्तिको रुपमा स्थापित हुन सक्दैन । त्यसबेलासम्म यो देशका समस्या समाधान गर्न सकिँदैन, राष्ट्रियताको समस्या समाधान गर्न सकिँदैन, राष्ट्रिय स्वाभिमानका मुद्दाहरु प्रभावकारी ढङ्गले उठाउन सकिँदैन,’ मन्त्री गुप्ताले बताए । देशलाई सही दिशामा अगाडि बढाउने अभियान साकार पार्न पार्टी कमिटीलाई तल्लो तहदेखिनै सुदृढ बनाउनुपर्ने उनको भनाइ छ ।

अहिलेको राजनीतिक समीकरण मिशन ०८४ लाई सहयोग पुग्ने सकारात्मक स्टेपमात्र भएको भन्दै उनले एमाले कुनै मोर्चाको पक्षमा नरहेको पनि स्पष्ट गरेका हुन् । आगामी निर्वाचनमा वीरगञ्ज महानगरपालिका ३२ वटै वडामा जित्नेगरी तयारी गर्न नेता कार्यकर्तालाई उनले निर्देशन दिएका छन् ।


प्रतिक्रिया दिनुहोस्