भट्टराईको ‘वित्तीय स्वतन्त्रता’ पुस्तक विमोचन « Arthapath.com
३ बैशाख २०८२, बुधबार

भट्टराईको ‘वित्तीय स्वतन्त्रता’ पुस्तक विमोचन



काठमाडौं । सेयर बजार विश्लेषक रविन्द्र भट्टराई लिखित ‘वित्तीय स्वतन्त्रता’ नामक पुस्तक विमोचन गरिएको छ ।

नेपाल आर्थिक पत्रकार समाज(सेजन)मा आयोजित एक कार्यक्रमबीच लेखक भट्टराई, सेजन अध्यक्ष सुजन ओली र सेजनका पूर्व अध्यक्ष गोकर्ण अवस्थीले संयुक्त रुपमा उक्त पुस्तक विमोचन गरका हुन् ।

पुस्तकमा वित्तीय रुपमा स्वतन्त्र बन्ने उपाय र त्यसमार्फत थप प्रगति हासिल गर्न सकिने विषय समेटिएको लेखक भट्टराईले बताए ।

छलफलका क्रममा लेखक भट्टराईले कम्पनीहरुलाई अङ्कित मूल्य एक सय रुपैयाँभन्दा कममै प्राथमिक निष्काशन (आईपीओ) जारी गर्न दिनुपर्ने बताए । ‘अंकित मूल्य एक रुपैयाँका दरले पनि आईपीओ जारी गर्न सकिन्छ, सेयर संख्या बढाएपछि आवश्यक पूँजी त्यति नै जुटिहाल्छ’ उनले भने ।

त्यस्तै महँगा कम्पनीलाई बेलाबेलामा ‘स्टक स्प्लिट’ गरेर पहूँच बढाउन सकिने पनि उनको धारणा थियो । महँगा कम्पनीले थप सेयर जारी गरेर सोअनुसार मूल्य घटाउनु नै ‘स्टक स्प्लिट’ हो ।

कम्पनीहरुलाई वार्षिक मात्रै नभई त्रैमासिक रुपमा लाभांश वितरण गर्न दिनुपर्ने भट्टराईको भनाई थियो । अन्य विकसित मुलुकमा कम्पनीहरुले मासिक नै नगद लाभांश दिने गरेको उदाहरण प्रस्तुत गर्दै उलले भने, ‘यहाँ कम्तीमा त्रैमासिक रुपमा लाभांश दिन सक्ने व्यवस्था गर्न सकिन्छ । हाइड्रोपावर लगायत कतिपय क्षेत्रका कम्पनीको आम्दानी निश्चित नै छ ।’

अन्य मुलुकमा संस्थागत लगानीकर्ताले बजारलाई ‘ड्राइभ’ गर्ने गरे पनि नेपालमा संस्थागत लगानीकर्ताको संख्या र भएका संस्थाको पनि क्षमता कमजोर रहेको भट्टराईको बुझाइ छ । सूचकमै पनि कारोबार गर्न सक्ने व्यवस्था जरुरत रहेको उनले बताए ।

‘एकपटक नेप्से ३० इन्डेक्स चलाउने तयारी पनि भयो, तर त्यत्तिकै सेलायो’ उनले भने । विभिन्न सामाजिक सञ्जालबाट निश्चित कम्पनी तोकेर खरिद वा बिक्री गर्न सुझाव दिने गतिविधि गलत भएको उनको धारणा छ ।


प्रतिक्रिया दिनुहोस्