नयाँ व्यवसाय भित्र्याउने लहर : निकै आक्रामक देखिए जीवन बीमा कम्पनी, कसको व्यापार कति ?

काठमाडौं । ठुला जीवन बीमा कम्पनीहरुको नयाँ व्यवसाय भित्र्याउन तातिएका छन् ।
कम्पनीहरुको नयाँ व्यवसाय अर्थात् प्रथम बीमा शुल्क आर्जन दोहोरो अंकमा वृद्धि भएको छ । ९ महिनामा कम्पनीहरुले साढे २४ अर्ब रुपैयाँ बराबरको नयाँ व्यवसाय भित्र्याएका हुन् ।
नेपाल बीमा प्राधिकरणले हालै उपलब्ध गराएको चालु आर्थिक वर्ष २०८१–८२ को चैत मसान्तसम्मको तथ्याङकले यस्तो देखाएको हो ।
चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म आइपुग्दा कम्पनीहरुले कुल २४ अर्ब ४० करोड १ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका छन् । यो गत आवको सोही अवधिको तुलनामा १३.६९ प्रतिशत धेरै हो । गत आवको पहिलो ९ महिनामा पनि कम्पनीहरुले २१ अर्ब ४६ करोड २७ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका थिए ।
समिक्षा अवधिमा कम्पनीहरुले कुल १ अर्ब २६ अर्ब १८ करोड १२ लाख रुपैयाँ बराबरको कुल व्यापार गरेका छन् । त्यसको १९.३३ प्रतिशत हिस्सा नयाँ व्यवसायको छ ।
विगत केही वर्षहरुमा कम्पनीहरुको समग्र व्यापार नै खस्किँदो थियो । आर्थिक मन्दी लगायतले कम्पनीहरुको आम्दानी घटीरहेको थियो । तर, हाल आर्थिक गतिविधि पनि विस्तारै बढ्दै गएको छ । बीमाप्रति आम मानिसहरुको चासो पनि उत्तिकै बढ्दो छ । यस्ता कारण पनि कम्पनीहरुको व्यवसायमा बढोत्तरी देखिएको हो ।
अधिकांश कम्पनीहरुले नयाँ व्यवसाय बढाएका छन् । नयाँ व्यवसायमा पनि नेपाल लाइफकै वर्चश्व कायम छ । कम्पनीले ५ अर्ब ९९ करोड ८५ लाख रुपैयाँ बराबरको प्रथम बीमा शुल्क आर्जन गरेको छ । यो कुल नयाँ व्यवसायको २४.५८ प्रतिशत हो । कम्पनीले नयाँ व्यापार वृद्धिदर भने २४.६३ प्रतिशत छ ।
व्यवसायको आकारको आधारमा दोस्रो सूचीमा नेशनल लाइफ छ । कम्पनीले नयाँ व्यवसायको आकार १३.५७ प्रतिशत बढाएर ३ अर्ब ६६ करोड ७९ लाख रुपैयाँ पुर्याएको छ । नयाँ व्यवसायमा नेशनलको योगदान १५.०३ प्रतिशत छ ।
नयाँ व्यवसाय भित्र्याउन भने राष्ट्रिय जीवन बीमा कम्पनी तगडा देखिएको छ । कम्पनीको यस्तो व्यवसाय शतप्रतिशत वृद्धि भई ८६ करोड ८ लाख रुपैयाँ कायम भएको छ । जबकि, गत आवको सोही अवधिमा भने कम्पनीले ४२ करोड ८४ लाख रुपैयाँ मात्रै प्रथम बीमा शुल्क आर्जन गरेको थियो ।
यता, प्रभू महालक्ष्मी लाइफ पनि शीर्ष सूचीमा नै छ । कम्पनीको प्रथम बीमा शुल्क आर्जन ५०.९३ प्रतिशत वृद्धि गरि ९५ करोड ५७ लाख रुपैयाँ पुर्याएको छ । तेस्रो सूचीमा रहेको लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआइसी) को पनि २५.३६ प्रतिशत बढेर १ अर्ब ८९ करोड ८५ लाख रुपैयाँ कायम भएको छ ।
यस्तै, सूर्यज्योतिको १६.२७ प्रतिशत, हिमालयन लाइफको ६.७८ प्रतिशत, सिटिजनको ५.०९ प्रतिशत, मेट लाइफको ४.९० प्रतिशत, रिलायवल नेपालको ४.५५ प्रतिशत र एशियन लाइफको ३.३५ प्रतिशत वृद्धि भएको छ ।
तर, सन नेपाल लाइफ, आइएमई र सानिमा रिलायन्सको नयाँ व्यवसायमा भने गिरावट आएको छ । समिक्षा अवधिमा सन नेपालको प्रथम बीमा शुल्क आर्जन २८.४० प्रतिशत घटेर ७२ करोड २४ लाख रुपैयाँ कायम भएको छ ।
यता, आइएमई लाइफको पनि ९.४६ प्रतिशत घटेर ९३ करोड २८ लाख रुपैयाँ कायम भएको छ । यस्तै, सानिमा रिलायन्सको पनि ०.१२ प्रतिशत घटेर १ अर्ब १९ करोड ५ लाख रुपैयाँ कायम भएको छ । यी तीनै वटा कम्पनीले गत आवको सोही अवधिमा भने क्रमशः १ अर्ब ८९ लाख, १ अर्ब ३ करोड ३ लाख र १ अर्ब १९ करोड २० लाख रुपैयाँ बराबरको नयाँ व्यवसाय गरेका थिए ।
कुन कम्पनीले कति भित्र्याए नयाँ व्यापार ?
