दुई वर्षभित्र चामलमा आत्मनिर्भर हुने सरकारकाे लक्ष्य

सरकारले दुई वर्षभित्र चामलमा आत्मनिर्भर हुने लक्ष्य राखेको छ । आर्थिक वर्ष २०८२/८३ का लागि संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री विष्णु पौडेलले बिहीबार बजेट प्रस्तुत गर्दै दुई वर्षभित्र चामलमा आत्मनिर्भर हुन तराई र भित्री मधेशका २२ जिल्लामा चैते धान खेती प्रवर्द्धन कार्यक्रम सञ्चालन गरिने बताएका हुन ।
यसबाट थप १२ लाख मेट्रिक टन धान उत्पादन हुने अपेक्षा गरेको उनले बताए । उनले भने, ‘हाल सञ्चालित जोन र सुपरजोनको दायरा विस्तार गरिनेछ। निजी, सामूहिक, करार र सहकारी मार्फत सुपरजोन वा जोन सरहको क्षेत्रफलमा व्यावसायिक खेती वा पशुपालन गरेमा सोही बराबरको अनुदान सुविधा उपलब्ध गराउने व्यवस्था मिलाइनेछ।’
सरकारले चैते धान खेतीका लागि सिँचाइ पूर्वाधार निर्माण गर्न रु ३३ करोड विनियोजन गरेको छ।
लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका मध्य तथा उच्च पहाडी जिल्लाका ८० स्थानीय तहमा उच्च मूल्यका बालीवस्तुको खेती प्रवर्द्धन गर्ने भन्दै सरकारले यसका लागि रु ८३ करोड विनियोजन गरेको छ।