अमेरिकाको टीपीएस सुविधा खारेज भएसँगै ७००० नेपालीलाई स्वदेश फर्किन उर्दी

काठमाडाैं । अमेरिकाले नेपाली नागरिकलाई दिएको अस्थायी सुरक्षात्मक सुविधा टिपिएस (Temporary Protected Status) खारेज गर्ने घोषणा गरेसँगै करिब ७ हजार नेपाली अमेरिकाबाट फर्किनुपर्ने अवस्थामा पुगेका छन्।
अमेरिकी डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले नेपालमा हालको परिस्थितिको पुनरावलोकनपछि टीपीएसको आवश्यकता नरहेको निष्कर्ष निकाल्दै, अब यो सुविधा थप नबढाइने स्पष्ट पारेको छ।
अमेरिकी नागरिकता तथा आप्रवासन सेवाको वेबसाइटमा प्रकाशित सूचनामा भनिएको छ, ‘नेपालका लागि टीपीएस सुविधा ५ अगस्ट २०२५ को राति ११स्५९ बजे अन्त्य हुनेछ।’
‘यदि तपाईं टीपीएसमा अमेरिका बसिरहनुभएको छ र वैध बसाइको अन्य आधार छैन भने नेपाल फर्कन तयार हुनुस्। तपाईं चाहनुहुन्छ भने सिबिपी वन मोबाइल एप प्रयोग गरेर स्वेच्छिक रूपमा अमेरिका छोड्न सक्नुहुन्छ’ सूचनामा भनिएकाे छ।
यसको अर्थ, टीपीएसको भरमा बस्दै आएका नेपाली नागरिकले वैकल्पिक वैध आप्रवासन आधार नभए स्वदेश फर्कनै पर्नेछ।
होमल्याण्ड सेक्युरिटीकी सचिव क्रिस्टी नोएमले भनेकी छन्, ‘नेपाल अब यस्तो अवस्था वा संकटमा छैन, जसका कारण टीपीएस आवश्यक ठहरियोस्।’
टीपीएस सुविधा सन् २०१५ मा नेपालमा गएको विनाशकारी भूकम्पपछि सुरु गरिएको थियो। त्यसबेला अनुमानित १५ हजार नेपाली नागरिकले यो सुविधा लिएका थिए। तर समयक्रमसँगै संख्यामा कमी आइरहेको छ।