हिमालय एयरलाइन्स ११ औं वर्षमा प्रवेश

काठमाडाैं । हिमालय एयरलाइन्स १० वर्षे उडान यात्रा पूरा गरी ११ औं वर्षमा प्रवेश गरेको छ । सपना, समर्पण र आकाशको उडानसँगै १० वर्षको सफल यात्रा पूरा गरेको हिमालय एयरलाइन्सले आफ्नो दशौं वार्षिकोत्सव औपचारिक समारोहसहित भव्य रूपमा मनाएको जानकारी दिएको हो ।
उक्त विशेष समारोहले विगत दशकमा साझेदारहरू, कर्मचारीहरू र शुभेच्छुकहरूसँगको ऐक्यबद्ध यात्रालाई कृतज्ञता व्यक्त गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथिका रूपमा नेपालका लागि जनवादी गणतन्त्र चीनका महामहिम राजदूत चेन् सोंगको गरिमामय उपस्थिति रहेको थियो। साथै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव मुकेश डंगोल, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक देव चन्द्रलाल कर्ण र चीन जनवादी गणतन्त्रको दूतावासका व्यापार तथा वाणिज्य सल्लाहकार शिए युले विशेष अतिथिको रूपमा कार्यक्रममा सहभागिता जनाएका थिए।
सानो सुरुवातबाट उच्च सफलतासम्मको यात्रामा हिमालय एयरलाइन्सले भरपर्दो सेवा, उत्कृष्टता र ऐक्यताको मूलमन्त्रलाई आत्मसात गर्दै आकाशमा आफ्नो पहिचान बनाएको कम्पनीले जनाएको छ।
हिमालय एयरलाइन्सले विगत दस वर्षमा यात्रुहरूको विश्वास जित्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आकाशमा गौरवका साथ उडान भरिरहेको छ।
“हिजोका यादहरूलाई सम्मान गर्दै, भोलिका आकाशहरूमा अझ धेरै सम्भावनाहरूको खोजी” भन्ने मूल सन्देशका साथ एयरलाइन्सले आगामी दिनहरूमा अझ उत्कृष्ट सेवा दिन प्रतिवद्ध रहेको जनाएको छ।
हिमालयन एयरलाइन्सले काठमाडौंबाट चीन, साउदी अरेबिया, कुवेत, कतार, दुबइ, मलेसिया, र बंगलादेशमा नियमित व्यावसायिक उडान गर्दै आएको छ। भने पोखराबाट ल्हासातर्फ दुईतर्फी उडान गर्ने गरेको छ ।