शुभकालिकामा छुवाछूत र जातीय विभेद अन्त्य गर्न दुईदिने कार्यक्रम सम्पन्न

काठमाडौं । कालीकोट जिल्लाको शुभकालिका गाउँपालिकामा जातीय भेदभाव छुवाछूत उन्मुलन राष्ट्रिय दिवस तथा सामाजिक भेदभाव अन्त्य गर्न लक्षित दुईदिने कानुनी सचेतनामूलक कार्यक्रम बिहीबार सफलतापूर्वक सम्पन्न भएको छ ।
कार्यक्रम शुभकालिका गाउँपालिकाका अध्यक्ष गोविन्द प्रसाद आचार्यको प्रमुख आतिथ्यतामा बसेको बैठक अध्यक्ष आचार्यले जातीय छुवाछूत तथा सामाजिक विभेदको अन्त्यका लागि स्थानीय तहबाट नै दृढ इच्छाशक्ति र निरन्तर प्रयास आवश्यक रहेको उल्लेख गरेका छन् ।
अध्यक्ष आचार्यले गाउँपालिकाले दलित सशक्तीकरण ऐनलाई नीतिगत रुपमा प्राथमिकतामा राखेको बताए । उनले गाउँसभामा छलफल गरी “दलित सशक्तीकरण ऐन २०८२” ल्याउने तयारी भइरहेको समेत जानकारी दिए । “दलित समुदायलाई न्यायमा सहज पहुँच दिलाउन, सम्मानजनक जीवनशैलीको प्रत्याभूति गर्न र प्रवर्द्धन गर्न यस्ता कार्यक्रमहरु निरन्तर सञ्चालन गरिने बताए ।
गाउँपालिकाको आयोजनामा सम्पन्न दुई दिने कार्यक्रमले वडा नं १ देखि ८ सम्मका दलित अगुवा, नागरिक समाजका प्रतिनिधि, मेलमिलापकर्ता, जनप्रतिनिधि, स्थानीय अधिकारकर्मी लगायत सरोकारवालालाई समेटेको थियो । कार्यपालिका सदस्य पबेन्द्र विश्वकर्माका अनुसार, कार्यक्रममा सहभागीहरूमार्फत कानुनी चेतना बिस्तार गर्दै समुदायमै जातीय भेदभावविरुद्धको सशक्त आवाज सृजना गर्ने लक्ष्य लिइएको थियो ।
नेपालको संविधानले जातीय भेदभाव तथा छुवाछूतलाई स्पष्ट रूपमा दण्डनीय कानुनी अपराधको रूपमा परिभाषित गर्दै आएको छ । संविधानको मौलिक हकअन्तर्गत धारा २४ मा छुवाछूत तथा भेदभावविरुद्धको अधिकार सुनिश्चित गरिएको छ भने दलित समुदायको संरक्षण तथा सशक्तीकरणका लागि धारा ४० मा विशेष व्यवस्था गरिएको छ ।
यसका साथै, “जातीय भेदभाव तथा छुवाछूत (कसुर र सजाय) ऐन २०६५” ले कानुनी कार्यान्वयनलाई थप प्रभावकारी बनाएको छ ।
कार्यक्रममा कानुनी पक्षबारे विस्तृत जानकारी नेपाल बार एसोसीयसन कालीकोटका प्रमुख अमलराज शाहीले प्रस्तुत गरेका थिए । उनले जातीय छुवाछूतविरुद्धको कानुनका प्रमुख प्रावधानबारे सहभागीहरुलाई स्पष्ट पार्दै व्यावहारिक रूपमा कसरी पीडितले न्याय खोज्न सक्छ भन्ने विषयमा उदाहरणसहित जानकारी दिए ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केन्द्र बहादुर शाही, मानवअधिकार संस्था ईन्सेकका प्रतिनिधि कालीबहादुर मल्ल, रमेश कुमार शोनी लगायत पत्रकार तथा सामाजिक अभियन्ताहरूको सक्रिय सहभागितामा कार्यक्रम गरिएको हो ।
स्थानीय सरकारको सक्रिय पहलमा आयोजित उक्त कार्यक्रमले समावेशी समाज निर्माणतर्फ नयाँ आशा जगाएको छ । समाजमा गहिरो रुपमा रहेको जातीय विभेदको संरचना भत्काउँदै समानता र न्यायको मूल्यमा आधारित स्थानीय शासन प्रणाली निर्माण गर्ने अभियानमा शुभकालिका गाउँपालिकाको यो प्रयासलाई सराहनीय कदमका रूपमा लिइएको दलित लक्षित कार्यक्रमका सदस्य सचिव विरेन्द शाहिले बताए ।