११ महिनामा साढे ६० अर्बको विदेशी लगानी प्रतिवद्धता, कार्यान्वयन भए १७ हजारले रोजगारी पाउने

काठमाडाै । नेपालमा चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा नेपाललाई साढे ६० अर्ब रुपैयाँ बढीको विदेशी लगानी प्रतिबद्धता प्राप्त भएको छ ।
उद्याेग विभागकाे तथ्यांक अनुसार यस अवधिमा कुल ७१७ वटा उद्योग दर्ता भएका छन् । यस अवधिमा ६ वटा ठूला उद्योग, ९ वटा मझौला उद्योग र ७०२ वटा साना उद्योग दर्ता भएको उद्योग विभागले जनाएको छ ।
यी उद्योगमा ६० अर्ब ६० कराेड ९४ लाख ४३ हजार रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ । यस अवधिमा प्रमाणीकरण (स्वीकृति) प्रणालीबाट ५६ अर्ब ७४ करोड २४ लाख ७६ हजार रुपैयाँ तथा स्वचालित प्रणालीबाट ३ अर्ब ८६ करोड ६९ लाख रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको हाे ।
११ महिनामा प्राप्त प्रतिबद्धता अनुसार लगानी भित्रिएमा थप १७ हजार २५५ जनाले रोजगारी पाउनेछन् ।
जेठसम्म प्राप्त लगानी प्रतिवद्धता मध्ये सुचना प्रविधि क्षेत्रमा ४४ प्रतिशत, पर्यटनमुलकमा ३७, सेवामुलकमा ११, उत्पादनमुलकमा ७ प्रतिशत, उर्जा र कृषिमुलकमा १/१ प्रतिशत लगानी प्राप्त भएकाे छ ।