प्रभु सेलेक्ट फण्डमा लगानी गरे बार्षिक २० प्रतिशत प्रतिफल दिन सक्छौ : सीओओ गिरी « Arthapath.com
४ जेष्ठ २०७८, मंगलवार

प्रभु सेलेक्ट फण्डमा लगानी गरे बार्षिक २० प्रतिशत प्रतिफल दिन सक्छौ : सीओओ गिरी



तपाईहरूले ल्याउन लागेको फण्ड कस्तो खालको फण्ड हो ?

‘प्रभु सेलेक्ट फण्ड’ एउटा सामूहिक लगानी योजना हो । एक एकाइको १० रुपैयाँका दरले १० करोड एकाइको बिक्री गरी १ अर्ब रुपैयाँ बराबरको योजना ल्याउन लागिएको हो । यो योजना अन्तर्गत संकलित रकमको ८० देखि १०० सम्म नै सेयर बजारमा लगानी गर्ने योजना रहेको छ । सेयर बजारमा गिरावट देखियो भने २५–३० प्रतिशत मुद्दति निक्षेपमा पनि राख्न सकिन्छ । सेयर बनारमा लगानी गर्दा ३० वटा कम्पनी छनोट गरेर लगानी गर्ने छौं ।

अहिले सेयर बजार माथि पुगेको बेला लगानी गर्न थालेर भविष्यमा प्रतिफल दिन सकिएला ?

बजार अहिले माथि छ, यस्तो बेला फण्ड जारी गर्दा जोखिम बढी हुन्छ भनेर कतिपयले सुझाव दिइरहनु भएको छ । भविष्यमा बजार घट्यो भने कसरी व्यवस्थापन गर्ने भन्ने प्रश्न पनि उठेका छन् । तर बजार प्रवेश (इन्ट्री) र बहिर्गमन (एक्जिट) गर्ने बेला जोखिम हुन्छ । यस्तो जोखिम त हर समय रहन्छ । चाहे त्यो ११ सय अंकको बेला होस् अथवा अहिले २७ सय भन्दा माथि रहेको बेला होस् ।

तर हाम्रो सोच र आन्तरिकको कारण भनेको सूचीकृत कम्पनीहरू प्रति हाम्रो लेखाजोखा हो । जसले कम्पनी नेप्से ११ सयको टर्म होस् या बढेर ३ हजार पुगोस जुनसुकै अंकमा पुगेको बेलामा हामीले छनोट गरेको कम्पनी बलियो छ की छैन्, त्यसले प्रतिफल दिन सक्छ की सक्दैन, कम्पनी आन्तरिक रुपमा संस्थाको सुशासन बलियो होकी होइन भन्नेजस्ता कुराको मूल्यांकन गर्छौं । आफूले लगानी गर्ने कम्पनीको व्यवसायिक विस्तार (ग्रोथ) राम्रो छ की छैन भन्ने कुराहरू हामीले ध्यान दिएका हुन्छौ ।

त्यसैले पनि २७ सयभन्दा माथि पुगेको बेला पनि कतिपय कम्पनीको सेयर मूल्य तुलनात्मक रुपमा बढ्न सकेको छैन । कतिपय कम्पनीको सेयर अत्यधिक महँगो भएका छन् । यस्तो अवस्थामा कम्पनी छनोट गर्दा भोलिका दिनमा बृद्धि हासिल (ग्रोथ एचिभ) गर्न सक्ने, सूचक बढ्दा बेच्न सकिने र घट्दा खासै घाटा नलाग्ने खालका कम्पनी पनि हाम्रो बजारमा पर्याप्त छन् । हामी राम्रा कम्पनी छनोट गर्छाैं । कुनै कारणले बजार ओरालो लाग्ने स्थिति आइहाल्यो भने पनि तुरुन्तै त्यसलाई ‘रिकोभर’ गर्न सक्ने हिसावले कम्पनी छनोट गरेर लगानी गरिने छ ।

प्रभु क्यापिटलले पहिलो पटक सामूहिक लगानी कोष जारी गर्दै छ । लगानीकर्तालाई कस्तो खालको प्रतिफल दिने प्रक्षेपण गरेको छ ?

प्रभु म्युचुअल फण्ड हाम्रो पहिलो म्युचुअल फण्ड हो । यसमा हामीले बार्षिक २० प्रतिशतको औषत प्रतिफल दिन सक्छौ भन्ने हामीले प्रक्षेपण गरेका छौँ । समग्रमा ७ बर्षको अवधिमा लगभग ३ गुणासम्म प्रतिफल दिनसक्ने हामीले प्रक्षेपण गरेका छौँ ।

म्युचुअल फण्डहरुले आईपीओमा आरक्षण सेयर बिक्री गरिदिँदा सेयरको दोस्रो बजार प्रभावित भयो भन्ने आरोप लागेको छ नि ?

यसलाई बजार प्रभाव पार्यो भन्न मिल्दैन । उदाहरणका लागि हामीले अहिले ३० वटा कम्पनी लिएर जान्छौँ भनेका छौँ । भोलि ५ प्रतिशत आरक्षण बापतको सेयर हामीले पनि पाउँछौं । त्यसरी पाउने सेयरहरू लामो समय राख्नेखालका छन् की छैनन्, त्यो कम्पनी आर्थिक र प्राविधिक रुपमा कत्तिको बलियो छ ? व्यवसायिक रुपमा र संस्थागत सुशानका आधारमा बलियो छ की छैन । हाम्रो कार्ययोजनामा मिल्छन् की मिल्दैनन् , भन्नेजस्ता कुरा हेर्छौं ।

भोलि राम्रो रिटर्न दिनसक्ने भए भने त्यसलाई लामो समयका लागि राख्न सक्छौं । कतिपय अवस्थामा कम्पनिहरूको प्रतिफल राम्रो नदेखिने र दीर्घकालिन लाभ तुलनात्म रुपमा कम हुने कम्पनीको सेयर भने कुनै न कुनै चरणमा गएर घटाउनुपर्ने हुन्छ । एउटा मूल्य पाइसकेपछि यस्तो सेयर बेच्नुपर्छ । त्यसो गर्दा कहिलेकाहीँ बजामा आपूर्ति बढ्छ । यस हिसावले बजारलाई प्रभावित पारेकोजस्तो देखिनसक्छ । तर आज बजार यति ठूलो भैसकेको छ, म्युचुअल फण्डले धेरै फरक पार्ला भन्ने मलाई लाग्दैन ।

म्युचुअल फण्डलाई आईपीओमा आरक्षण किन दिने ?

शुरुवाति अवस्थामा यो व्यवस्था गरिएको थियो । जुन बेला नेपाली बजारमा संस्थागत लगानीकर्ताहरू थिएनन् । संस्थागत लगानीकर्ता भित्र्याउँदा न्यूनतम व्यवसायिक प्रत्याभूतिका रुपमा यस्तो सुविधा दिइएको थियो । अर्को कुरा, हाम्रो बजार एकहोरो प्रवृतिको छ । तीन बर्ष लगातार नाफा कमाउनुपर्छ । निश्चित प्रतिशत रकमभन्दा बढी निक्षेपमा पनि राख्न सक्दैनौं । त्यो भएर सेयर किन्नै पर्ने अवस्था भएकाले म्युचुअल फण्ड सञ्चालन गर्दा जोखिम रहन्छ ।

यस्तो सञ्चालन जोखिम कम होस् र नाफा दिन सकियोस् भनेर आरक्षण राखिएको हो जस्तो लाग्छ । अहिले आउँदा नयाँ बुक विल्डीङको विधी विकास गरेका छौँ आइपीओका लागी त्यसमा पीआइपी अन्तर्ग जानुपर्ने भएकाले आरक्षण छैन । त्यो व्यवस्था परिवर्तन भएर गइरहेको छ ।

म्युचुअल फण्डमा लगानी गर्नुभन्दा सिधै सेयर बजारमा लगानी गरे भएन र ?

नहुने भन्ने त होइन । तर तपाइसँग लगानी गर्न सक्ने समय, ज्ञान, लगानी गर्दा जोखिम लिनसक्ने क्षमताजस्ता कुराले लगानीकर्तालाई प्रभावित बनाइरहेको हुन्छ । सामान्य लगानीकर्तासँग समय छैन, प्रयाप्त ज्ञान पनि छैन, जोखिम लिनसक्ने क्षमता कमजोर छ भने त्यस्ता लगानीकताले सिधै सेयरको दोस्रो बजारमा लगानी नगरिकन म्युचुअल फण्डमार्फत लगानी गर्नु फाइदा हुन्छ ।

किनकी लगानी गर्ने दक्षता, ज्ञान अनुभवमा सामान्य लगानीकर्ताभन्दा म्युचुअल फण्ड केहि न केहि दक्ष हुन्छन् । त्यही विषय पढेका, त्यहि क्षेत्रमा काम गरेका, लामो अनुभव भएका र प्रोफेशनल ब्यक्तिहरूको एउटा टीम मिलेर काम गरिरहेको हुन्छ । त्यसले आम लगानीकर्ताको लगानी व्यवस्थित र सुरक्षित हुन्छ । आफंै जोखिम लिन सक्छु भन्नेले सिधै सेयर बजारमा लगानी गर्दा भयो ।

मर्चेन्ट बैंकहरूको व्यवसाय घट्दै गएको हो ?

केहि बर्ष अगाडीको तुलनामा मर्चेण्ट बैंकको संख्या बढ्दै गएको छ । अहिले ३०–३२ वटा मर्चेण्ट बैंक भइसके । केही संस्था मर्ज भएर पनि अघि बढेका छन् । तर, बजारको आकार खासै बढ्न सकेको छैन । प्रतिस्पर्धी व्यवसायी बढे पनि त्यो रुपमा व्यवसाय बढ्न नसक्दा दायरा संकुचित हुँदै गएको होकी भन्ने हामीले देखिरहेका छौं । त्यसको लागी नेपाल धितोपत्र बोर्डले पनि अवश्य मूल्यांकन गरिरहेको होला ।

त्यसैले व्यवसायका नयाँ–नयाँ क्षेत्र पनि खुला गरिरहेको छ । संस्थागत परामर्शदाताको रुपमा काम गर्ने गरी विशिष्टिकृत लगानी कोष सञ्चालकको ब्यवस्था भएको छ । यस्तो कामका लागि लाइसेन्स खुला गरिएको छ । हामी पनि त्यो प्रक्रियामा बघि बढिरहेका छौं । यसले गर्दा इन्भेष्टमेण्ट बैंकिङतिर ड्राइभ गर्छ की भनेर देखिरहेका छौं । हाम्रो डिपी होल्डरहरू पनि बढिरहेका छन् ।

एकातिर संकुचित हुँदै गएपनि अर्काेतिर बजार विस्तार हुँदै गएको जस्तो लाग्छ । त्यो बाहेक स्टक डिलर, ओटीसी मार्केट सञ्चालन गर्न र बजारको अन्य सहभागीको रुपमा काम गर्न दिने गरी नेपाल धितोपत्र बोर्डले यसको दायरा बढाउन सक्छ । अहिले आरटीएस, इस्यू, अण्डराइटिङजस्ता सेवामा चाहीँ हामी संकुचित हुँदै गएको हो ।

धितोपत्र बोर्डसँग थप काम गर्न अनुमति मागेको थियो, त्यो प्रक्रिया कहाँ पुग्यो ?

त्यो प्रक्रियामा नै छौं । विशिष्टिकृत लगानी कोष ब्यपस्थापकको रुपमा काम गर्ने गरी हामी अन्तिम चरणमा छौं । केही समयभित्रै पुर्वाधार विकास गर्नका लागि स्वीकृति पाइसक्छौ भन्ने विश्वास छ । त्यसैगरी संस्थागत परामर्शदाताको रुपमा काम गर्ने लाइसेन्सका लागि आवेदन गरिसकेका छौं । यसको लागी पनि धितोपत्र बोर्डले चाँडै नै आबश्यक कारवाही गरेर इजाजत दिने छ । कोरोनाले गर्दा ढिलाइ भएको होकी जस्तो छ ।

अहिले बैंकको ब्याज घटेको छ, सेयर बेचेको पैसा बैंकमा छ, यसले आम्दानी घट्ने भएन ?

बैंकले जसरी ब्याज घटाइरहेका छन्, त्यसरी नै सेयर बजार बढीरहेको छ । म्युचुअल फण्ड बेचेको पैसा बैंकमा राख्दा मुद्दति निक्षेपमा नै राखेको अवस्था हो । मुद्दति खातामा पनि ७ प्रतिशत ब्याजदरको हिसावले राखेको छ । कल र चालू खातामा कसैले पनि राखेको छैन । डिभिडेण्ट जति दिन सक्ने अवस्था छ त्यति नै उनीहरूले राखेको छ भने बाँकि बजारमा सेयर खरिदबिक्रीमा नै परिचालन गरिरहेका छन् ।

म्युचुअल फण्डले ठूला आयोजनामा लगानी गर्न किन नपाउने ?

म्युचुअल फण्डका निश्चित दायरा (सीमा)हरू छन् । त्यो दायरा भनेको कम्पनी खरिद बिक्री त्यो पनि नेपाल स्टकमा लिस्टेड भएका कम्पनीहरू । त्योभन्दा बाहेकका कम्पनीमा लगानी गर्न म्युचुअल फण्डलाई अनुमति दिएको छैन । यो विस्तारै खुला हुँदै जानुपर्छ । त्यो भयो भने म्युचुअल फण्डले दीर्घकालिन प्रतिफल हेरेर काम गर्न सक्छन् । हाम्रो बजारमा म्युचुअल फण्डलाई सेयर ‘किन र बेच’ भनेरमात्रै लगाइएको छ ।

बैंकले ब्रोकर लाइसेन्स लिन नपाउने भए, अब क्यापिटलले लिन सक्छन् कि ?

त्यसमा पनि प्रयास नगरेको होइन । प्रभु क्यापिटलको हकमा अनौपचारिक कुराहरू अगाडी बढाइसकेको हो । तर तत्कालिन अवस्थामा मर्चेन्ट बैंकर्स र धितोपत्र दलाल फरक फरक हुनुपर्छ भन्ने कानुनी व्यवस्था छ । त्यो भएर हामीलाई अगाडी बढ्नालाई प्राविधिक कठिनाइ भएको हो । नेपाल धितोपत्र बोर्डले आउँदा दिन नीतिगत व्यवस्था गर्छ र हामीलाई धितोपत्र व्यवसाय अथवा स्टक डिलरको रुपमा पनि काम गर्नुहोस् भन्ने अवस्था आयो भने मर्चेन्ट बैंकर तयार छन् ।

निषेधाज्ञाको समयमा फण्ड जारी गर्दै हुनुहुन्छ, ४ दिनमा बिक्री हुन्छ की भनेर कस्तो रेस्पोन्स पाउनुभएको छ ?

बजारको रेस्पोन्स राम्रो छ । त्यसमा पनि प्रभु क्यापिटलले ल्याउन लागेको फण्ड हो भनेर पनि लगानीकर्ताहरू उत्साहित हुनुहुन्छ । उहाँहरूले गाह्रो अवस्थामा ल्याए पनि हामीले सक्दो सहयोग गर्छाैं भनेर प्रतिक्रिया दिइरहनु भएको छ । ४ दिनभित्र भन्दा पनि अगाडी नै सब्स्क्राइब हुने छ भन्ने मलाइ लाग्छ । किनभने उहाँहरूले प्रभु क्यापिटलमाथि गर्नुभएको विश्वास हो । प्रभु क्यापिटलले विगतमा जुन किसिमको व्यवसाय गरेको छ, त्यसका आधारमा लगानीकर्ताले सहयोग गछर्न ।

नेपालमा सामूहिक लगानी कोषहरुको भविष्य कस्तो देख्नुहुन्छ ?

एकदमै उज्वल र राम्रो छ । अबको ५–१० बर्षमा हामीले पूँजी बजारमा आजसम्म नदेखेका कुराहरू देख्दै जाने छौं । अन्य देशको बजारमा केकस्तो छ भनेर हेरिरहेका छौं । हामी केही बर्ष अगाडी कागजी व्यवस्थामा थियौं । विस्तारै परिवर्तन भएर डिम्याटमा आयौं । डिम्याटलाई पनि अगाडी बढाउनुपर्छ भनेर अनलाइन कारोबार प्रणाली ल्याइएको छ । यो ३ बर्षमा एउटा स्थायित्व पाउने भयो । अनलाइनमा अभ्यस्त भैसकेपछि अनलाइनमा नै आधारित रहेर कारोबार गरिरहेका छन् ।

म्युचुअल फण्डले किनेर बेच्नुपर्छ भन्ने होइन, बेचेर पनि किन्न पाइयो । कारोबारको प्रकृति परिवर्तन भैरहेको छ । कारोबारको औजारहरू पनि थपिरहेका छन् । सरकारी ऋणपत्र आउने कुराहरू भइरहेको छ । विस्तारै मुद्रा बजारको केही हिस्सा म्युचुअल फण्डलाई दिने हो भने त्यहाँ पनि सहभागिता जनाउन सकिन्छ । डेरिभेटिभ बजारका कुराहरू आइरहेका छन् । अर्काेतफ कमोटेटि बजार सञ्चालनमा आउने तयारीमा छन् ।

धितोपत्र बोर्डले यसको लाइसेन्सको व्यवस्था अगाडी बढाइसकेको छ । त्यसले नेपाली पूँजी बजार दिनानुदिन समृद्ध भएर अगाडी बढेको देखाउँछ । सहभागिहरूको संख्या हेर्ने हो भने डिम्याट खोल्नेको संख्या दोब्बरले बढेको छ । अनलाइन कारोबार गर्नेको संख्या विस्तारै थपिँदै गएको छ । उत्पादनमुलक (रियल) क्षेत्रका कम्पनीहरू पनि बुक विल्डीङ विधिमार्फत् सेयर बजारमा आउनेक्रम विस्तारै शुरु भएको छ । केही कम्पनीले प्रक्रिया अगाडी बढाएका छन् । त्यसलाई सिको गरेर अरु कम्पनीहरू विस्तारै आउनेछन् ।

प्रभु क्यापिटलको यसबाहेक कुनै भावी योजना छ ?

यो हाम्रो शुरुवातमात्रै हो । यो फण्डलाई सफल बनाउनासाथ अरू फण्डमा पनि अगाडी बढ्ने छौं । विशिष्टिकृत कोषको ब्यवस्थापकको रुपमा काम गर्ने गरी अगाडी बढिरहेका छौं । संस्थागत परामर्शदाताको रुपमा काम गर्नेगरी काम भइरहेको छ । इन्भेष्टमेन्ट बैंकिङको साइटमा थप गतिशिल कसरी हुन सकिन्छ भनेर अगाडी बढिरहेका छौं । ग्राहकका लागी विशेष प्याकेज ल्याएका छौं । प्रभु क्यापिटल नेपालमा भएका मर्चेण्ट बैंकिङमध्ये सबैभन्दा अगाडी छ । साथै व्यावसायीक रुपमा आक्रामक भएर हामी अगाडी बढेका छौं ।

Tags :

प्रतिक्रिया दिनुहोस्