बैंक वित्तीय संस्थालाई सेयर बजारमा अल्पकालिन लगानी गर्न प्रतिबन्ध, लघुवित्तको सेयरमा लगानी गर्न राेक « Arthapath.com
११ जेष्ठ २०७८, मंगलवार

बैंक वित्तीय संस्थालाई सेयर बजारमा अल्पकालिन लगानी गर्न प्रतिबन्ध, लघुवित्तको सेयरमा लगानी गर्न राेक



काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई अल्पकालिन कारोबारबाट नाफा कमाउनेगरी सेयर बजारमा लगानी गर्न प्रतिबन्ध लगाएको छ । मंगलवार एकीकृत परिपत्रको संशोधन गर्दै राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो । यो व्यवस्थाले धेरै फाइनान्स कम्पनी र विकास बैंकमात्र होइन, ठूला बैंकहरु पनि समस्यामा पर्ने छन् ।

सँगसँगै यसको असर सेयरको दोस्रो बजारमा पर्नसक्ने भएको छ । लामो समयदेखि बैंकहरुले सेयर बजारमा अल्पकालिन लगानी गरेर उच्च दरमा माग सिर्जना गर्दै आएका थिए । यसले सेयर बजारको उकालो यात्रा अनवरत चलिरहेको थियो ।

राष्ट्र बैंकले १ वर्षभन्दा बढी अवधिका लागिमात्रै संगठित संस्थाको डिबेञ्चर र सेयरमा लगानी गर्न पाइने व्यवस्था गरेको छ । यो वर्षको बुलरनमा सेयर बजार आफ्नो उच्चतम विन्दुसम्म पुगिसकेपछि आएको यो प्रबन्धले बैंकहरुलाई धेरै ठूलो घाटा त पुग्ने छैन, तर सेयर बजारलाई अब विपरित बाटोमा धकेल्ने जोखिम बढेको छ ।

राष्ट्र बैंकले हिजोसम्म किनेको सेयर असार मसान्तसम्म बेच्न दिने व्यवस्था गरेको छ । यसले धेरै बैंकहरु अब चाँडो सेयर बेचर नाफा सुरक्षित गर्नथाल्ने बैंकर बताउँछन् । असार मसान्तसम्म सेयर नबेचेमा बाँकी सेयर किनेको मितिले १ वर्ष पुगेपछिमात्रै बेच्न पाइने भएको छ । त्यसमा पनि एक आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाको प्राथमिक पूँजीको १ प्रतिशतमात्रै सेयर बेच्न पाइने व्यवस्था भएको छ ।

यसअघि बैंक तथा वित्तीय संस्थाले व्यापारिक प्रयोजनका लागि सेयर बजारमा आफ्नो प्राथमिक पूँजीको १ प्रतिशतसम्म लगानी गर्न पाउने व्यवस्था थियो । यसो गर्दा ठूलो रकम सेयर बजारमा प्रवाहित भएको थियो । अहिले बाणिज्य बैंकसँगमात्रै साढे ५ खर्ब रुपैयाँ पूँजी छ । त्यसको १ प्रतिशत अर्थात् साढे ५ अर्ब रुपैयाँ बाणिज्य बैंकलेमात्रै सेयरको व्यापारमा लगानी गर्न पाउने व्यवस्था हटाइँदा सेयर बजारलाई ठूलै असर पर्नसक्ने देखिन्छ ।

यससँगै अर्को महत्वपूर्ण कुरा चाहीँ बैंकहरुलाई विपन्न वर्गमा लगानी गर्ने प्रयोजनबाहेक लघुवित्त कम्पनीको सेयरमा पनि लगानी गर्न नपाइने व्यवस्था भएको छ । अहिलेसम्म बैंकहरुले लघुवित्तमा गरेको लगानी आउँदो पुससम्म बेचिसक्न पनि राष्ट्र बैंकले निर्देशन दिएको छ । यसले लघुवित्त कम्पनीको सेयरमूल्यलाई प्रभावित पार्ने छ भने लघुवित्तको माध्यमबाट नाफा कमाउने बैंकहरुको घुमाउरो बाटो पनि नियन्त्रण हुने छ ।

Tags :

प्रतिक्रिया दिनुहोस्