अब १० पैसाको मूल्यान्तरमा शेयर किनबेच गर्न पाइने, प्रि-ओपनिङको मार्जिन पनि घटाइँदै « Arthapath.com
९ असार २०७८, बुधबार

अब १० पैसाको मूल्यान्तरमा शेयर किनबेच गर्न पाइने, प्रि-ओपनिङको मार्जिन पनि घटाइँदै



काठमाडौं । अब केही दिनपछि जम्मा १० पैसाको मूल्यान्तरमा शेयरको कारोबार गर्न पाइने भएको छ । अहिले कम्तिमा १ रुपैयाँको तल-माथि नगरी मूल्य राख्न पाइन्न । अर्थात् कुनै कम्पनीको शेयर ३२७ रुपैयाँ छ भने त्यसलाई थपघट गरेर अर्डर राख्ने लगानीकर्ताले या त ३२६ वा ३२८ रुपैयाँमा मात्रै कारोबार गनए पाइन्छ ।

तर अब ३२७ रुपैयाँ १० पैसा वा ३२६ रुपैयाँ ९० पैसामा पनि शेयरको खरीद-विक्री आदेश राख्न पाइने व्यवस्थ ागर्न लागिएको हो । विदेशी बजारमा यस्तो व्यवस्था निकै चल्तिमा भए पनि नेपालमा भने रुपैयाँभन्दा कमको मूल्यान्तरमा कारोबार गर्न पाइँदैन । केही लगानीकर्ताले यस्तो मूल्यान्तर घटाउन माग गर्दै आएका थिए ।

नेपाल धितोपत्र बोर्डले यसबारे छिट्टै नेपाल स्टक एक्सचेञ्ज (नेप्से)लाई निर्देशन दिने तयारी गरेको छ । बोर्ड अध्यक्ष भीष्मराज ढुंगानाले बजार सूचकलाई धेरै उतारचढावबाट बचाउन यस्तो निणर्य गर्न लागिएको बताए । उनले बजारलाई स्थायित्व दिन अरु पनि कदम चालिने जानकारी दिए ।

बोर्डले नेप्सेको ‘प्रि-ओपनिङ’ (प्रातःकालिन) कारोबारको मार्जिन पनि घटाउन लागिएको जनाकारी दिए । ‘अहिले अघिल्लो दिनको अन्तिम कारोबार मूल्यमा ५ प्रतिशत मूल्य थपघट गरेर कारोबार गर्न पाइने व्यवस्था छ,’ उनले भने, ‘अब त्यस्तो सीमालाई २ प्रतिशतमा झारिने छ ।’

यस्ता सुधारात्मक व्यवस्थाको कार्यान्वयनपछि बजारको उतारचढाव कम हुने र कारोबार बढ्ने अपेक्षा बोर्डले राखेको छ । ‘यो व्यवस्था कार्यान्वयन भएपछि लगानीकर्ताले दोस्रो बजारमा बढीभन्दा बढी कारोबार गर्न पाउँछन्,’ अध्यक्ष ढुंगानाले भने ।

यसले लगानीकर्ताको लागत पनि कम हुने उनले बताए । एउटै सेयरको भाउ १ रुपैयाँ थपघट गर्नुको साटो १० पैसामात्रै थपघट गरेर कारोबार गर्न थालेपछि ब्रोकर कमिशन र कारोबारको राजश्व कम हुने उनले बताए ।

यसले कम्पनीहरुको मूल्यलाई स्थायित्व दिन पनि मद्दत गर्ने छ । ‘बजारलाई धेरै उतारचढाव हुन नदिने र लगानीकर्ताको कारोबार लागत घटाउने उद्देश्यले यी निणर्य गर्न लागिएको हो,’ ढुंगानाले भने ।


प्रतिक्रिया दिनुहोस्